भर्खरै :

भक्तपुर नगरपालिका ७० औँ वर्षमा

भक्तपुर, २ पुस । भक्तपुर नगरपालिका ७० औँ वर्षमा प्रवेश गरेको छ । भनपाको ७० औँ स्थापना दिवसको अवसरमा बुधबार मार्गनिर्देशन तथा पुरस्कार वितरण कार्यक्रम नगरपालिकाको सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले प्राचीन मौलिक शैलीमा घर निर्माण गर्न नगरवासीहरूलाई उत्साहित गर्नुपर्ने र भवन निर्माण आचारसंहिता लागू गर्न र गराउन इन्जिनियरहरू सजग हुनुपर्छ भन्नुभयो ।
अध्यक्ष रोहितले घर निर्माण र नक्सा पासबारे स्थानीयका गुनासोहरू सम्बोधनको निम्ति भक्तपुर नगरपालिकाले नक्सा पासको महत्वबारे जनतालाई सुसूचित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
अध्यक्ष रोहितले नगरपालिकाले मौलिक शैलीको नमुना घर बनाउनुपर्ने आवश्यकता औँल्याउँदै जनप्रतिनिधि र कर्मचारीहरूले बहुमत जनताको निःस्वार्थपूर्वक सेवा गर्नुपर्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “मेडिकल काउन्सिल र इन्जिनियरिङ काउन्सिलले निजी कलेज सञ्चालकहरूलाई पक्षपोषण गरिरहेको छ । नगरको पुरानो क्षेत्र, विद्यालय क्षेत्र र आवास क्षेत्रहरूमा ठूलठूला सवारीसाधन चलाउन नपाइने व्यवस्था गर्नुपर्छ ।”
नेमकिपाका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले स्थानीय तह स्वायत्त र विकेन्द्रित संस्था भएको चर्चा गर्दै सङ्घले प्रदेश र प्रदेश सरकारले स्थानीय तहमा हस्तक्षेप गर्न नहुने बताउनुभयो ।
सांसद सुवालले भन्नुभयो, “देशको सन्तुलित विकास नभएकै कारण गुठी जग्गा, खोला, पोखरी र सार्वजनिक जग्गाहरू अतिक्रमणमा परेको हो । प्रदूषण, फोहोर, दुर्घटना, खानेपानी समस्यालगायतका बेथिति पनि सन्तुलित विकास नहुँदाको परिणाम हो ।”
ख्वप विश्वविद्यालयको विधेयक पेश भएको चार वर्ष बित्दा पनि संसद्मा अगाडि नबढाएकोमा चिन्ता व्यक्त गर्दै उहाँले ख्वप विश्वविद्यालय स्वीकृति भएको भए कम पैसामा देशभरका विद्यार्थीलाई मेडिकल विषय पढाउन पाउने बताउनुभयो ।
उहाँले भन्नुभयो, “कर्मचारीहरू आर्थिक अनुशासनमा बस्नुपर्छ । विकासमा जनसहभागिता बढाउनुपर्छ र काम पारदर्शी हुनुपर्छ ।”
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनपा १ मा भाज्या पोखरी र सोही वडास्थित दशकौँ समयसम्म नेपाली सेनाको नियन्त्रणमा रहेको रानीपोखरी निर्माण तीव्रगतिमा भइरहेको अवगत गराउँदै सिद्धपोखरीको उत्तरतर्फको खेलमैदान पनि सेनासँगको सहमतिपछि तारबार लगाई नगरवासीहरूले उपयोग गरिरहेको जानकारी दिनुभयो ।
“नगरवासीहरूको खानेपानीको समस्यालाई ध्यानमा राखेर काठमाडौँ उपत्यका खानेपानी लिमिटेडसँग समन्वय गरी नगरका विभिन्न ठाउँमा डीप बोरिङको काम अगाडि बढिरहेको र आकासे पानी सड्ढलन गरी वितरणको तयारी भइरहेको छ”, उहाँले भन्नुभयो ।
भक्तपुर नगरपालिकाले समय सापेक्ष ढङ्गले नगरका हरेक वर्गलक्षित कार्यक्रम÷अर्थोपार्जन गर्न सकिने सचेतनाका कार्यक्रमहरूको आवश्यकताबारे औँल्याउँदै भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले कला र संस्कृतिको नगरलाई ज्ञान र प्रविधि विज्ञानको केन्द्रसहित सुसंस्कृत नगरमा रूपान्तरण गरी सभ्य समाज निर्माण गरी हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भक्तपुर नपा अन्य स्थानीय तहको लागि मार्गनिर्देशकको रूपमा अगाडि बढिरहेको उल्लेख गर्दै स्थानीय तह नमुनाको रूपमा विकास भइरहेको बताउनुभयो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले उपत्यकामा आत्महत्या, चोरी, आर्थिक ठगी, सडक दुर्घटना, यौन हिंसा, लागूऔषध दुव्र्यसनीलगायतका घटनाहरू सङ्ख्यात्मकरूपमा बढिरहेकोमा चिन्ता व्यक्त गर्दै भक्तपुरमा सम्भावित घटना न्युनीकरणको लागि नगरपालिकाको सीसीटीभी जडान कार्यले गलत प्रवृत्तिमा कमी आएको बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत दीपक कोइराला र नेपाल कर्मचारी एशोसिएसन एकाइ समिति भक्तपुरका अध्यक्ष गौतमप्रसाद लासिवाले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेँले नपाको वार्षिकोत्सवको अवसरमा आयोजित खेलकुद प्रतियोगिताका विजयी जनप्रतिनिधि र विशेष अतिथि प्रेम सुवालले विजयी कर्मचारी खेलाडीहरूलाई पुरस्कार वितरण गर्नुभयो ।
स्मरणीय छ, भक्तपुर नगरपालिका २००६ पुस २ गते स्थापना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *