कैलाली, १५ मंसिर । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नं. २ कुन्तालीमा नेपाल मजदुर किसान पार्टीका कार्यकर्ता र समर्थकहरूको भेला आइतबार सम्पन्न भयो ।
भेलामा नेमकिपा कैलाली जिल्ला समितिका अध्यक्ष रमेशकुमार रावलले कम्युनिस्ट नामधारी नक्कली कम्युनिस्टका कारण नेपालको कम्युनिस्ट आन्दोलनलाई नै क्षति पुगिरहेको चर्चा गर्दै कामदार जनताको हित नहेर्नेहरू कम्युनिस्ट नहुने बताउनुभयो ।
देशका शासक पार्टीहरूमा भारतीय दलालहरूको बोलवाला भएकोले भारतले सीमा अतिक्रमण र नेपाली जनतालाई दुःख दिने आँट गरिरहेको बताउँदै उहाँले भारतीय विस्तारवादको विरोधसँगसँगै भारतीय दलालहरूविरुद्ध सङ्घर्ष जरुरी छ भन्नुभयो ।
भेलामा नेपाल क्रान्तिकारी किसान सङ्घ कैलाली जिल्ला समितिका सदस्य सूर्यबहादुर शाहीले कम्युनिस्ट सरकार दाबी गर्नेहरूले वास्तविक किसानको हितमा नीति निर्माण र कार्यक्रम लागू गर्न नसकेको बताउनुभयो । उहाँले किसानको हितको निम्ति क्रान्तिकारी भूमिसुधार गर्नुपर्ने बताउनुभयो ।
नेक्राकिसङ्घ मोहन्याल गाउँपालिका वडा नं. २ गोगनपानी गाउँ एकाइ समितिका कालीबहादुर शाहीले पनि बोल्नुभएको उक्त भेलाबाट मिनबहादुर शाहीको अध्यक्षतामा ७ सदस्यीय नेक्राकिसङ्घ गाउँ एकाइ समिति गठन भयो ।
त्यस्तै पार्टी जिल्ला अध्यक्ष रावलकै आतिथ्यमा शनिबार मोहन्याल गाउँपालिका वडा नं. २ कै पीपलसैनी र गोगनपानी बढाडीमा गाउँमा पनि छुट्टाछुट्टै गाउँ भेला सम्पन्न भए ।
पिलसैनीमा भएको कार्यकर्ता भेलाले भीम दर्लामीको अध्यक्षतामा ९ सदस्यीय नेक्रायुसङ्घ गाउँ एकाइ समिति गठन ग¥यो भने गोगनपानी बढाडीमा भएको भेलाले लालबहादुर तारामीको अध्यक्षतामा नेक्राकिसङ्घको ७ सदस्यीय गाउँ एकाइ समिति गठन ग¥यो ।