काठमाडौँ, १६ मंसिर । घरेलु मैदानमा जारी १३ औँ सागको दोस्रो दिनको खेल समाप्तिसम्ममा नेपालले १५ स्वर्णपदक जितेको छ ।
२० वर्षपछि घर फर्किएको सागमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको हो । कराँतेको पहिलो दिन ९ स्वर्णपदक विजेताको टुङ्गो लाग्दा नेपालले सात स्वर्ण र दुई रजत पदक जित्यो अर्थात् हरेक स्पर्धामा नेपाल फाइनल पुग्यो ।
पुरूष एकल कातामा मन्डेकाजी श्रेष्ठ र पुरूष टीमकातामा मन्डेकाजीसहित महसुस तामाङ र प्रविन मानन्धरको टोलीले स्वर्ण जित्यो । महिला टीम कातामा नेपालका निर्मला तामाङ, सङ्गीता मगर र सरू कार्कीको टोलीले नेपाललाई स्वर्ण दिलायो । महिला एकल कातामा नेपालकी चञ्चला दनुवार रजतमा सीमित भइन् । उनलाई पाकिस्तानी खेलाडीले फाइनलमा हराएकी थिइन् ।
महिला कुमुतेको ४५ केजीभन्दा कम तौल समूहमा नेपालकी कुसुम खड्काले स्वर्ण जितिन् । पुरूष कुमुते ८४ केजीभन्दा माथिको तौल समूहमा नेपालका विप्लव लाल श्रेष्ठले स्वर्ण हात पारे ।
पुरूष कुमुतेकै ५५ केजी तौल समूहमा नेपालका लक्ष्मण तामाङले फाइनलमा बङ्गलादेशी खेलाडीलाई हराएर स्वर्ण जित्न सफल भए । महिला कुमुतेमा नेपालकी अनु अधिकारीले पनि नेपाललाई स्वर्ण दिलाइन् ।
तेक्वान्दोतर्फ पुरूष एकल पुम्सेको २३–२९ वर्ष समूहमा नेपालका कमल श्रेष्ठले स्वर्ण जिते । महिला एकल पुम्सेको १७–२३ उमेर समूहमा नेपालकी सिना मादेन लिम्बु पहिलो भइन् । २३–२९ वर्ष समूहमा नेपालकी पार्वती गुरूङले पनि स्वर्ण जितिन् ।
महिला एकल पुम्से २९ वर्षभन्दा माथि उमेरमा नेपालकी आयशाले स्वर्ण जितिन् । पुम्से पेयरको २९ वर्षभन्दा माथि आयशाले सञ्जीवकुमार ओझासँग मिलेर स्वर्ण जितिन् ।
महिला पुम्से टीमअन्तर्गत १७–२३ उमेर समूहमा नेपालका निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिनाको टोली तथा २३–२९ उमेर समूहमा नेपालका नीता गुरूङ, सङ्गीता क्षेत्री र सुशिला राईको टोलीले स्वर्ण पदक जित्यो ।
१२ औँ सागमा नेपालले तेक्वान्दोमा स्वर्ण पदक जित्न सकेको थिएन । कराँतेलाई भने प्रतियोगितामै समावेश गरिएको थिएन ।
१३ औँ सागको दोस्रो दिन नेपालले ट्रायथलनमा पनि स्वर्ण पदक जितेको छ । ट्रायथलनको महिला स्पर्धामा सोनी गुरूङले स्वर्ण जितिन् ।
कराँतेमा अब १० स्वर्णको निर्णय हुन बाँकी छ । तेक्वान्दोमा अब १६ स्वर्णको निर्णय हुन बाँकी छ ।