भर्खरै :

“शिक्षा व्यावहारिक र उत्पादन श्रमसँग जोडिएको हुनुपर्छ”

भक्तपुर, ९ मंसिर । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भनपा वडा नं. १ एकाइ समितिको आयोजनामा एसईईदेखि पीएचडी उत्तीर्ण विद्यार्थीहरूलाई बधाइ एवम् प्रशंसापत्र वितरण कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षा समाजलाई सभ्य र सुसंस्कृत बनाउने उद्देश्य लिई दिइने भएकोले प्रशंसा पत्र पाउन सफल विद्यार्थीहरूलाई असल, इमानदार र देशभक्त नागरिक बनी देश र जनताको सेवा गर्न आग्रह गर्नुभयो ।
विदेशी कलेज र विश्वविद्यालयहरूले नेपाललाई भन्दा विदेशलाई सुहाउँदो शिक्षा दिइने भएकाले विद्यार्थीहरू यसतर्फ सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “किसानको बाहुल्य भएको देशमा अरबौँको खाद्यान्न आयात हुनुमा शासक दल नै जिम्मेवार छन् । खाद्यान्न आयातलाई न्यूनीकरण गर्न कम जग्गामा बढी उत्पादन हुने बीउबिजनको विकास गर्नुका साथै जमिन जोत्नेको सिद्धान्त लागू गर्नु आवश्यक छ ।”
शिक्षा व्यावहारिक र उत्पादन श्रमसँग जोडिएको हुनुपर्ने आवश्यकता औँल्याउँदै प्रमुख प्रजापतिले श्रमलाई सम्मान गर्ने नागरिक अहिलेको आवश्यकता हो भन्नुभयो ।
नसर्ने रोग बढिरहेको हुँदा नागरिकलाई स्वस्थ राख्न भनपाले व्यायामशाला स्थापनामा जोड दिइरहेको छ, उहाँले भन्नुभयो ।
सल्लाघारीको १०८ रोपनी जग्गा संरक्षण गर्न नपाले पर्खाल लगाएकोलाई नेकपाका केही समूहले भ्रम सिर्जना गरिरहेकोमा प्रमुख प्रजापतिले आपत्ति जनाउँदै जनतालाई भ्रम सिर्जना नगर्न आग्रह गर्नुभयो ।
नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले भारतसँग जोडिएको सबै सीमा क्षेत्रमा भारतले सीमा अतिक्रमण गरिरहेको हुँदा विद्यार्थीहरू सचेत हुनु आवश्यक भएको बताउनुभयो ।
भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई आफ्नो नक्सामा गाभेको विरोधमा नेक्राविसङ्घले सशक्त ढङ्गले विरोध गरिरहेको छ, उहाँले भन्नुभयो ।
भारतबाट आयात हुने तरकारी र फलफूलमा अत्यधिक विषादी रहेको जानकारी गराउँदै केन्द्रीय अध्यक्ष ख्याजूले खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकारले पहलकदमी चाल्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेमकिपा वडा नं. १ का इन्चार्ज लक्ष्मीनारायण राजलवटले विद्यार्थीहरूले व्यवहारिक ज्ञान हासिल गर्न जोड दिनुपर्ने आवश्यकता औँल्याउँदै नेपालमा भइरहेको वैदेशिक हस्तक्षेप र अतिक्रमणबारे विद्यार्थीहरू सचेत भई सङ्घर्षशील हुनुपर्छ भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष प्रज्ज्वल खत्रीको सभापतित्वमा भएको उक्त कार्यक्रममा भनपा वडा नं. १ का वडा अध्यक्ष श्यामकृष्ण खत्री, नेक्राविसङ्घ भक्तपुर नगर समितिका अध्यक्ष प्रवीण प्रजापति र आयोजक समितिका सुलोचना सुवाल, रकी गरुलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा प्रमुख प्रजापतिले पीएचडी उत्तीर्ण ४, स्नातकोत्तर उत्तीर्ण ११, स्नातक उत्तीर्ण ५४ र दसजोड दुई उत्तीर्ण १०० जना विद्यार्थीहरूलाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *