भर्खरै :

खेलाडीको पदकलाई शैक्षिक उपाधिसँग मिलान गर्नुपर्ने

काठमाडौँ, २९ मंसिर । “खेलाडीको पदकलाई शैक्षिक उपाधीसँग मिलान गर्नु आवश्यक छ । यसले खेलाडीलाई खेलकुदप्रति समर्पित हुन मद्दत गर्छ ।”
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा खेलकुद विकास विधेयकमाथिको छलफलमा आइतबार उक्त भनाइ राख्नुभएको हो ।
उहाँले थप्नुभयो, “विद्यालय र कलेजको पाठ्यक्रममा खेलकुदसम्बन्धी विषय अनिवार्य गर्नुपर्दछ । यसले खेलकुदको विकासमा थप मद्दत पु¥याउनेछ ।”
साग, एसियाली र ओलम्पिक प्रतियोगितामा सहभागी भएकालाई अन्तर्राष्ट्रिय खेलाडी र राष्ट्रिय प्रतियोगितामा सहभागी भएकालाई राष्ट्रिय खेलाडीको परिचय दिनुपर्नेमा जोड दिँदै सांसद सुवालले विधेयकमै नेपालको राष्ट्रिय खेलको नाम किटान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सांसद सुवालले खेलाडीहरूलाई देशको सार्वभौमिकताप्रति समर्पित बनाउनुपर्नेमा जोड दिँदै संविधानमा नेपालको क्षेत्रफल उल्लेख नगरिएको हुँदा भारतले नेपालको भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेत अतिक्रमण गरी नयाँ नक्सा जारीतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले स्पष्टसँग राख्नुभयो, “सवारी साधन र मानिसको घुइँचो लाग्ने सहरको बीचमा परेको दशरथ रङ्गशालालाई अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितास्थल बनाउनु अब उपयुक्त हुनेछैन । यसकारण अन्तर्राष्ट्रियस्तरको रङ्गशाला काठमाडौँ उपत्यका बाहिर मकवानपुर वा बारा वा पर्सामा निर्माण गर्नु उपयुक्त हुनेछ । यसले जनता पनि खुसी हुनेछन् ।”
सांसद सुवालले सागमा सरकारको व्यवस्थापन कमजोर भएको, प्राविधिक र स्वयम्सेवकमा एउटै व्यक्तिको नाम दोहोरिएको, स्वयम्सेवकमा खेलसम्बन्धी जानकारभन्दा पनि सरकारले आफ्नो मान्छेलाई राखिएको, खेलकुदस्थलको पूर्वाधार तयार नभएको, खेलाडीको खाना गुणस्तरीय नभएको आदि जनगुनासोतर्फ बैठकमा सहभागी युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माको ध्यानाकर्षण गराउनुभयो ।
मन्त्री विश्वकर्माले प्राविधिक र स्वयम्सेवक नदोहोरिएको, आफ्ना मान्छे स्वयम्सेवकमा नराखेको स्पष्टीकरण दिँदै उद्घाटनको समय नजिकिँदासमेत पूर्वाधार निर्माणमा लाग्नुपरेको बताउनुभयो ।
“१३ औँ सागको लागि ५० लाख रूपैयाँमात्र बजेट विनियोजन भएको थियो । पछि अर्थमन्त्रालयको सहमति प्राप्त गरी हतारमा पूर्वाधार तयार गर्नुपरेको हो” – मन्त्री विश्वकर्माले थप्नुभयो ।
मन्त्री विश्वकर्माले डेढ वर्षअघि सम्पन्न १८ औँ एसियाली खेलकुद प्रतियोगितादेखि नै सागको लागि खेलाडी छनोट सुरू गरेको उल्लेख गर्दै गुणस्तरको आधारमा खेलाडी छनोट गरेको स्पष्टीकरण दिनुभयो ।
समितिका सभापति जयपुरी घर्तीले साग अगाडि नै नेपाल ओलम्पिक समितिका अध्यक्ष तथा समितिका सदस्य सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा उपसमिति गठन गरी सागको तयारीबारे अनुगमन गरेको उल्लेख गर्नुभयो ।
छलफलमा सांसदहरू खगराज अधिकारी, विनाकुमारी श्रेष्ठलगायतले विधेयकबारे आ–आफ्नो विचार राख्नुभएको थियो ।
युवा तथा खेलकुद मन्त्रालयका सचिवले नेपालको राष्ट्रिय खेल भलिबल भनी विधेयकमा उल्लेख गर्नु उपयुक्त हुने विचार व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *