भक्तपुर, ८ मंसिर । भक्तपुर क्यान्सर अस्पतालमा भ्रष्टाचार गरेर बदनाम भएका पुरानो व्यवस्थापन समितिका पदाधिकारीहरू आइतबार अस्पतालका कर्मचारी र जनताद्वारा लखेटिएका छन् ।
पुरानो व्यवस्थापन समितिका पदाधिकारी र केही सदस्यहरू गुण्डाहरूको साथ लिएर जबरजस्ती प्रवेश गरी अस्पतालमा नयाँ प्रशासकहरू नियुक्ति गर्न खोजेपछि तिनीहरू जनताद्वारा लखेटिएका हुन् ।
भ्रष्ट व्यवस्थापन समिति मुर्दावाद, भ्रष्टाचारीहरूमाथि कारबाही गर, क्यान्सर अस्पताल म्हास्न पाइँदैन आदि नारा लगाउँदै भक्तपुरका सचेत र भ्रष्टाचारविरोधी जनताले तिनीहरूलाई अस्पतालबाट लखेटेका हुन् ।
पुरानो व्यवस्थापन समितिले कार्यकारी अधिकृतको रूपमा रुपेश शिल्पकार, मेडिकल डाइरेक्टरको रूपमा डा. दिपेश ढकाल र डेपुटी डाइरेक्टरको रूपमा डा. अजयकुमार झा र डा. उत्सवमान श्रेष्ठलाई पदस्थापन गर्न खोजेपछि विवाद भएको हो ।
अस्पताल व्यवस्थापन समितिको नेतृत्वमा रहेको संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ, महासचिव विमलकुमार होडा र कोषाध्यक्ष कृष्णप्रसाद ताम्राकारलगायतले अस्पतालमा उपकरण खरिद र सञ्चालन, फार्मेसी सञ्चालन र सफाइ कर्मचारी नियुक्तिमा अनियमितता गरिरहेका थिए ।
अनियमितता गरेको आरोप लागेपछि र पुरानो व्यवस्थापन समितिका पदाधिकारहिरू सम्पर्कमै नआएपछि भक्तपुर नगरपालिकाले नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षमा नयाँ व्यवस्थापन समिति गठन गरेको थियो ।

पुरानो व्यवस्थापन समितिद्वारा नियुक्त चिकित्सकहरूको राजीनामा
यसैबीच पुरानो व्यवस्थापन समितिद्वारा जालझेल गरेर अस्पतालको मेडिकल डाइरेक्टरलगायत विभिन्न पदमा नियुक्त चिकित्सकहरूले राजीनामा गरेका छन् । जारी संंयुक्त वक्तव्यमा ‘भक्तपुर क्यान्सर अस्पतालमा असहज परिस्थिति सिर्जना भएको अवस्थामा हाम्रो नियुक्तिले थप जटिलता सिर्जना भएको र अस्पतालको सुचारू सञ्चालनमा समस्या आउनसक्ने सम्भावनाप्रति संवेदनशील भएर अस्पतालका सम्पूर्ण चिकित्सक, नर्सलगायतका कर्मचारीहरूको सकारात्मक भावनाप्रति ऐक्यबद्धता प्रकट गर्दै हालका लागि हाम्रो नियुक्ति अस्वीकार गरेको व्यहोरा अवगत गराउँदछौँ ।’ वक्तव्यमा डा. दिपेश धिताल, डा. अजयकुमार झा र डा. उत्सवमान श्रेष्ठको हस्ताक्षर छ ।