भर्खरै :

आदिवासी जनताका आन्दोलनबाट ऊर्जा पाउने गर्दछु : महाश्वेता देवी

आदिवासी जनताका आन्दोलनबाट ऊर्जा पाउने गर्दछु महाश्वेता देवी
लेख्नु मेरो लागि आफैमा एउटा अभियान हो
साउन १३ गते कोलकोत्तामा भारतका विख्यात प्रगतिशील एवं विद्रोही लेखिका महाश्वेता देवीको निधन भएको छ । सन् १९२६ मा पश्चिम बङ्गालको जिन्दापुरमा जन्मेकी उनको ९० वर्षको उमेरमा निधन भएको हो । उनको निधनप्रति भारतका सबै जनताले, विशेषतः भारतका उत्पीडित जनताले आफ्नो दुःखलाई लेखिदिने पूजनीय व्यक्तित्व गुमाएको महसुस गर्दैछन् । सयौं कथा, उपन्यास, लेख रचना, आत्मसंस्मरण लेखेका महाश्वेता देवीको ‘हजार चौरासी की माँ’ उपन्यासको नेपाली भाषामा अनुवाद भएको छ ।
हृदयाघातका कारण केही महिनादेखि अस्वस्थ रहेकी महाश्वेता देवी संसारभरका प्रगतिशील लेखकका लागि प्रेरक व्यक्ति हुन् । उनी साहित्यकारमात्र नभएर आफै न्यायपूर्ण विषयमा बोल्ने, जुलुस गर्ने, प्रहरी दमनको सामना गर्ने, जनतालाई जागरुक बनाउने अभियन्ता पनि हुन् । उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सन् २०११ मा दिल्ली विश्वविद्यालयअन्तर्गत क्लस्टर इनोभेसन सेन्टरका अङ्ग्रेजी भाषाका सहप्राध्यापक डा। नन्दिनी चौधरी सेनले लिएको अन्तर्वार्ता अङ्ग्रेजी भाषाबाट खस नेपाली भाषाको अनुवाद प्रस्तुत छ ।
मैले आफूले खाएको खानाभन्दा बढी किताब पढेकी छु ।
मलाई लेख्ने सामग्री त्यहींबाट तयार हुने गरेको छ ।
महाश्वेता देवीसँगको भेटघाटको अनुभव अवर्णनीय थियो । उनी कोठाभित्र रमाउने प्राज्ञहरुसँग कुराकानी गर्न त्यत्ति रुचाउँदिनन् भन्ने कुरा सुनेकी थिएँ । त्यसकारण शुरुमा त म केही आपत परिहाल्छ कि भनी डराएकी थिएँ । तर उनले चाँडै नै मेरो मनको भय शमन गरिदिइन् । एक घण्टाका लागि समय मिलाइएको अन्तर्वार्ता दुई घण्टा लम्बियो । अन्तर्वार्तामा उनले सिङ्गुर र नन्दीग्राममा आफ्नो सक्रिय अभियानको पछिल्लो अवस्थाबारे सविस्तार चर्चा गरिन् ।
महाश्वेता देवीको सबभन्दा पहिले प्रभाव पार्ने पक्ष भनेको उनका सरलता र हाकाहाकी बोल्ने स्वभाव हुन् । उनी हक्की स्वभाव निर्ममताको हदसम्म जान सक्छ तर फेरि उनी केटाकेटी जत्तिकै सरल छिन् । सबै गरिब र अभावले पिरोलिएकाहरुका लागि उनको मन सद्भावले ओतप्रोत हुने गरेको छ । उनले धेरै समय र गहिराइमा गएर अधिकांश आदिवासी र मूलधारमा नअटाएका समुदायसँग काम गरेकी छिन् र उनीहरुको निम्ति महाश्वेतादेवी ‘माँ’ हुन् । उनको स्वास्थ्य दिनानुदिन कमजोर बन्दै गइरहेको छ । तथापि उनी घण्टौं–घण्टासम्म एक क्षण पनि आफ्नो बुढो ढाडलाई आराम नदिई लगातार काम गरिरहेकी हुन्छिन् । कोलकोत्ताको उखर्माउलो गर्मीमा कहिलेकाहीं चल्दै गरेको पङ्खा बन्द हुन्छ । तर त्यो प्रतिकूल परिस्थितिलाई पनि निमेषभरमै आफ्नो नियन्त्रणमा लिएर भन्छिन्, ‘अमार असुवेधी होए ना’ ९मलाई कुनै असुविधा भएको छैन० ।
उनको फोनको घण्टी लगातार बजिरहेको हुन्छ । उनले चिकित्सक र सहयोगीहरुलाई नन्दीग्रामको अस्पतालमा सहयोग गर्न आह्वान गरेकी हुनाले त्यही विषयमा कुराकानी गर्न उनको टेलिफोनले हल्ला गरिरहेको हुन्छ ।
महाश्वेता देवीले आफूलाई पश्चिम बङ्गालको सरकारको आँखामा ‘खतरनाक अपराधी’ भएको भन्दै गर्दा उनको व्यङ्ग्यचेत चोटिलो प्रकारले अभिव्यक्त भइरहेको थियो । उनी आफू र आफ्नो कलमले बगरेको चक्कुको जस्तो धार दिने गरेको संसारको विषयमा मज्जाले हाँस्ने क्षमता राख्छिन् । उनले हरेक घटनाको मिति र घटानक्रम कत्ति पनि नअलमलीकन राखेको सुन्दा म उनको स्मरणशक्ति देखेर चकित परें । त्यसो हुनुको कारणबारे खोतल्दै उनले इतिहासप्रतिको आफ्नो मोहबाट कुरा तुनिन्– त्यो इतिहास पाठ्यपुस्तकमा पढाइने खालको होइन बरु वाक्य–वाक्यबीचमा अदृश्य मसीले लेखिएका इतिहासको हो– त्यो ।
उनी जनताका इतिहासका व्याख्याता हुन् जसलाई मूलधारले सधैं ओझेलमा राख्न खोजिरहेको हुन्छ । तर उनलाई कहिल्यै ओझेलमा परेकाहरुको पक्षमा बोलिरहेको जस्तो लाग्दैन । उनका अनुसार खासमा गरिब, उत्पीडित र ओझेलमा परेकाहरु सधैं बोलिरहेका छन् । तर उनीहरुका आवाजलाई नसुनिएको मात्र हो र मूलधारको डिस्कोर्सले ओझेलमा धकेलेको मात्र हो । उनी त मात्र ती ओझेलमा धकेलिएको आवाजलाई शब्द भर्ने काम गर्छिन् र प्रकाशमा ल्याउने काम गर्ने गर्छिन् । ओझेलमा परेकाहरु बोल्न मात्र सक्तैनन्, बरु उनीहरु युगौंयुगदेखि बोल्दै आइरहेका छन् । उनीहरुको आवाज सुन्न संवेदनशील कानको जरुरी पर्दछ र महाश्वेता देवीजस्ता लेखकहरुको कलमले जनताको इतिहास निर्माण गर्न सहायता गर्ने गर्दछ ।
भारतको पद्मश्री, पद्मविभूषण, ज्ञानपीठ र म्यागासेसे पुरस्कारबाट पुरस्कृत उनी एक जना जीवित विभूति हुन् । लेखक र अभियन्ता एकै समय सँगसँगै हुन सक्छ र दुवैतिर उही उचाइको इमान्दारीको साथ हुन सक्तछ भन्ने कुरा महाश्वेता देवीले आफ्नो जीवनकालमा प्रमाणित गरेकी छिन् र सबै कामदार तथा ओझेलमा पारिएकाहरुका लागि न्यायका लागि उनको यो काम उदाहरणको रुपमा निरन्तर रहनेछ ।
उनै महाश्वेता देवीसँगको अन्तर्वार्ता
नन्दिनी सेन स् महाश्वेती देवी, तपाईंले आफ्नो अभियान र लेखनलाई कसरी सँगसँगै लानुभयो, यसको जन्मकथाबारे हामीलाई केही mबजबकजधभतब(मभखष्(द्दबताइदिनुहुन्छ कि रु
महाश्वेता देवी स् मैले मेरो साहित्यिक यात्रा झाँसीकी रानीको जीवनीबाट शुरु गरेकी हुँ । म इतिहासप्रति निकै चासो राख्ने गर्दछु । मेरो लागि वास्तविक इतिहास दुई वटा छापिएका पंक्तिबीचको सेतो रित्तो स्थानमा रहने गर्दछ किनभने जनताको इतिहास जोकोहीले खोजी गर्नु पर्दछ । मेरो पहिलो पुस्तक सन् १९५६ मा प्रकाशित भयो । म त्यत्तिबेला २८ वर्षकी थिएँ । त्यो पुस्तक लेख्न म झाँसी गएँ, ग्वालिएर र अरु धेरै ठाउँमा घुमें । ती सबै ठाउँ म एक्लै नापें । त्यहाँका स्थानीय जनताबाट लोकोक्ति, लोकगीत आदि सङ्कलन गरें । मलाई आज पनि याद आउँछ– डिसेम्बरको चिसो रात गाउँलेहरु सबै अगेनामा आगो ताप्दै बसेका ती दिनहरु । उनीहरुले यस्तो गीत गाएका थिए स्
‘पत्थर मिट्टी से फौज बनाई,
काठ से कठवारस
पहाड़ उठा के घोड़ी बनाई
रानी चली ग्वालियर।
यो पनि सत्य हो, मेरो पूरा जीवन म एक जना व्यावसायिक लेखक भएँ वा रहें । लेखन नै म आफूलाई र आफ्नो ठूलो परिवारलाई धान्ने एउटै मात्र माध्यम हो । सन् १९७० को दशकपछि म जनताको इतिहास लेखनमा संलग्न भएकी छु । यो स्वाभाविक रुपमा मेरोसामु आएको कुरा हो । मैले यो कुरा सुनाउनैपर्छ, मैले धेरै कसौडीमा भात पाक्ने सामग्री लेखेकी छु किनभने एकजना व्यावसायिक लेखकका टाउकामा यस्ता धेरै दबाब आइलाग्ने रहेछन् । यस क्रममा मैले आनन्दबजार प्रकाशन समूहका पत्रिकामा मात्र लेखेकी होइन । वास्तवमा झाँसीकी रानीको पहिलो प्रकाशन धारावाहिक रुपमा देश नामको एउटा अखबारमा भएको थियो । अनि अरु पनि तीन चार वटा कमिसन आउने लेख लेखें । त्यसपछि मैले धेरै अखबारमा लेखें । सन् १९६० दशकयता मैले अखबारमा बङ्गाली भाषामा लेख्ने गरेको छु । आजभोलि पनि अखबारमा म लेख्ने गर्छु । कुनै समय म आर्थिक तथा राजनीतिक साप्ताहिक, द फ्रन्टियर, द बिजिनेश स्टान्डर आदि अखबारमा लेख्ने गर्थें ।
अङ्ग्रेजीमा लेख्नु अभियानको निकै महत्वपूर्ण चरण थियो । मैले पालामाओका कमैयाहरुको विषयमा लेखेको थिएँ । साथै म पश्चिम बङ्गालका असूचीकृत समुदायबारे लेख्न र उनीहरुको मानवअधिकारबारे लड्न सक्रियतापूर्वक लागेको थिएँ । सन् १८७१ मा बेलायतले अविभाजित भारतमा जम्माजम्मी २ सयदेखि २ सय ५० वटा जातिको सूचीकरण गरेको थियो । पश्चिम बङ्गालमा जम्मा तीन वटा त्यस्ता सूचीकृत जाति छन् स् मेदिनिपुरका लोधा समुदाय, पुरुलियाका खेदिया शबर समुदाय र वीरभूमका धिकारोस समुदाय ।
नन्दिनी सेन स् त्यो आन्दोलन कसरी भारतभरि फैलियो त रु
महाश्वेता देवी स् सन् १९९८ मा पुरुलियाको बुधन शबरलाई प्रहरीले निर्ममतापूर्वक हत्या गर्‍यो । बेलायतीहरुले यो समुदायलाई अपराधी समुदाय करार गरेको थियो । भारत स्वतन्त्र भएपछि सन् १९५२ मा भारत सरकारले यो समुदायलाई असूचीकृत घोषणा गर्‍यो । अर्थात् उनीहरु अब अपराधी समुदायको रुपमा सूचीकृत भएनन्, बरु असूचीकृत भए । बुधनको हत्यापछि मलाई केही कुराले भित्री मनमा घोच्यो । मैले कोलकोत्ता अदालतमा गएर राज्य सरकारको विपक्षमा मुद्दा दायर गरें । सौभाग्यवश, हामीले मुद्दा जित्यौं । बुधनकी श्रीमतिले एक लाख भारु क्षतिपूर्ति पाइन् ।
दुर्भाग्यवश, सन् १९९९ मा भद्र शबरलाई ढुङ्गामुढा गरेर हत्या गरियो । किन रु असुचीकृत समुदायलाई प्रहरी, उनीहरुका छिमेकी अथवा जोकोहीले पनि मार्न सक्थे ।
सन् १९९७ देखि १९९९ को बीचमा ३७ जना लोधा समुदायका मानिसलाई मेदिनीपुरमा निर्मम तरिकाले हत्या गरियो । तर सरकारले केही गरिरहेको थिएन । सन् १९९२ मा छुनी कोटल नामकी एक जना लोधा केटी मेदिनीपुर आदिवासी छात्रा होस्टलमा सुपरिटेन्डेन्टको रुपमा भर्ती भइन् । तिनी लोधा समुदायमै स्नातक गर्ने पहिलो छात्रा थिइन् । तिनी मेदिनीपुर विद्यासागर विश्वविद्यालयमा मानवशास्त्र विषयमा स्नातकोत्तर तहमा भर्ना भइन् । सरकारले आफ्नो समुदायलाई असूचीकृत गरेको विरोधमा लड्न उनले मानवशास्त्र विषय छानेकी थिइन् । तर तात्कालीन विश्वविद्यालय प्रशासन र स्थानीय प्रशासनले तिनलाई अघि बढ्नबाट रोक लगाए किनभने तिनी लोधा थिइन् । लोधा भएकै कारण उनलाई आफ्नो उच्च अध्ययन पूरा गर्नमा रोक लगाइयो र आफ्नो समुदायको सेवा गर्न दिइएन । तिनले एक जना लोधा समुदायकै असल केटासँग विवाह गरेकी थिइन् र उनीहरुको जीवन सुखसँग अघि बढिरहेको थियो । तर मूलधारसँग लड्न नसकेकै कारण तिनले आत्महत्या गरिन् ।
बुधनको मुद्दा अदालतमा चल्दै गर्दा सन् १९९८ मा डा। जी।एन। देवीले मलाई बोरोडामा आफ्नो भाषा केन्द्रको इल्विन भाषण श्रृङ्खलाका लागि आमन्त्रण गर्नुभयो । मैले त्यहाँ भनें, ‘आदिवासीहरुका लागि मात्र काम गर्नु पर्याप्त छैन । असूचीकृतहरुको विषयमा पनि बोल्नु पर्दैन ’
त्यही दिन म, डा। देवी र लक्ष्मण गायकवाद सामेल भएर ‘असूचीकृत र घुमन्तु जाति अधिकार संरक्षण समूह’ गठन भयो । अनि हामीले महाराष्ट्र, गुजरात, राजस्थान, मध्यप्रदेश, बिहार, झारखण्ड र पश्चिम बङ्गालमा हुने हरेक नृशंसता प्रकाशमा ल्याउने काम गर्‍यौं । शुरुमा राष्ट्रिय मानवअधिकार आयोगलाई सबै राज्यमा व्यापक रुपमा मानिस परिचालन गरी स्थलगत अनुसन्धान गर्न र प्रतिवेदन तयार पार्न घच्घचायौं । मानवअधिकार आयोगका प्रमुख न्यायाधीश वर्माले निकै उत्कृष्ट काम गर्नुभयो र धेरै समस्याको हल गर्न सफल भयौं । हामीले सबै असूचीकृत जनताका लागि आधारभूत मानव अधिकारको माग गर्दैगर्दा उहाँले सबै राज्यका मुख्यसचिवको बैठक आमन्त्रण गर्नुभयो । मलाई खुशी लाग्छ, २००६ जनवरी १४ मा म र डा। देवी गएर प्रधानमन्त्रीलाई चारबुँदे माग पेस गर्‍यौं । ती मागबारे बुझ्न र भूमि, पुनर्स्थापन, विद्यालय र अरु आधारभूत मानवअधिकारमा बजेट विनियोजनका लागि सरकारलाई सहयोग गर्न बालकृष्णा रेन्केको नेतृत्वमा सरकारले एउटा आयोग गठन गर्‍यो । तर, दुःखको कुरा, रेन्केले आजसम्म पनि यो विषयका लागि उपयुक्त बजेटको माग गर्न सक्नुभएको छैन । असूचीकृत समुदायसँग सम्बन्धित काम डा। देवीको अभिलेखमा मात्र सीमित भएको अवस्था छ ।
सन् १९७० को दशकदेखि सन् २००६ सम्म मैले लगातार असूचीकृत समुदायका विषयमा पनि काम गर्दै आएको छु । डा। देवी र मैले मिलेर भारतको बरोडानजिक तेजगढमा पहिलो आदिवासी प्रतिष्ठान खोलेका छौं । मेरा प्रमुख पुस्तकमा धरी मैले यी समुदायका मानिसका विषयमा लेखेकी छु । ‘बसाई टुडु’ र ‘पेट्रोडाक्टिल’ अङ्ग्रेजी भाषामा अनुवाद भइसकेका छन्, तर सबै भइसकेका छैनन् । ‘अरण्यर अधिकार’ र ‘अण्डरमणि’ ९कोबि मृत्यु० पनि अनुवाद भइसकेका छैनन् ।
नन्दिनी सेनः आफ्ना कृतिहरु अङ्ग्रेजी भाषामा अनुवाद भएकोमा तपाईं खुशी हुनुहुन्छ रु
महाश्वेता देवीः गायत्री स्पिभाकले ‘द्रौपदी’, ‘ब्रेस्ट गिभर’, ‘पेट्रोडाक्टिल’जस्ता कथा अनुवाद गर्नुभयो र अरु भाषाका पाठकले पनि ती कथा पढे । म आफै अनुवाद गर्दिनँ । त्यसकारण उनी अथवा अरु कोही पनि अनुवादकको मूल्याङ्कन गर्ने मसँग क्षमता छैन । तब म गौरवका साथ भन्छु, मेरा सबै रचना बङ्गाली भाषामा विभिन्न खण्डमा आउँदैछन् । १९ खण्ड त प्रकाशित भइसकेका छन् । सम्पादक अजोय गुप्ताका अनुसार यो काम पूर्ण रुपमा मेरो जीवनकाल वा उनको जीवनकालभरि सकिने छैन ।
मेरो लागि लेखन आफैमा एउटा अभियान हो । सन् १९८२ देखियता म पुरुलिया खेदिया शबर कल्याण समितिमा नजिक रुपमा काम गरिरहेकी छु । म दैनिक १५ देखि १८ माइल हिँड्ने गर्थें तर आजभोलि म सक्तिनँ । अब म जे गर्छु, लेखेरै गर्नेछु । सन् २००६ को नोभेम्बरदेखि म सिङ्गुर र नन्दीग्रामको विषयमा विस्तृत रुपमा लेख्दैछु । म खुशी छु, चिकित्सक र अरु सहयोगी सोनाचुरा र गोकुलनगरका स्वास्थ्यकेन्द्रमा नियमित रुपमा जान थालेका छन् । त्यसको निम्ति हामी कुनै पैसा मागिरहेका छैनौं । मैले मेरा सहयोगीमार्फत हामीलाई आवश्यक परेका जेनेरेटर, पुराना साइकल, पुराना पङ्खा आदि मागिरहेका छौं । अस्पतालहरुलाई ती सामान सहयोग गर्न हामी माग गरिरहेका छौं । चिकित्सकहरु महाविद्यालयका विद्यार्थीहरु– दुवै छात्र र छात्राले विस्तृत स्वास्थ्यकर्मी तालिम दिएर सहयोग गरिरहनु भएको छ । उनीहरुले न्यून शिक्षित गाउँका महिलाहरुलाई सुँडेनी तालिम दिइरहेका छन् ।
नन्दीग्राम उत्साहित छ । उनीहरु सहकार्य गरिरहेका छन् । उनीहरु विश्वको इतिहासमा नयाँ पाठ लेख्दैछन् । मैले यो काममा अखरबारमा स्तम्भ लेखेर सहयोग गरिरहेको छु । म उनीहरुको सङ्घर्षको विषयमा पनि लेख्न चाहन्छु । त्यसको निम्ति मसँग समय रहने छ वा छैन, मलाई थाहा छैन । तथापि यो मेरो लागि एउटा मूर्त सपना हो र म हरेक दिन लेख्नु पनि मेरा लागि अन्ततः एउटा अभियान भएको कुरा पुष्टि गर्दैछु ।
नन्दिनी सेन स् तपाईंको साहित्यिक प्रभावबारे केही भन्नुहोस् न ।
महाश्वेता देवी स् मैले बेलायती उपनिवेश समय भोगेकी छु र त्यसपछि स्वतन्त्रताको समय पनि देखेकी छु । म अझै बाँचेकी छु र अर्को थप १८ वर्ष बाँच्न चाहन्छ । अनि लेख्न चाहन्छु । ९अबको १८ वर्षपछि उनी सय वर्षकी हुनेछिन् ।०
१६औं शताब्दीका कवि मुकुन्दराम चर्कोवर्तीको ‘कोबि कङ्कण चण्डी’ मेरा लागि स्थायी साहित्यिक मार्गदर्शक बनेको छ । म सन् १९३६ देखि १९३८ सम्म म शान्तिनिकेतनमा बसेको हुनाले रवीन्द्रनाथ टैगोर प्रेरणाका पुञ्ज हुनुहुन्छ । शान्तिनिकेतनबाट मैले आत्मअनुशासित बन्न सिकें । जो कोहीको जीवनमा कुनै न कुनै समय प्रकृतिबाट सिक्ने समय हुने रहेछ । कीराफट्याङ्ग्रालाई मन पराउनु, चराचुरुङ्गी र पशुको जीवनमा आकर्षित हुनु । त्यस्ता सिकाइ अद्यापि मसँग कायम भएको म पाउँछु । निसन्देह विभूतिभुषण बन्द्योपाध्याय, ताराशंकर बन्द्योपाध्याय, सतिनाथ भाडुरी, माणिक बन्द्योपाध्याय, ज्योर्तिमोयी देवी, लील मजुमदार आदि मेरा प्रिय लेखक हुनुहुन्छ ।
नन्दिनी सेनः तपाईं महाआख्यानहरु वरपर रहेर लेख्ने गर्नुहुन्छ जस्तै ‘द्रौपदी’ र ‘कुरुक्षेत्रपछि ।’ के तपाईंलाई महाआख्यानमा जात वर्गको कोण महत्वपूर्ण लाग्छ रु
महाश्वेता देवी स् फेरि पनि त्यही कुरा । रामायण र महाभारतमा पङ्क्तिहरुबीचका सेता खाली ठाउँहरु हुन् । त्यहाँ राजमाता कुन्ती छिन् र निशादिन पनि छिन् जसलाई आफ्ना छोरासँगै दरबारभित्रै जलाइन्छिन् । मैले आफूले खाएको खानाभन्दा बढी किताब पढेकी छु । म निकै पढ्ने गर्दछु । इतिहासको बीचमा रहेका खाली ठाउँले मलाई आकर्षित गरिरहेका हुन्छन् र म त्यही विषयमा लेख्ने गर्दछु । ‘स्तनदायिनी’की यशोदा ऐतिहासिक नाम हो तर कुनै कल्पना होइन ।
नन्दिनी सेन स् ‘बेदनाबाला’मा तपाईंले यौनकर्मीहरुको विषयमा लेख्नुभएको छ ‘
महाश्वेता देवीः यौनकर्मीहरु पनि हामीजस्तै जीवित मानिसहरु हुन् । यौनकर्मीहरुले बेलायतविरोधी आन्दोलनको क्रममा धेरै ठूलो मद्दत गरेका थिए । उनीहरुले स्वतन्त्रता आन्दोलनमा आर्थिक सहयोग दिएका थिए । मेरो पूरा जीवन म आँखा खोलेर बाँचेकी छु । त्यसकारण म त्यही घटना र कुराबारे लेख्ने गर्छु जो मूलधारलाई लेख्न वा कुरा गर्न स्वीकार्य हुने गर्दैन ।
नन्दिनी सेन स् प्रहरी दमनको तपाईंले भोगेका सबभन्दा नृशंस घटना कुन हो रु
महाश्वेता देवी स् बुधन मुद्दा । उनकी श्रीमतीले उजुरी गरिन् । उनीहरुले बुधनले आत्महत्या गरेको भनाउन खोज्दै थिए । उनको समुदायका मानिसहरुले बुधनको लासलाई नजलाईकन गाडे । बुधनको बुबाले यो मुद्दालाई जीवित राखे, जो सन् १९४२ देखिका स्वतन्त्रता संग्रामी थिए ।
नन्दिनी सेन स् के तपाईं आफूलाई महिलावादी भन्नुहुन्छ रु
महाश्वेता देवी स् म ओझेल र उपेक्षित सबै मानिसको पक्षमा लेख्छु । जब समाजको कमजोर हिस्सा छ भने के पुरुष, के महिला र के केटाकेटी सबैलाई उही ढङ्गले उपेक्षा गरिएको हुन्छ । मेरा कथा महिलाको विषयमा मात्र छैन । म सबै उत्पीडित वर्गका लागि लेख्ने गर्छु ।
नन्दिनी सेन स् तपाईं आफूलाई महिलावादी भन्नुहुन्छ कि भन्नुहुन्न रु
महाश्वेता देवी स् म आफूलाई महिलावादी भन्दिनँ । मैले सबै उत्पीडित वर्गका लागि लेखेकी छु । मेरी आमा निकै व्यापक सोचकी महिला हुनुहुन्थ्यो । हामी बेहरामपुर बस्दा मेरी आमा पूर्वी बङ्गालबाट आएका सबै शरणार्थी महिलालाई सहयोग गर्नु हुन्थ्यो । उहाँ जातप्रथामा विश्वास गर्नुहुन्नथ्यो र सबैलाई समान रुपमा व्यवहार गर्नुहुन्थ्यो । गरिब र उत्पीडित मानिसलाई सशक्तीकरण गर्न जरुरी छैन । किनभने उनीहरु निकै शक्तिशाली छन् । नभए तापोसी मलिकजस्ता महिलाहरु कहाँबाट आउँछन् रु म उनीहरुबाट ऊर्जा लिने गर्दछु । म मेरो वरपर भइरहेका आदिवासी जनताका आन्दोलनबाट ऊर्जा पाउने गर्दछु । सिङ्गुर र नन्दीग्रामले मेरो जीवनमा नयाँ रङ्ग भरिदिएका छन् । मेधा पाटकर र मैले सिङ्गुरमा कुनै राजनीतिक दलको प्रतिनिधित्व गरेर भ्रमण गरेका थिएनौं । सिङ्गुरका जनताले हामीलाई त्यहाँ लगेका थिए । जनताप्रतिको मेरो आस्था पुनः जगाइदिएकोमा म उनीहरुलाई धन्यवाद व्यक्त गर्दछु । बिरसा मुन्डा होस् वा सिङ्गुर र नन्दीग्रामका जनता हुन्, म सधैं उनीहरु सँगसँगै हिँड्ने बचनबद्धता व्यक्त गर्दछु ।
अनुवादः नीरज लवजू

Leave a Reply

Your email address will not be published. Required fields are marked *