भर्खरै :

भारतमा मोदी फासीवादको नृशंस दमन; देशभर आन्दोलनको उभार

नयाँ दिल्ली, ३० मंसिर । भारतको माथिल्लो सदनबाट मंसिर २५ गते विवादास्पद नागरिकता ऐन संशोधन विधेयकको विरोधमा दिल्लीको जामिलया मिल्लया इस्मालिया क्याम्पसका विद्यार्थी तीन दिनदेखि लगातार विरोध प्रदर्शन गरिरहेका थिए । ‘संसारकै सबभन्दा ठूलो प्रजातन्त्रको देश भारत’ मा विभेदकारी विधेयकको विरोधमा प्रदर्शन गरिरहेका विद्यार्थीले आइतबारको रात र सोमबारको बिहान यति भयानक होला भनी कल्पना गरेका थिएनन् सायद । प्रष्टतः मुसलमान समुदायमाथि विभेद गरिएको विधेयकको विरोधमा भएको विद्यार्थीहरूको प्रदर्शनमा आइतबार दिउँसोबाट दिल्ली प्रहरीले गरेको दमन सोमबार बिहानसम्म लगातार चालू रह्यो ।
कम्तीमा पचास जना विद्यार्थीलाई पक्राउ गरिएको र सयौँ जना विद्यार्थी घाइते भएका थिए ।
शैक्षिक निकायमा अनुमतिबिना प्रहरीको प्रवेश गैरकानुनी हो । कानुन उल्लङ्घन गर्दै दिल्ली प्रहरी जामिया कलेजमा प्रवेशमात्र गरेनन् बरु क्याम्पसको पुस्तकालय र छात्रावासमा समेत प्रवेश गरी लाठीचार्ज र अश्रुग्यास प्रहार गरे । सयौँको सङ्ख्यामा छात्रछात्राहरू गम्भीर घाइते भए । विद्यार्थीहरू क्याम्पसका कक्षा कोठा, पुस्तकालय, छात्रावास, शौचालयमा रक्तपच्छे भएर लडिरहेका थिए । रक्ताम्य बनेका विद्यार्थीलाई पनि लाठीले निर्ममतापूर्वक पिट्न प्रहरीले छोडेका थिएनन् । प्रहरीले गोली हानेको घाइते तथा प्रत्यक्षदर्शी विद्यार्थीहरूको दाबी छ । विद्यार्थीको टाउको, आँखा फुट्नुका साथै हातखुट्टा भाँचिएको थियो । मुख फुटेको थियो । तर, प्रहरीले भने गोली नहानेको बताएको छ ।
प्रहरीले पुस्तकालय र क्याम्पसकै मस्जिदबाट घिसार्दै विद्यार्थीहरूमाथि निर्मम कुटपिट गरेको थियो । सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियोमा एक जना छात्रलाई जोगाउन छात्राहरूले प्रहरीको प्रतिकार गरेका थिए । छात्राहरूबीचमा रहेको छात्रलाई समेत प्रहरीले छिनेर निर्घात कुटपिट गरेको थियो ।

जामिया क्याम्पस छोड्दै विद्यार्थी


जामियाका उपकुलपति नाज्मा अख्तरले क्याम्पसभित्र पस्न प्रहरीले क्याम्पस प्रशासनसँग अनुमति नलिएको बताएकी छिन् । उनले विद्यार्थीमाथि अश्रुग्यासको प्रयोग गलत भएको बताइन् ।
जामिया इस्मालिया क्याम्पसका विद्यार्थीमाथि भएको निर्मम प्रहरी दमनको विरोधमा भारतका विभिन्न क्याम्पस र विश्वविद्यालयमा ऐक्यबद्धता प्रदर्शन गरेका छन् । राजनीतिक गतिविधिमा निकै सक्रिय मानिने जेएनयूका विद्यार्थीको प्रदर्शन रोक्न विश्वविद्यालय परिसरमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । मौलाना आजाद विश्वविद्यालयका विद्यार्थीहरूले पनि जामिया क्याम्पसमा भएको दमनको विरोधमा प्रदर्शन गरेका छन् । त्यस्तै मुम्बईको सामाजिक विज्ञान प्रतिष्ठानका विद्यार्थीहरूले क्रान्तिकारी सहिद रामप्रसाद विस्मिलको कविता ‘सरफरोसीकी तमन्ना’ गाउँदै मसाल जुलुस प्रदर्शन गरेका थिए । त्यस्तै प्रदर्शन भारतका पटना विश्वविद्यालय, जावेदपुर विश्वविद्यालय, अलिह विश्वविद्यालय, बनारस हिन्दू विश्वविद्यालय, पोन्डोचेरी विश्वविद्यालय, दरुल उलुम नदवतुल उल्मा क्याम्पसलगायतका प्रमुख शैक्षिक संस्थामा पनि भएको थियो । अलिगढ मुस्लिम विश्वविद्यालयमा भएको प्रदर्शनमा पनि प्रहरीले व्यापक दमन गरेको थियो ।
जामिया क्याम्पसमा भएको दमनको विरोधमा सोमबार बिहान नयाँ दिल्लीस्थित इन्डिया गेटमा आयोजित विरोध प्रदर्शनमा भारतीय काङ्ग्रेसकी महासचिव प्रियंका गान्धी पनि सहभागी बनेकी थिइन् । कोलकोत्तामा सोमबार मुख्यमन्त्री ममता बेनर्जीको नेतृत्वमा त्रिणमुल काङ्ग्रेसको
आयोजनामा नागरिक ऐनको विरोधमा विशाल प्रदर्शन भएको थियो ।
यसैबीच भारतको सर्वोच्च अदालतले बुधबार नागरिकता विधेयक संशोधन ऐनमाथिको सुनुवाइ गर्ने भएको छ । सो ऐनविरुद्ध अदालतमा हालसम्म कम्तीमा एक दर्जन रिट दायर भएको छ ।
ऐनको विरोधमा उत्तरपूर्वी भारतमा सुरु भएको आन्दोलन व्यापक बन्दैछ । विशेषतः आसामको गुवाहाटीमा ऐनविरुद्ध लगातार आन्दोलन भइरहेको छ । सरकारले दमनमा परी कम्तीमा ६ जना सर्वसाधारणले ज्यान गुमाइसकेका छन् । आइतबारको जामिया क्याम्पसको दमनले आन्दोलन जङ्गलको डढेलोजस्तै फैलिन मलिलो आधार बनाएको छ । मोदी सरकारले आन्दोलनरत विद्यार्थीमाथि गरेको अमानवीय दमनले भारतमा फासीवादी सत्ता अझ आक्रामक र दमनकारी बनेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *