भर्खरै :

“अतिक्रमणविरुद्ध अन्तर्राष्ट्रिय अदालत गुहार्नुपर्छ”

काठमाडौँ, १९ मंसिर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले लिम्पियाधुरा, लिपुलेक र कालापानीको विवाद नेपाल र भारतबीच कूटनीतिक संवादबाट मात्र समाधान हुन नसक्ने बताउनुभएको छ । बिहीबार सगरमाथा टेलिभिजनको सगरमाथा च्याटमा सञ्चारकर्मी प्रकाश गिरीसँग समसामयिक विषयमा कुराकानी गर्दै उहाँले नेपाली भूमिलाई भारतले आफ्नो नक्सामा गाभेको विषयमा नेपाल सरकारले अन्तर्राष्ट्रिय अदालत गुहार्नुपर्ने धारणा राख्नुभयो ।
सिमानाको विषयमा सरकारले आवश्यक सक्रियता नदेखाएको बताउँदै उहाँले भारतका शासक वर्ग रिसाउने चिन्ताले सरकारले अडान लिन नसकेको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले भारतसँगको सम्झौतामा नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी दुई देशबीच आधा आधा गर्ने सहमति गर्नसक्नेप्रति नेपाली जनता सजग हुनुपर्ने बताउनुभयो ।
राष्ट्रपतिको राजनीतिक सक्रियताबारे सोधिएको जिज्ञासाको उत्तरमा बिजुक्छेँले संविधानले राष्ट्रपतिलाई सक्रिय राजनीति गर्ने ठाउँ नदिएको बताउनुभयो ।
“हाम्रा राष्ट्रपति खोपाका राष्ट्रपति हुन्, सक्रिय राष्ट्रपति होइनन्”, उहाँले भन्नुभयो ।
राष्ट्रपतिको भागमा मुख्यमन्त्री र अन्य पदमा नियुक्ति गरिएको चर्चाबारे प्रतिक्रिया व्यक्त गर्दै उहाँले भन्नुभयो, “उहाँहरूले या त राजनीति बुझ्नुभएन अथवा राजनीतिको दुरुपयोग गर्दै हुनुहुन्छ ।”
एक–दुई जना व्यक्तिले देश बनाउन वा बिगार्न नसक्ने प्रस्ट पार्दै बिजुक्छेँले देशमा धेरै मानिस भ्रष्ट र बदमास भएकोले नै देश बिग्रेको बताउनुभयो ।
राजनीतिमा अपराधी, भ्रष्ट ठेकेदार र कालाबजारिया हावी भएकोमा चिन्ता व्यक्त गर्दै उहाँले पढेलेखेका बुद्धिजीवीहरू राजनीतिबाट क्रमशः टाढा रहने अवस्था राम्रो नभएको औंल्याउनुभयो ।
उहाँले शासक दलहरूले चुनावमा पैसा हुने र खर्च गर्नसक्नेलाई उम्मेदवारी दिने अवस्थाले राजनीतिलाई विकृत बनाउने धारणा राख्नुभयो ।
अध्यक्ष बिजुक्छेँले प्रदेश र सङ्घीय सरकारको काम कर्तव्यबारे अन्योल र जानकारी नहुँदा प्रदेश सरकारले प्रभावकारी तरिकाबाट काम गर्न नसकेको बताउनुभयो ।
जगैदेखि घर बनाएजस्तै प्रजातन्त्रलाई पनि तलैदेखि बलियो बनाउनुपर्नेमा जोड दिँदै अध्यक्ष बिजुक्छेँले स्थानीय सरकारलाई अझ बलियो बनाउन आवश्यक भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *