भर्खरै :

बागीश्वरी माविको ६१ औं र बागीश्वरी कलेजको १२ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

भक्तपुर, ३० मंसिर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले बागीश्वरी माध्यमिक विद्यालयको ६१ औं र बागीश्वरी कलेजको १२ औं वार्षिकोत्सव कार्यक्रमको सोमबार विद्यालय प्राङ्गणमा उद्घाटन गर्नुभयो ।
उद्घाटन मन्तव्य प्रस्तुत गर्नुहुँदै अध्यक्ष बिजुक्छेँले नयाँ पुस्ताका विद्यार्थीहरूमा राजनीतिप्रति वितृष्णा पैदा हुँदा देश कमजोर हुने बताउनुभयो । निर्वाचनको समयमा पैसा दिएर मतदान गर्नु देश हार्नु वा कमजोर बन्नु नै हो भन्नुहुँदै उहाँले शासक दलका पार्टीहरूले पैसाको माध्यमबाट चुनाव जित्ने गलत कार्य निन्दनीय भएको बताउनुभयो ।
विरोधी पक्षसँग संघर्ष र प्रतिरक्षाको निम्ति खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने बताउनुहुँदै अध्यक्ष बिजुक्छेँले विद्यालयहरूले विद्यार्थीको शैक्षिक क्षेत्र र खेलकुद गतिविधिलाई सँगसँगै अगाडि बढाउन आवश्यक भएको बताउनुभयो ।
प्रजग कोरियाविरुद्ध नेपाल सरकार जानु भनेको अहिलेको सरकारमा अमेरिकी प्रतिनिधि (एजेन्ट) को घुसपैठ हुनसक्ने आशंका व्यक्त गर्नुहुँदै नेता बिजुक्छेँले सरकारको उक्त कार्य निन्दनीय र गलत भएको बताउनुभयो । फासीवादको विषयमा विद्यार्थीहरुलाई सचेत गर्नु आवश्यक छ – उहाँले भन्नुभयो ।
नेमकिपाका संघीय सांसद प्रेम सुवालले सरकार निजी विद्यालय सञ्चालकको प्रभावमा परेको र शैक्षिक माफियाको चंगुलमा फस्दै गइरहेको आरोप लगाउनुभयो ।
नेपालको संविधानमा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने प्रावधान हुँदा पनि सरकारले यसतर्फ ध्यान नपु¥याएको बताउनुहुँदै सांसद सुवालले प्रदेश नं। ३ को नमुना विद्यालय बन्न सफल बनेकोमा बधाई दिनुहुँदै भन्नुभयो – ‘सरकारले सामुदायिक शिक्षा नीतिमा रुचि देखाइरहेको छैन, निजीकरण र व्यापारीकरणकै पक्ष लिएको देखिन्छ ।’
भक्तपुर नपाका प्रमुख एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले कलेज व्यवस्थापन समितिले कलेजको आर्थिक, भौतिक र शैक्षिक गुणस्तर वृद्धि गर्न निरन्तर लागि परेको बताउनुहुँदै खोज र अनुसन्धानमा आधारित शिक्षामा जोड दिनु आजको आवश्यकता भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले आर्थिक रुपमा कमजोर विद्यार्थीहरूको लागि शैक्षिक ऋण प्रदान गर्दै आइरहेको र भूगोल, इतिहास, संस्कृतिलगायतका विषयमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था पनि गर्दै आएको बताउनुभयो ।
नेमकिपाका तर्फबाट प्रदेश नं। ३ का सांसद सुरेन्द्रराज गोसाइँले विद्यार्थी, शिक्षक, कर्मचारी र अभिभावकबीचको समन्वय र सहकार्यमा यथोचित ध्यान पु¥याउन आवश्यक भएको बताउनुहुँदै राजनीतिक रुपमा असचेत जनशक्ति देशको लागि घातक हुने बताउनुभयो ।
अर्का प्रदेश सांसद सृजना सैंजुले सरकारले सामुदायिक शिक्षा नीतिमा रुचि नदेखाउँदा निजी विद्यालय तथा कलेज सञ्चालकहरूलाई फाइदा पुगिरहेको बताउनुहुँदै समुदायमा आधारित बागीश्वरी माविले युग सुहाउँदो शिक्षा प्रदान गर्दै आइरहेको चर्चा गर्नुभयो ।
बागीश्वरी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नपा वडा नं। ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले समुदायमा आधारित विद्यालयले देशभरिका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै बागीश्वरीलाई देशकै नमुना सामुदायिक विद्यालय बन्न सहयोगी भूमिका खेल्ने सम्पूर्णलाई धन्यवादज्ञापन गर्नुभयो ।
कार्यक्रममा प्रधानाध्यापकद्वय कृष्णप्रसाद धन्छा र धनकुमार श्रेष्ठले बागीश्वरी माविक र बागीश्वरी कलेजको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
प्रमुख अतिथि बिजुक्छेँले २०७६ सालमा दीर्घसेवा पदकबाट विभूषित शिक्षकहरू कृष्णमान मलेपति, सुन्दर बासिजु, शिक्षिकाहरू मिना प्रजापति, शोभालक्ष्मी गोसाई र प्रमिला ढुंगानालाई दोसल्ला ओढाई सम्मान प्रदान प्रदान गर्नुभयो ।
कार्यक्रममा संयुक्त परीक्षा समिति तथा बासु माविका प्रअ अम्बिका न्याइच्याइ, सिद्धिबीर कर्माचार्य, विद्यालयका सहप्राचार्य ज्ञानसागर प्रजापति, विद्यार्थीको तर्फबाट निशा कोजु, कलेजको तर्फबाट विद्यार्थी राकेश साखकर्मी, पूर्व विद्यार्थी समाजकाका तर्फबाट सचिव विकल प्रजापतिले शुभकामना मन्तव्य प्रस्तुत गर्नुभयो । सोही समारोहमा विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथिहरूले कलेजका उत्कृष्ट विद्यार्थी, शिक्षक, कर्मचारी र वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेल तथा अतिरिक्त क्रियाकलापका विजयीहरूलाई पुरस्कार, मेडल तथा सम्मान पत्र प्रस्तुत गर्नुभयो ।
औपचारिक कार्यक्रमपश्चात विद्यार्थीहरुद्वारा सांस्कृतिक प्रदर्शनीहरु पनि प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *