भर्खरै :

“ख्वपमा छोराछोरी भर्ना गर्न ताकेता गर्ने सांसद र मन्त्रीले कोटा थप्न मान्दैनन्”

भक्तपुर, २१ मंसिर । ख्वप इन्जिनियरिङ कलेजको अठारौँ र ख्वप कलेज अफ इन्जिनियरिङको एघारौँ वार्षिक कार्यक्रम तथा शैक्षिक प्रदर्शनी शनिबार सम्पन्न भयो । समापन कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले कलेजबाट उत्तीर्ण विद्यार्थीहरूलाई मायाको चिनो प्रदान वितरण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै सांसद सुवालले नेपालको मौलिक भवन निर्माण प्रविधि र नेपाली वास्तुकलाको प्रवद्र्धन गर्न, सर्वसाधारण जनताका छोराछोरीलाई निजीभन्दा कम शुल्कमा पठनपाठनको अवसर प्रदान गराउन, आधुनिक इन्जिनियरिङ विद्याबाट नेपाली विद्यार्थीलाई शिक्षित गर्न÷गराउन भक्तपुर नपाले इन्जिनियरिङ कलेजहरू स्थापना गर्नुपरेको बताउनुभयो ।
विभिन्न जिल्लाका सांसद र मन्त्रीहरूले कलेजमा भर्नाको लागि भनसुन गर्ने गरेको तर भर्ना कोटा थपको लागि उनीहरूसँग अनुरोध गर्दा सहयोग नगरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “कलेजलाई थप कोटा प्राप्त भए थप केही विद्यार्थीहरूले कम शुल्कमा अध्ययन गर्न पाउने छन् । ख्वप कलेजले भनसुनको आधारमा नभई प्रवेश परीक्षाको मेरिटका आधारमा भर्ना लिने गरेको छ ।”
भक्तपुर नपालाई ख्वप विश्वविद्यालय सञ्चालनको अनुमति नदिने पार्टीहरूको समृद्धिको नारा हावामा महल बनाउने हावादारी कुरामात्र भएको सांसद सुवालले स्पष्ट पार्नुभयो ।
“देशको सन्तुलित विकास गर्न जिल्ला–जिल्लामा काठमाडौँमा जस्तै राम्रा विद्यालय, कलेज, अस्पताल बनाउनु पर्दछ”, उहाँले भन्नुभयो ।
भक्तपुर नपाका प्रमुख एवम् कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले हाम्रा विद्यालय र कलेजहरू साम्राज्यवादीहरूको लागि चाहिने सस्तो ज्यामी उत्पादन गर्न कारखाना हुन नहुने उल्लेख गर्दै विद्यार्थीहरू देशभक्त हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
“विद्यार्थीहरूले पाठ्यक्रमका अतिरिक्त देशको भूगोल, इतिहास र राजनीतिशास्त्र विषयमा जानकारी हासिल गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिप्रति चासो लिई सचेत भई अगाडि बढ्नुपर्छ ।” प्रमुख प्रजापतिले विद्यार्थीहरूलाई सुझाव दिनुभयो ।
प्रदेशसभाका सदस्य सृजना सैंजूले भनपाद्वारा सञ्चालित कलेजहरूले देश र जनतामा समर्पित नागरिक तयार गर्ने महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुरलाई ज्ञान–विज्ञानको केन्द्र बनाउने उद्देश्यका साथ भक्तपुर नपाले कलेजहरू सञ्चालन गरिरहेको जानकारी दिँदै विद्यार्थीहरूले आफूले हासिल गरेको शिक्षा देश र जनताको सेवामा उपयोग गर्नुपर्छ भन्नुभयो ।
प्राध्यापक जगन्नाथ श्रेष्ठले इन्जिनियरिङ पेशालाई मर्यादित ढङ्गले अपाउनुपर्ने आवश्यकता औँल्याउँदै विद्यार्थीहरूमा स्वयम्सेवकको भावना हुनुपर्छ भन्नुभयो ।
वरिष्ठ इन्जिनियर राजदास श्रेष्ठले शिक्षा हासिल गर्नुको मुख्य उद्देश्य पैसा कमाउनु हुन नहुने स्पष्ट पार्दै विद्यार्थीहरू रचनात्मक क्रियाकलापमा पनि लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक, ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवाल, ख्वप इन्जिनियरिङ कलेजका उपप्राचार्य रवीन्द्र फोजू, ख्वप कलेज अफ इन्जिनियरिङका उपप्राचार्य रत्नशोभा प्रजापति र शिक्षक नवराज बुढाथोकीले पनि बोल्नुभएको थियो ।
समापन कार्यक्रममा कलेका विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *