भर्खरै :

क्यान्सर अस्पतालका कर्मचारीहरूद्वारा गुण्डागर्दी शैलीको विरोध

भक्तपुर, ९ मंसिर । भक्तपुर क्यान्सर अस्पतालमा भ्रष्टाचार गरेर बदनाम भएका पुरानो व्यवस्थापन समितिका पदाधिकारीहरूले आइतबार अस्पतालका कर्मचारी र बिरामीहरूलाई आतङ्कित पार्ने क्रियाकलापको विरोध गर्दै विज्ञप्ति जारी गरेका छन् ।
अस्पतालका कर्मचारीहरूको तर्फबाट कर्मचारी कल्याणकारी समितिद्वारा जारी विज्ञप्तिमा अगाडि भनिएको छ, मिति २०७६ साल मंसिर ८ गते भक्तपुर क्यान्सर अस्पतालमा पुरानो व्यवस्थापन समितिका भ्रष्ट पदाधिकारीहरूले अस्पताल प्रशासन र कर्मचारीहरूलाई कुनै सूचना नदिई, अस्पतालमा आएका बिरामीहरूलाई आतङ्कित र सेवा अवरुद्ध गर्ने गरी नयाँ व्यवस्थापन समिति (भक्तपुर नगरपालिका) र पुरानो व्यवस्थापन समितिबीच कुनै सहमति नगरी गुण्डाहरू प्रयोग गरी नाटकीय शैलीमा विद्यमान समस्यालाई झन् जटिल बनाई अस्पताल बन्द गराउने कुनियतले अस्पतालमा कामु सीईओ, कामु मेडिकल डाइरेक्टर र कामु डेपुटी डाइरेक्टरहरू नियुक्त गर्ने घृणित क्रियाकलापको घोर निन्दा र विरोध गर्दछ र निर्णय खारेज गर्न माग गर्दछ । यस्ता रवैयाप्रति कुनै पनि कर्मचारीको साथ र समर्थन कदापि रहन सक्दैन ।
अस्पतालभित्र गुण्डाहरू प्रवेश गराएर डाइरेक्टर र प्रशासनिक कक्षमा तोडफोड, कर्मचारीहरूलाई कुटपिट र मार्ने धम्की दिएको हुँदा सम्पूर्ण कर्मचारीहरूका भ्रष्टाचारीहरूको यस्ता घृणित क्रियाकलापहरूविरुद्ध अझ सशक्तरूपमा एकत्रित भएर अगाडि बढ्न र क्यान्सर बिरामीहरूको सेवामा निरन्तर लागिरहन आह्वान गर्दछ ।
पुरानो व्यवस्थापन समितिका पदाधिकारी र केही सदस्यहरू गुण्डाहरूको साथ लिएर जबरजस्ती प्रवेश गरी अस्पतालमा नयाँ प्रशासकहरू नियुक्ति गर्न खोजेपछि आइतबार तिनीहरू अस्पतालका शुभेच्छुक जनताद्वारा लखेटिएका थिए ।
अस्पताल व्यवस्थापन समितिको नेतृत्वमा रहेको संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ, महासचिव विमलकुमार होडा र कोषाध्यक्ष कृष्णप्रसाद ताम्राकारलगायतले अस्पतालमा उपकरण खरिद र सञ्चालन, फार्मेसी सञ्चालन र सफाइ कर्मचारी नियुक्तिमा अनियमितता गरिरहेका थिए ।
यसैबीच पुरानो व्यवस्थापन समितिद्वारा जालझेल गरेर अस्पतालको मेडिकल डाइरेक्टरलगायत विभिन्न पदमा नियुक्त चिकित्सकहरूले आइतबार नै राजीनामा गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *