भर्खरै :

शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आर्मी विजयी

काठमाडाँै, ३० मङ्सिर (रासस) : त्रिभुवन आर्मी क्लबले फ्रेण्ड्स क्लबलाई पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा विजयी शुरुआत गरेको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटलब सङ्घ) कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा आर्मीले फ्रेन्ड्स क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद शुरुआत गरेको हो ।
आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले एक/एक गोल गरेयता फ्रेन्ड्सको लागि भने शक्ति राईले एक सान्त्वना गोल फर्काए । नवयुगले खेलको तेस्रो मिनेटमै गोल गर्दै आर्मीलाई शुरुआती अग्रता दिलाए । उनले फ्रेण्ड्सको गोलरक्षक अगाडि बढेको अवस्थामा गोल गरेका थिए ।
खेलको ५०औँ मिनेटमा फ्रेण्ड्स क्लबका खेलाडी शक्तिले एक गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा ल्याए । त्यो एक एक गोलको बराबरी लामो समयसम्म टिक्न सकेन । खेलको ८१औँ मिनेटमा दिनेशले गोल गर्दै आर्मीलाई २–१ को जित दिलाए । भरत खवासले प्रहार गरेको कर्नर बल विमल पाण्डेको हेडरमा अनमार्क रहेका उनले वान टच गोल गरेका थिए । जितसँगै आर्मीले शीर्ष तीन अङ्क जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *