भर्खरै :

अक्टोबर समाजवादी क्रान्तिको शतवार्षिकी सरकारी तवरबाट मनाउने पहिलो देश बोलिभिया

बोलिभियाले सरकारी तवरबाटै रुसी अक्टोबर समाजवादी क्रान्तिको अवसरमा भव्य कार्यक्रम गर्ने भएको छ । बोलिभियाका उपराष्ट्रपति अल्भारो गार्सियाले वेल्शेविक समाजवादी क्रान्तिको १०० औं वार्षिकोत्सवको अवसर पारेर विभिन्न अन्तर्राष्ट्रिय पाहुनाहरुको सहभागितामा शतवार्षिकी मनाउने निर्णय सार्वजनिक गरेका हुन् ।
‘हामी समाजवादी, कम्युनिष्ट, वेल्शेविक र ज्याकोविन भएको नाताले रुसी क्रान्तिको सम्झनामा बहसको मञ्च आयोजना गर्न पाउँदा गौरव महसुस भएको छ’, ला पाजमा आयोजित पत्रकार भेटघाटमा उनले भने ।
उनले जानकारी दिएअनुसार बोलिभियाको राजधानी ला पाजमा नोभेम्बर महिनाको ६–८ सम्म सो कार्यक्रम हुनेछ । कार्यक्रम बोलिभियाको उपराष्ट्रपति कार्यालय र सान एन्द्रिज विश्वविद्यालयको इतिहास विभागको आयोजनामा हुनेछ ।
सम्मेलनमा स्पेनको पोदिमोसका नेता पाब्लो इग्लिसिआस र रुसी इतिहासकार आन्द्रे स्केस्कोभ सहभागी बन्ने निश्चित भइसकेको जानकारी पत्रकार भेटघाटमा गराइयो ।
विगत बीस वर्षदेखि बोलिभिया बस्दै आएका रुसका इतिहास विषयका प्राध्यापक युगिना ब्रिडिखिनाले सो अन्तर्राष्ट्रिय सम्मेलनमा रुसी क्रान्तिका सिद्धान्त, त्यसको अर्थ, वामपन्थी आन्दोलनहरुमा त्यसको प्रभाव, ल्याटिन अमेरिका, विशेषतः बोलिभियालगायत संसारमा पारेको प्रभावबारे सो कार्यक्रममा छलफल हुने बताए ।
मानव इतिहासको कोशेढुंगा सावित भएको रुसी समाजवादी क्रान्तिको शतवार्षिकीको अवसरमा यो वर्ष संसारभर विभिन्न कार्यक्रमहरु आयोजना गरिंदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *