भर्खरै :

४४ वर्षदेखि हजार परिवार लालपुर्जाविहीन

काभ्रेपलाञ्चोक, २१ मंसिर । जिल्लाको कोशीपूर्व क्षेत्रस्थित भुम्लु गाउँपालिकाको दुईवटा वडाका करिब एक हजार परिवार ४४ वर्षदेखि लालपुर्जाविहीन अवस्थामा छन् । विसं २०३२ मा नापीका बेला साबिक पीपलटार गाविसका खेतीयोग्य जमिनबारे विवाद भएपछि टुक्रिएर भुम्लुटार र फलाँटे गाविस हुँदा स्थानीय बासिन्दा लालपुर्जाविहीन बन्न पुगेका हुन् ।
गाउँपालिका–७ का ३६५ र ८ का ५८९ पीडित परिवारसँग ४४ वर्षदेखि आफ्नो जमीनको लालपुर्जा नभएको ८ नंका वडाध्यक्ष मोतिलाल तामाङले बताउनुभयो । उहाँका अनुसार लालपुर्जाविहीन भूकम्पपीडितसँग जग्गाको कागजात नभएको जनाइएपछि दुई वर्षपछि मात्रै सरकारी राहत अनुदान उपलब्ध गराइएको हो । “भूकम्पको २ वर्षपछि सरकारी आवास निर्माण राहत अनुदान उपलब्ध गराइएपछि यहाँका भूकम्पपीडितले घर बनाउन थालेका थिए”, तामाङले भन्नुभयो ।
जग्गाधनीले जमिन कर ‘तिरो’ तिरेको तथा अनुगमनकर्ता इन्जिनियरले दिएको निस्साको आधारमा गत विसं २०७४ को कार्तिकमा सरकारले आवास निर्माण अनुदान उपलब्ध गराएको हो । त्यसअघि परिचयपत्र, नागरिकता भए पनि जग्गाको लालपुर्जा नभएका कारण भूकम्पपीडितले अनुदान सम्झौता गर्न पाएका थिएनन् । सरकारले लालपुर्जाविहीन पीडितको समस्यालाई मध्यनजर गर्दै २०७५ भदौमा आवास निर्माणसम्बन्धी कार्यविधि बनाएपछि यहाँका एक हजार लालपुर्जाविहीनले किस्ताबन्दीमा सरकारी अनुदान लिएर घर बनाउन पाएका हुन् ।
यसैबीच, भुम्लु गाउँपालिकाको ४४ वर्षदेखि लालपुर्जाविहीन दुईवटा वडाका करिब एक हजार परिवारलाई पुनः नापी गरी लालपुर्जा वितरण गर्न जिल्लास्थित नापी कार्यालयले शुक्रबार ८ नं वडास्थित भुम्लुमा फिल्ड कार्यालय स्थापना गरेको छ ।
दुवै वडाको ७५ प्रतिशत नापी तथा लालपुर्जा निर्माणको काम सकिएपछि वितरणको काम सुरु गरिने नापीप्रमुख कृष्णप्रसाद न्यौपानेले बताउनुभयो । उहाँका अनुसार वडा नं ७ मा पनि लगत्तै अर्को फिल्ड कार्यालय स्थापना गरी चार महिनाको समयमा उनीहरूलाई लालपुर्जा वितरणको काम सकिनेछ ।
भुम्लु गाउँपालिका–८ का चित्रबहादुर श्रेष्ठले लालपुर्जा वितरण गर्न गाउँमै फिल्ड कार्यालय स्थापना भएकामा खुशी व्यक्त गर्नुभयो । “हामी निकै खुशी भएका छौँ, अब जग्गा बेचबिखन तथा बैङ्किङलगायतका काम गर्न सजिलो हुने भयो”, उहाँले भन्नुभयो । स्थानीयवासी सन्तमाया तामाङले पनि आफ्नो जग्गाको लालपुर्जा पाउने भएपछि निकै खुशी भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *