भर्खरै :

सिन्धुपाल्चोक अर्को सडक दुर्घटना, १५ जनाको दुःखद निधन

मेलम्ची, २९ मंसिर । दोलखाको कालीञ्चोक तीर्थयात्रा गएर फर्केको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ । लामोसाँघु जिरी सडकखण्डको ६ किलोनजिकै आइतबार बिहान साढे ७ बजे बस सडकबाट १५० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा दोलखाको भिमेश्वर नगरपालिका–९ की वर्ष ४२ की लक्ष्मी श्रेष्ठ, रामेछाप उमाकुण्ड गाउँपालिका–४ प्रितिका वर्ष २४ का महेश तामाङ, काभ्रे बेथानचोक–५ का ३५ वर्षीय रामशरण खत्री र उहाँकी श्रीमती वर्ष ३५ की मैया खत्री, लिसंखुपाखर गाउँपालिका–४ की वर्ष ५३ की गङ्गामाया लामा, जुगल गाउँपालिका–७ याङलकोटकी वर्ष सात की सबना तामाङ, सोही ठाउँकी वर्ष ३० की रेश्मा तामाङ, १५ महिनाकी रोशनी तामाङ, वर्ष २८ की मञ्जु तामाङ, सुकबहादुर तामाङ, बलेफी गाउँपालिका–५ चिम्लिङ की ३७ वर्षीया फुलमाया तामाङ र दोलखा शैलुङश्वरी गाउँपालिका फस्कुका १० वर्षीया रञ्जित बस्नेतको सनाखत भएको छ ।
बाँकी मृतकको भने सनाखत हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो । दुर्घटनामा घाइते चारको काभ्रेको धुलिखेल र १४ घाइतेको ह्याम्स अस्पताल काठमाडौँमा उपचार भइरहेको छ । स्थानीय सिन्धु सदावहार अस्पतालमा प्राथमिक उपचार गरेपछि गम्भीर घाइते सबैलाई अन्यत्र सिफारिस गरिएको अस्पतालले जानकारी दिएको हो ।
दुर्घटनामा १३ यात्रुको घटनास्थलमा नै मृत्यु भएको थियो भने एक जनाको उपचारका क्रममा सिन्धु सदाबहार अस्पताल खाडिचौरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । भक्तपुरको च्यामासिंह क्षेत्रमा सञ्चालन हुने बा २ ख ४४६८ नंको बस दुर्घटनामा भएको थियो ।
लामोसाँघु जिरी सडकखण्डको ६ किलोको घुम्तीबाट तल बस खसेको सुनकोशी गाउँपालिका–६ का वडाध्यक्ष रामकुमार थापाले जानकारी दिनुभयो । घाइते दीपक तामाङका अनुसार बसको सिटभर यात्रु थिएनन् । ब्रेक फेल भएर दुर्घटना भएको घाइते तामाङले जानकारी दिनुभयो ।
दुर्घटनामा १७ यात्रु घाइते भएका छन् । घाइतेहरूको सिन्धु सदाबहार अस्पताल र गम्भीर घाइतेहरूलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । शनिबार भक्तपुरबाट रिजर्भ गएको बस बेलुकी कालीञ्चोक नजिकै कुरीमा बास बसेर बिहान आएको घाइतेहरूले जानकारी दिएका छन् ।
यात्रुहरू अधिकांश भक्तपुरको आदर्शमा डेरा गरी काम गर्ने मजदुरहरू भएको बताइएको छ । महिनादिन अघि मात्र सिन्धुपाल्चोककै सुनकोशीमा गाडी खस्दा गम्भीर दुर्घटना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *