भर्खरै :

चुनावमा झूटा आश्वासन दिनु पञ्चायती शैली

भक्तपुर, ७ मंसिर । नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिले आसन्न उपनिर्वाचनको प्रचारप्रसारस्वरूप शनिबार वागीश्वरीको हेल्थपोष्टमा शनिबार चुनावी सभा सम्पन्न गरेको छ ।
सभामा नेमकिपाका सचिव एवम् सांसद प्रेम सुवालले चुनावमा आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवारहरूको उम्मेदवारी रद्द गर्नुपर्छ भन्नुभयो ।
प्रदेश उम्मेदवारहरूले मन्त्री बन्ने, केन्द्रबाट करोडौँ रकमको विकास बजेट ल्याइदिने जस्ता चुनावमा अभिव्यक्ति दिनु पञ्चायती शैली भएको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “विकास भनेको भाषण गरेर होइन काम गरेर देखाउनुपर्छ ।”
सांसद सुवालले माओवादी भारतीय घोडा प्रमाणित भइसकेको हुँदा भारतीय हस्तक्षेपबारे सरकारले केही बोल्छ भन्ने आशा गर्नु व्यर्थ हुनेछ भन्नुभयो ।
नेपाललाई स्विटजरल्यान्ड र स्विडेन बनाउने अभिव्यक्ति दिने शासक दलका नेताहरूले नेपाललाई सिक्किम बनाउन उद्यत छ भन्दै उहाँले प्रजातन्त्रको सौन्दर्य भनेकै बलियो प्रतिपक्ष भएको बताउनुभयो ।
नेमकिपाले देशको सार्वभौमिकता र स्वाधीनता रक्षार्थ आवाज उठाउँदै आएको हुनाले देश र जनताको हितमा इमान र निःस्वार्थी राजनीति गर्दै आइरहेको नेमकिपाका उम्मेदवारलाई मत दिन आग्रह गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य अनुराधा थापामगरले ७० लाख युवालाई विदेशिन वाध्य पार्ने, लाखौँ नेपाली चेलीहरूलाई बेचिन वाध्य तुल्याउने सरकारमा जाने पार्टीहरूको जनविरोधी कुकृत्यलाई बुझेर जनताले तिनलाई सजाँ गर्ने बेला आएको जिकिर गर्नुभयो ।
जनताका छोराछोरीहरूलाई सस्तोमा गुणस्तरीय शिक्षा दिने उद्देश्य बोकेको ख्वप विश्वविद्यालयको स्वीकृति नदिने शासक दल शिक्षाविरोधी हुन् र शिक्षाविरोधीहरू आफै विकासविरोधी हुन्, उहाँले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् प्रदेश सांसद सुरेन्द्रराज गोसाइले चुनाव वैचारिक एवम् वर्गीय लडाइँ भएको चर्चा गर्दै शासक दलले कामदार वर्गको प्रतिनिधित्व गर्न सक्तैनन् भन्नुभयो ।
३० वर्षसम्म शासन गरिसकेको शासक दलले जनतालाई छलछामसिवाय अरू केही नगरेको गुनासो व्यक्त गर्दै उहाँले देशभक्त नेपालीहरू मिलेर पञ्चायतलाई फालेजस्तै अहिलेका नव सम्भ्रान्त वर्गको शासन सत्ता फाल्नुपर्ने बेला आएको बताउनुभयो ।
भारतीय दलाल पार्टीका उम्मेदवारहरूलाई सजाय दिन नेमकिपाको मादल चिन्हमा मतदान गरी नेमकिपाका उम्मेदवारलाई जिताउन प्रदेशसभा गोसाईँले आग्रह गर्नुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य सृजना सैजूले दुरदर्शिताविनाको सङ्घीयता बाँदरको हातमा नरिवल भएको चर्चा गर्दै प्रदेशको नामकरण र प्रदेशको स्थायी राजधानीसमेत निश्चित गर्न नसक्ने नेकपाको बहुमतको सरकार कम्युनिस्टको मुकुण्डो लगाएका मण्डलेहरू भएको बताउनुभयो ।
जनता झुक्याउने शासक दलका उम्मेदवारलाई परास्ट गर्न नेमकिपालाई जिताउनु आवश्यक छ, उहाँले भन्नुभयो ।
नेपालको भूमि अतिक्रमण गर्दा चुइँक नबोली मन्त्रिमण्डल हेरफेर गरी सरकारले गाईजात्रा देखाएको उल्लेख गर्दै केन्द्रीय सदस्य सैंजूले राजनीतिक भागबन्डा र पद्लोलुपता अन्त्यको लागि नेमकिपालाई जिताउनुपर्ने धारणा राख्नुभयो ।
नेमकिपाका उम्मेदवार नीरज लवजूले विकास र समृद्धिको कुरा गर्ने नेकपाको सरकारले नेपालीहरूलाई परनिर्भरतातर्फ ढकेल्दै लगेको आरोप लगाउनुभयो ।
उद्योग बन्द गरी जग्गा बेचबिखन गर्नेहरूबाट समृद्धि सम्भव नभएको जिकिर गर्दै उहाँले सिंहदरबारको अधिकार होइन गाउँ–गाउँमा भ्रष्टाचार पुगेको अभिव्यक्ति दिनुभयो ।
नगरकोट सडक खण्डलाई ६–७ वर्षदेखि अलपत्र अवस्थामा राख्ने सैलुङ् कन्स्ट्रक्सनका शारदा अधिकारीलाई सरकारले मेलम्चीको ठेक्का दिई पुरस्कार दिएको हुनाले यो सरकार भ्रस्ट र अपराधीहरूको सरकार भएको स्पष्ट छ, उहाँले भन्नुभयो ।
आफू जितेर गइ देशकै गौरवको कुरो राख्ने र जनताको सच्चा सिपाही सरह काम गर्ने प्रतिबद्धता जनाउँदै चुनावमा सहयोग गर्न उहाँले अपिल गर्नुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समिति अध्यक्ष न्हुछेभक्त फोजूको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेक्रायुसङ्घ भजिस अध्यक्ष मिनबहादुर बाटा, वागीश्वरी चुनाव प्रचार समिति संयोजक अर्जुन काफ्लेलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *