भर्खरै :

सम्पदा क्षेत्रमा ‘खनजोत’ रोक

काभ्रे, २९ मंसिर । जिल्ला प्रशासन कार्यालयले पाँचखाल नगर क्षेत्रमा भेटिएका सम्पदा क्षेत्रमा ‘खनजोत’ गर्न रोक लगाएको छ । पुरातत्व विभागको परिपत्रअनुसार स्थानीय प्रशासन कार्यालयले आइतबार सम्पदा क्षेत्रमा ‘खनजोत’ नगर्न र गर्नुपरे विभागको स्वीकृति तथा सहमति गराउन पाँचखाल नगरपालिकालाई पत्रमार्फत जानकारी गराएको हो ।
विभागले आर्थिक वर्ष २०७५/७६ मा वडा नं ७ श्रीरामपाटीस्थित मालटार, रानीपोखरी, सिमालीघारी क्षेत्रमा उत्खनन् गर्दा जमिनको सतहमुनि पुरातात्विक संरचना फेला परेकोले उक्त क्षेत्रमा खनजोत गर्न रोक लगाएको हो । खोज तथा अनुसन्धानको क्रममा नगर क्षेत्रमा भेटिएका सम्पदा सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको गत कार्तिकमा पुष्टि भएको थियो । गत जेठमा नगरपालिकाको श्रीरामपाटीस्थित खेतमा उत्खनन्को क्रममा भेटिएका सामग्री लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको प्रतिवेदन पुरातत्व विभागले तयार पारेको हो ।
उत्खनन्मा सहभागी पुरातत्व विभागका अधिकृत विष्णुप्रसाद पाठक र वरिष्ठ पुरातत्वविद् उद्धव आचार्यद्वारा तयार प्रतिवेदनमा साविक होक्से गाविस–२ माल्टारमा अवस्थित विभिन्न व्यक्तिका खेतमा भेटिएका प्राचीन दरबारको गारो, २२ सेन्टिमिटर चौडाइ भएको इँट्टालगायतका सामग्री लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको उल्लेख गरिएको छ । वरिष्ठ पुरातत्वविद् आचार्यले उत्खनन्का क्रममा भेटिएका अन्य आकारका इँट्टा र अँगारको थप अनुसन्धान गर्न बाँकी रहेको बताउनुभयो ।
आचार्यका अनुसार श्रीरामपाटीमा तीन मिटर लम्बाइ र दुई मिटर चौडाइ उत्खनन् गर्दा पक्की इँट्टाको गारोभित्र माटाको डुँडद्वारा पानी पाइपलाइन भेटिएको थियो ।
श्रीरामपाटीमा लिच्छवीकालीन् संरचनाको भग्नावशेष तथा सामग्री रहेको र उत्खनन् गर्न स्थानीयले नै माग गरेपछि जेठ महिनामा पुरातत्व विभागको एक टोलीले करीब दुई साता उक्त स्थानको सम्पदा अध्ययन एवम् उत्खनन् गरेको थियो । पुरानो दरबार क्षेत्र रहेको भनिएको स्थानमा २४ इन्चको ढुङ्गाको गारो कोठा कोठा तथा बाहिरी भागमा पर्खाल रहेको संरचना, माटाका भाँडाका टुक्रा, मसला पिँध्ने ढुङ्गाको खल, शिव लिङ्ग, ढुङ्गेधारा, रानीपोखरी भनिएको स्थानमा जमीनमुनि पाको माटोको डुँडबाट पानी ल्याउन बनाइएको पाइप तथा केही चौडा आकारका इँट्टा भेटिएका थिए ।
स्थानीय बुढापाकाले श्रीरामाटी क्षेत्रमा मानदेवको दरबार, रानीपोखरी, रानीपानीको कुवा, ढुङ्गेधारा र रानीपोखरी क्षेत्र करीब १२ रोपनीमा फैलिएको, खेतबारी खनजोत गर्ने क्रममा सयौँ वर्ष पुराना केही इँट्टा र सिक्का (मानाङ्क), घरको जग, भाँडाका टुक्रा फेला परेकोबारे बताउँदै आएपछि पुरातत्व विभागले उक्त स्थानमा खोज अनुसन्धान गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *