भर्खरै :

लिपुलेक र कालापानीमात्र भनेर पुग्दैन, लिम्पियाधुरा भन्नुपर्छ

भैरव रिसाल
२०१८ सालमा छैटौं राष्ट्रिय जनगणनामा सरकारी जागिर खाएर सुदूर पश्चिम गएको थिएँ । जागिर खाएर पनि सुदूर पश्चिम कोही पनि जान नचाहने । गयो डोटी, खायो रोटी, आउँदा धोती त टोपी भनिन्थ्यो । डोटी भनेको त्यस्तो ठाउँ थियो ।
२०१४ सालमा राजा महेन्द्र त्यो क्षेत्र गएका थिए । घोडामा यात्रा हुन्थ्यो । हेलिकप्टर थिएन । राजाको त्यो यात्रामा म पत्रकारको हैसियतले गएको थिएँ । मलाई सुदूर पश्चिम भनेको महेन्द्रको पालाको झिलिमिली नै हो कि भन्ने लाग्यो ।
त्यत्तिबेला म सुदुर पश्चिम गएको मेरोलागि ठूलो उपलब्धि भयो । मेरो सर्टिफिकेट नै २०१८ सालमा त्यहाँ पुगेर जनगणना गराउने भन्ने भयो अहिले । मलाई त्यसमा गौरव लाग्छ । २०१८ सालमा मैले चार महिना सुदुर पश्चिममा काम गरेँ । २०१८–१९ सालमा एक वर्ष पूर्वमा बिताए । ताप्लेजुङ, पाँचथर, इलाम र झापामा काम गरेँ । त्यत्तिबेला मैले नेपाल पढेँ । पश्चिम नेपाल पनि पढियो, पूर्वी नेपाल पनि पढियो । अरु जिल्ला पनि घुमें । त्यसकारण म नेपालको बारेमा अलिअलि जान्दछु भनी घमण्ड आयो । हाम्रो देशका धेरै ठूला नेताहरूले विश्व पढ्नुभएको छ, नेपाल पढ्नुभएको छैन । नेपालको उन्नति र प्रगतिको लागि नेपाल पढ्नुपर्छ । त्यसको मतबल विश्व पढ्नु पर्दैन भन्न खोजेको होइन । तर, नेपाल नपढी हुन्न ।
लिम्पियाधुरा, लिपुलेक र कालापानीमा उहीँ गएर मैले जनगणना गराएको भन्ने कुरा आयो । लिम्पियाधुरामा त जनगणना गराइएको थियो । तर, लिपुलेक र कालापानीमा जनगणना भएको थिएन । ती ठाउँमा बस्ती नै छैन । हिमाली भाग हो ।
नेपालको (पश्चिम उत्तरतिर) चुच्चे नक्सा थियो । अहिले बुच्चे नक्सा छ । अहिले कुखुराको सिउर जस्तो चुच्चे थियो, अहिले त्यो छैन । २०३२ सालमा त्यो नक्साको चुच्चो झिकेर बुच्चे गराएको रे । त्यो चुच्चे नक्सालाई बुच्चे जसले गरायो उसलाई सजाय गर्नुपर्छ भनेर म अलि ठूलो स्वरले कराउँछु । (ताली)
चुच्चेलाई बुच्चे गराउने उनीहरू मरिसके । हामी कहाँ मरणोपरान्त सम्मान गर्ने चलन छ । लक्ष्मीप्रसाद देवकोटालाई प्रज्ञा प्रतिष्ठानबाट आउनुपर्ने तलब रोकिँदा बिरामी पर्दा औषधि उपचार गराउन पाउनुभएन । देवकोटाको निधन भयो । निधन भएको चार वर्षपछि उहाँलाई पुरस्कार दिइयो । बाँचुञ्जेल नगन्ने, तलब रोक्ने अनि मरेपछि सम्मान गर्ने ! कस्तो बिडम्बना ! जसले चुच्चे नक्सालाई बुच्चे गरे उनीहरूलाई मरणोपरान्त अपमान गर्नुप¥यो, सजाय गर्नुप¥यो । त्यसो गर्दा अहिलेका मान्छेले ‘मर्दा पनि छोड्दा रहेनछन्, बदमासी त गर्न नहुने रहेछ’ भनी चेतना आउने थियो ।
सुगौली सन्धिमा नेपालको राजाले काली पश्चिम दाबी गर्नेछैन भनी लेखिएको छ । त्यसको अर्थ काली त हाम्रो हो । अङ्ग्रेजले कालीको मुहान यहाँ भनेर लेखिदिएको भए यो झञ्झट नै आउने थिएन । त्यो बेला इस्ट इन्डिया कम्पनीले बदमासी ग¥यो । त्यो भन्दा ३–४ महिना पहिले एउटा नक्सा आएको छ, त्यसमा कुटियाङ्दीबाट आएको नदीलाई नै काली भनिएको छ । सन् १८५६ सम्म नक्सामा बदमासी गरिएको थिएन । त्यसपछि भने बदमासी हुन थाल्यो । त्यसपछि भने नक्सा ‘अवैज्ञानिक र असान्दर्भिक’ भयो भनियो । त्यो नक्सा कसले बनाएको थियो ? नेपालले त होइन । ब्रिटिश इन्डियाका सर्भेयरहरूले बनाएका थिए । उनीहरू आफैंले बनाएका नक्सालाई ‘असान्दर्भिक र अवैज्ञानिक’ भनियो । फट्यार्इँ त्यहीँबाट सुरु भयो ।
२०१८ सालको जनगणना गर्दा गुञ्जी, कुटी र नाभी नामका गाउँहरूमा बस्ती थिए । मेरा मान्छेहरू गएर ती बस्तीमा गएर जनगणना गराएका हुन् । ती बस्तीमा चिसो हुने र हिउँपर्ने भएकोले अहिले पनि ६ महिना त्यहाँ बस्छन् र ६ महिना तल बस्छन् । हाम्रो जनगणना जेठ र असारमा भएको हुनाले जनता उहीँ थिए । हामीले जनगणना गराएका थियौं ।
अहिलेको पुस्ताले सोध्छन्, कसरी गराउनुभयो त्यस्तो ठाउँमा जनगणना ? त्यत्तिबेला हिन्दुस्तानी त थिएनन्, सीमा रक्षा प्रहरी पनि थिएनन्, हिन्दुस्तानी फौज पनि थिएनन् । हिन्दुस्तानी बाँदर पनि थिएन, हिन्दुस्तानी ढेडु पनि थिएन, हिन्दुस्तानी चरो पनि थिएन, हिन्दुस्तानी मुसो पनि थिएन । त्यसो भएकोले जनगणना गर्न कुनै समस्या भएन । जनगणना गराइयो ।
हिन्दुस्तानी सेना कसरी कालापानीमा बसे त ? चीनसँग सन् १९६२ मा भारतको लडाइँ भयो । लडाइँमा हिन्दुस्तान हा¥यो । पछि पछि सर्दै गए । त्यत्तिबेला हिन्दुस्तान हिन्दीमा भन्थ्यो, “हमारी सिपाहीँ बहादुरीका साथ पिछे हट गए ।” पछि सर्दै गएर कालापानीमा खाली ठाउँ देखे, त्यहीँ बसे । त्यत्तिबेला त्यो ठाउँमा यदि हाम्रो राज्य अथवा सीमा प्रशासक वा सुरक्षाकर्मीको उपस्थिति हुन्थ्यो भने भारतीयहरू राति बास बस्थे, भोलि बिहान हिंड्थे । हाम्रो उपस्थिति थिएन । हामीले वास्ता गरेनौँ । राजा महेन्द्रले हिन्दुस्तानलाई त्यो भूमि दिएको रे भन्ने भनाइ पनि छ । तर कुनै प्रमाण छैन । महेन्द्रले दिएको भए हिन्दुस्तानले पक्कै पनि देखाउने थियो । उनीहरूको प्रमाण बलियो हुन्थ्यो ।
अहिलेको राज्यले सुदुरपश्चिम क्षेत्र, विशेष गरी दार्चुलाका जनतालाई हेँला गरेको छ । भएको पैदल बाटो पनि पहिरोले भत्कायो । माथि चिसो भएर तल झर्ने नेपालीलाई यात्राको लागि हिन्दुस्तानको अनुमति चाहिन्छ । हिन्दुस्तानले यात्रा अनुमति दिंदैन । त्यहाँका नेपाली आधा मरेर बाँचेका छन् । तल आउने नेपालतिर बाटो छैन । बाटो सरकारले हेर्दैन । चिसोले मान्छे मरिरहेका छन् । हाम्रो सरकारले मालपोत मात्र उठाउने काम गर्छ । सेवा गर्ने होइन ।
विसं १९९७ सम्म त्यहाँका बासिन्दाले नेपाललाई तिरो तिरेको प्रमाण हामीसँग छ–नेपालको मालपोत कार्यालयमा । १८१६ मा सुगौली सन्धि भएको केही समयपछि त्यहाँका जमिनदारहरूले ‘हामी हिन्दुस्तानमै बस्न पाउँ’ भनेर इस्ट इन्डिया कम्पनी सरकारलाई निवेदन दिएको थियो । त्यसको जवाफमा कम्पनी सरकारले ‘सुगौली सन्धिपछि त्यो क्षेत्र नेपालको भयो । अब तिमीहरूले तिरो पनि उतै तिर्नुपर्छ’ भनी दिएको जवाफी पत्र पनि छ । त्यही अनुसार त्यहाँका जमिनदारहरूले तिरो तिरेको रसिद हामीसँग छ । हामीसँग यस्ता धेरै प्रमाण छन् । तर सरकारले प्रमाण खोज्दैन । सरकार आँखा चिम्लिन्छ । किन हो अहिले पनि सरकारले खुट्टा कमाइरहेको छ । हिन्दुस्तानले गएको कार्तिक १५ गते सरकारले निकाल्यो । हाम्रो सरकारले नक्सा निकालेको छैन ।
हामीले ‘सीमा बचाऊ अभियान’ भनेर सुरु गरेका छौं । १०१ वर्षका राष्ट्रकवि माधव घिमिरे, ९६ वर्षका गौरीशंकर राम दास, ९३ वर्षका हिमालय श्रेष्ठ, केदारभक्त माथेमा, ज्ञानमणि नेपाल, सुशिला कार्कीलगायतका व्यक्तित्वहरू यो अभियानमा जोडिनुभएको छ । तर, नेपाल सरकारलाई नेपालको चुच्चे नक्सा निकाल्न लगाउन सकेनौं । अध्येताहरू त्रिविका प्राध्यापक नरेन्द्रराज खनाल, शेरबहादुर गुरुङलगायतले बनाएको नक्सा हामीले सरकारलाई हस्तान्तरण ग¥यौं । तर, सरकारको कानमा हावा लागेको छैन । जति गर्दा पनि सरकार व्युँझेको छैन । हामीले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई पनि भेट्यौं । तर, ङाङ्गङाङ्गमात्र गर्नुहुन्छ । जवाफ दिनुहुन्न । हाम्रो नक्सा निकाल्न किन डराए ? कुन शक्तिले हाम्रो नक्सा निकाल्न रोक्यो ? यो शक्तिको कारण रोकियो पनि भन्दैनन् । आफ्नो जग्गा आफ्नो भन्दैन ।
भारत र बङ्गलादेशबीच पनि सीमा विवाद थियो । त्यो समस्या समाधान गर्न पनि धेरै वर्ष लाग्यो । एक लाख ३७ हजार २ सय ८० रोपनी बङ्गलादेशको जग्गा भारतमा परेको रहेछ । ५६ हजार ८ सय रोपनी भारतको जमिन बङ्गलादेशमा परेको रहेछ । ५१ हजार जनता यताको कि उताको भन्ने अन्योल भएको रहेछ । उनीहरूले रासन कार्ड पनि नपाउने, बत्ती र ग्यास पनि पाएका रहेनछन् । अलिकति भारतले छोड्यो, अलिकति बङ्गलादेशले छोड्यो, समस्या समाधान भयो । हिन्दुस्तानले चाहँदा एक दुई वर्षअघि मात्र बङ्गलादेशसँग सिमाना सम्झौता भयो ।
त्यस्तै नाइजेरिया र क्यामरुन दक्षिण–पश्चिम अफ्रिकामा छन् । नाइजेरिया ठूलो र क्यामरुन सानो देश । नाइजेरियाले क्यामरुनको विकासन भन्ने प्रायःद्विप कब्जा गरेको रहेछ । विकासन तेलको खानी रहेछ । क्यामरुनले विकासन प्रायःद्विप नाइजेरियासित फिर्ता माग्यो । तर, नाइजेरियाले दिएनछ । क्यामरुनले हेगको अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर ग¥यो –सन् १९९४ मा । सन् २००३ मा क्यामरुनले मुद्दा जित्यो । मुद्दा जितेर पनि त्यो भूमि छोडेन । पछि संरा सङ्घका तात्कालीन महासचिव कोफी अन्नानको मध्यस्थतामा दुवै देशका राष्ट्रपतिसहित सहमति भयो । विकासन प्रायःद्विप अहिले क्यामरुनको भएको छ । त्यसैले हामीले हाम्रो सरकारलाई मुखले भन्दा नमाने अन्तर्राष्ट्रिय अदालतमा जानुपर्ने पनि बताएका छौं ।
यतिबेला सबै कवि कलाकारको ध्यान मुलुक जोगाउनेतिर जानुप¥यो । अहिले गुलाफ र गुराँसको फूल कति राम्रो भनेर लेख्ने बेला छैन । अहिलेको प्राथमिकता लिम्पियाधुरा क्षेत्र हो ।
लिपुलेक र कालापानी मात्र भनेर पुग्दैन, लिम्पियाधुरा भन्नुपर्छ । कालापानी र लिपुलेक मात्र भन्दा हाम्रो धेरै जग्गा जान्छ । नयाँ पुस्तालाई यो कुरा भन्नुपर्छ । हामीले नालापानी मागेका छैनौं, कालापानी मागेका छौं । हिजो भारतीय सेना जसरी सुरुक्क आएर बसेको थियो, अहिले खुरुक्क फर्किनुपर्छ । त्यसो भए पछि समस्या नै रहँदैन । भारतका प्रधानमन्त्री मोदी नेपालमा आएर अनेक उपदेश दिनुहुन्छ । ‘पानी र जवानी कहिल्यै फर्किंदैन’ भनेर उपदेश दिनुभयो । उहाँ मुक्तिनाथको भक्त हुनुहुन्छ । मुक्तिनाथलाई श्रीखण्ड पनि चढाउनुभयो । हाम्रो माटो मात्र नमिचे पुग्छ, श्रीखण्ड हामी आफैं बनाउँछौं । हाम्रो माटो श्रीखण्डभन्दा प्यारो छ ।
सरकारको कुराले अप्ठ्यारो पार्छ । प्रधानमन्त्री पो बिरामी हुनुहुन्छ । सरकार त बिरामी हुनुभएन नि । कूटनीतिको कुरा भएको सन् १९८१ बाट भयो । ३८ वर्षभन्दा बढी भयो । कूटनीतिक बाटोले टुङ्गिएन । योबीचमा नेपालमा १६ जना प्रधानमन्त्री भए, भारतमा दसजना प्रधानमन्त्री बने । तर, समस्या समाधान भएन ।
चीनसँगको सिमाना सम्झौतामा गौरीशंकर हिमालको गौरी एकातिर, शंकर एकातिर प¥यो । गौरी चीनमा परेछ, शंकर नेपालमा परेछ । नेपालमा यो हाम्रो भावनासँग जोडिएको कुरा भनी चीनसँग कुरा राख्दा दुवै नेपालतिर पारिदिएछन् ।
रसुवाको लाङतान उपत्यका पनि आधा नेपालमा परेछ, आधा चीनमा परेछ । चीनले त्यो क्षेत्र पनि नेपाललाई नै छोडिदिएछ । ठूलो मुलुकको ठूलो मन भनेको त्यही हो ।
भारतसँग कोशी सम्झौता हुँदा ९९ सय वर्षको लागि भएकोमा नेपाललाई झुक्याएर १९९ वर्षको लागि सम्झौता गरिएछ । हिन्दुस्तान मुलुक ठूलो, दिल सानो छ । पशुपतिनगरको फाटकमा आधा रोपनीमा झगडा छ । मान्छे ठूलो हुँदैमा मन ठूलो हुँदो रहनेछ, देश ठूलो हुँदैमा मन ठूलो हुँदो रहेनछ । हामी सानो देश, मन ठूलो । हिन्दुस्तान देश ठूलो, मन सानो ।
(मंसिर २६ गते कीर्तिपुरको पाङ्गा लाछीमा आयोजित छैटौं जनसाहित्य गोष्ठीमा वरिष्ठ पत्रकार रिसालले व्यक्त गर्नुभएको मन्तव्यको सार सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *