भर्खरै :

संरा अमेरिकामा जातीय असमानता

 चाङ मेङशु (Zhang Mengxu)
संरा अमेरिकामा गरिएको एक अध्ययनअनुसार १० जनामा ४ जना अमेरिकी जनताले जातीय समानताका लागि संरा अमेरिकाले पर्याप्त प्रयास नगरेको बताएका छन् । अझ विशेषगरी काला जातिको समुदायमा बहुमतले संरा अमेरिकाले वास्तवमै जातीय समानता कायम गर्नका लागि काम गरिरहेकोमा विश्वास नभएको बताएका छन् । उक्त अध्ययन एक स्वतन्त्र अमेरिकी बौद्धिक संस्था प्यु रिसर्च सेन्टरले गरेको थियो र त्यसको प्रतिवेदन संरा अमेरिकामा जातीयता सन् २०१९ (Race in America 2019) का नाममा प्रकाशित गरिएको छ ।
संरा अमेरिकामा दासता उन्मूलन गर्ने अमेरिकी संविधानको ते¥हौँ संशोधन भएको १५० वर्षभन्दा पछि आजको अमेरिकी समाजमा पनि दासताको विरासतले निरन्तरता पाइरहेको र काला वर्णका अमेरिकीहरूको जीवनमा नकारात्मक असर परिरहेको अधिकांश अमेरिकी जनता स्वीकार्छन् । उक्त प्रतिवेदनअनुसार जातीय भेदभाव आवास, शिक्षा, फौजदारी न्याय प्रणाली र स्वास्थ्योपचारलगायत अमेरिकी समाजका धेरै क्षत्रमा आज पनि देख्न सकिन्छ । “दश जनामा चार जनाभन्दा बढीले जातीय समानताको पक्षमा राज्यले पर्याप्त प्रगति नगरेको बताउँछन् भने १० जनामा झण्डै ६ जना (५८ प्रतिशत) अमेरिकीहरू संरा अमेरिकामा जातीय सम्बन्ध÷सद्भाव खराब अवस्थामा रहेको बताउँछन् ।” – प्रतिवेदनमा उल्लेख छ ।
अध्ययनअनुसार अधिकांश अमेरिकीहरू (६५ प्रतिशत), जसमा काला वर्णका र आदिवासीहरू बहुमतमा पर्छन्, आफूहरू हालैका वर्षहरूमा जातीय विभेदको सिकार बन्नुपरेको बताउँछन् ।
त्यस्तै संरा अमेरिकाका काला वर्णका र अल्पसङ्ख्यक समूहकाले गोराहरूले भन्दा बढी आवासविहीनताको समस्या भोग्ने गरेका छन् र त्यसले आवासविहीन मानिसहरूको गैरसन्तुलित भाग उत्पन्न गर्ने गरेको छ – आवासविहीनता अन्त्यका लागि संरा अमेरिकी राष्ट्रिय गठबन्धन (एनएईएच) को यस वर्ष प्रकाशित एक प्रतिवेदनमा उल्लेख छ । एक स्वतन्त्र सङ्गठनका रूपमा रहेको एनएईएचले संरा अमेरिकामा आवासविहीनता आउन नदिन र अन्त्य गर्नका लागि काम गरिरहेको छ ।
“आवासविहीनताको सबैभन्दा असन्तुलित समस्या अफ्रिकी–अमेरिकी जनतामाझ देख्छौँ । देशको जनसङ्ख्याको १३ प्रतिशत मानिस आवासविहीन छन् भने अफ्रिकी अमेरिकी वर्णका ४० प्रतिशत जनता आवासविहीन छन् ।” – उक्त सङ्गठनको निष्कर्ष छ ।
कालो वर्णका परिवारहरू सबैभन्दा बढी गरिबीमा रहेका र सीमित आर्थिक अवसर भएका, कम सेवाहरू उपलब्ध र निकै कम शैक्षिक स्रोतहरू भएका क्षत्रमा बसोबास गर्ने गर्छन् । एनएईएचको प्रतिवेदनअनुसार ती आवासविहीन मानिसहरू आफूहरू घरविहीन हुनुभन्दा अगाडिदेखि नै उक्त क्षत्रमा बसोबास गर्ने गर्थे ।
तथ्याङ्कहरूले देखाउँछन् कि नजिकका राम्रा बस्तीमा बसाइँसराई गर्नमा पनि अफ्रिकी–अमेरिकी (कालो वर्णका) हरूले बढी तगाराहरूको सामना गर्ने गर्छन् । संरा अमेरिकी आवास तथा सहरी विकास विभागले गरेको एक अध्ययनअनुसार गोरा वर्णबाहेकका काला र मिश्रित वर्णका मानिसहरूलाई घर भाडामा नदिने, घर भाडा उच्च लिने र घर भाडामा दिन गोराहरूलाई भन्दा धेरै नै पटक अस्वीकार गर्ने गरिएको पाइएको छ ।
त्यस्तै सधैँ नै र सबैजसो ठाउँमा गोरा समुदायका बस्तीहरूमा सडकहरू राम्ररी निर्माण र सम्भार गरिएका, फोहोर मैला समयमै उठाइएका र ती समुदायमा सधैँ नै शिक्षाको स्तर उच्च र स्रोतसाधन सम्पन्न बनाइएका छन् । त्यसको ठीकविपरीत अफ्रिकी अमेरिकी मूलका र अरू अल्पसङ्ख्यक जातिहरू बढी बसोबास गर्ने क्षत्रमा घर र सडकहरू सधैँ खराब अवस्थामा हुन्छन् र अरू सार्वजनिक सेवाको अवस्था पनि राम्रो छैन । ती क्षत्रका विद्यालय, कलेज र अस्पतालहरूको अवस्था राम्रो छैन, मानौँ तिनलाई सरकारले बिर्सिनै दिएको होस् ।
सन् १९६० को दशकदेखि कुनै पनि क्षत्रमा जातीय भेदभावलाई उन्मूलन गरिसकेको बताइए पनि त्यसको छाया अमेरिकी समाजमा अद्यापि छँदैछ । सेन्ट लुइसस्थित वासिङ्टन विश्वविद्यालयको ब्राउन स्कूलले गरेको एक अध्ययनको प्रतिवेदनले संरा अमेरिकाका स्थानीय सरकारहरूले गैरगोरा समुदायको बस्तीका लागि मुस्किलले मात्र बजेट छुट्याउने गरेका र जातीय भेदभावपूर्ण क्रियाकलाप गर्ने गरेका उल्लेख गरेको छ ।
उदाहरणका लागि संरा अमेरिकाको राजधानी वासिङ्टन डिसीमा अफ्रिकी अमेरिकी र गोरा मानिसको सङ्ख्या कूल जनसङ्ख्याको क्रमशः ४८ र ४१ प्रतिशत छ । तर, अफ्रिकी–अमेरिकीहरू तुलनात्मकरूपमा धेरै नै गरिव दक्षिणपश्चिम वासिङ्टनमा सघनरूपले बसोबास गर्छन् र जहाँको ९० प्रतिशत जनता अफ्रिकी–अमेरिकीहरू छन् । त्यस्तै उत्तर पश्चिम वासिङ्टनमा भने तुलनात्मकरूपमा धनीहरूको बसोबास छ । त्यहाँ ८० प्रतिशभन्दा बढी बासिन्दा गोरो वर्णका छन् । वासिङ्टन डिसीको आवासीय क्षत्रफल १७६ वर्ग किलोमिटरमात्र छ तर जातीय भिन्नताकै आधारमा त्यहाँ दुई भिन्नै विश्व निर्माण गरिएका छन् ।
संरा अमेरिकी फेडरल रिजर्भ बैङ्क (केन्द्रीय बैङ्क) को हालैको एक सर्वेक्षणअनुसार गोरो वर्णका परिवारसित भएको सम्पत्तिको औसत मूल्य १,७१,००० डलर छ भने अफ्रिकी अमेरिकी (कालो) वर्णका परिवारसित भएको सम्पत्तिको औसत मूल्य १७,६०० डलरमात्र छ । तिनको भिन्नता झण्डै १० गुणा छ ।
अमेरिकी बौद्धिक सङ्गठनहरूका अनुसार संरा अमेरिकामा सम्पत्तिको भिन्नता जातीयताअनुसार रहेको छ । अफ्रिकी–अमेरिकी र हिस्पानिकहरूको गोराहरूको भन्दा आयस्तर निकै कम र बेरोजगारी दर निकै बढी छ । केही अनुसन्धानकर्ताका निष्कर्षअनुसार गोरा मानिसभन्दा काला र अल्पसङ्ख्यक जातीय समूहका मानिस व्यवसायमा सफल हुने दर निकै कम छ र जब तिनीहरू आफ्नो व्यवसायको अभिवृद्धिका लागि लाग्छन् तिनीहरूले निरन्तर भेदभावको अनुभव सङ्गाल्ने गर्छन् । संरा अमेरिकाका कानुन कार्यान्वयन विभागहरूमा परम्परागत जातीय विभेदले गहिरो गरी जरा गाडेको पाउँछौँ । त्यतिमात्र होइन कतिपय कानुन कार्यान्वयन अधिकारीहरू त यति पक्षपाती हुन्छन् कि तिनीहरूले काला र अल्पसङ्ख्यक जातिका मानिसहरूलाई अपराधीको जस्तो व्यवहार गर्ने गर्छन् ।
एक सार्वजनिक प्रतिवेदनअनुसार अमेरिकी राजमार्गहरूमा अफ्रिकी र हिस्पानिक चालकहरूलाई गस्तीमा रहने प्रहरी अधिकारीहरूले बढी रोक्ने गर्छन् । गोरा वर्णका चालकलाई भन्दा कालो वर्णका चालकलाई तीन गुणा बढीसम्म जाँच गर्ने गर्छन् ।
“संरा अमेरिकामा निकै थोरैमात्र अफ्रिकी–अमेरिकी होलान् जसलाई किनमेलका लागि डिपार्टमेन्टल स्टोर जाँदासमेत नपछ्याइएको होस् । ती पीडितमध्येमा म पनि एक हुँ ।” – पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा भन्छन् ।
काला जनताको प्रगतिका निम्ति राष्ट्रिय सङ्घ (US National Association for the advancement of colored people – NAACP) को सेन्ट लुइस सहर शाखाका अध्यक्ष एडोल्फ प्रुइटले पिपल्स डेलीलाई बताएअनुसार जब उनी काम विशेषले गोरा समुदायको बस्ती क्षत्रमा पुग्छन्, प्रहरीले प्रायः उनको पिछा गर्छ र ‘तिमी यहाँ किन ?’ भनी सोधपुछ गर्ने गर्छ ।
वासिङ्टन डिसीस्थित गैरसरकारी सङ्गठनले सञ्चालन गरेको फैसला प्रोजेक्टको प्रतिवेदनअनुसार जब काला वर्णका मानिस पक्राउमा पर्छन्, अदालतले गोरा मानिसलाई भन्दा तिनीहरूलाई अपराधी करार गर्ने दर धेरै बढी छ ।
सन् २०१६ मा अफ्रिकी अमेरिकी (काला) र हिस्पानिक अमेरिकीहरूको जनसङ्ख्या संरा अमेरिकाको कूल जनसङ्ख्याको २९ प्रतिशतमात्र थियो तर अमेरिकी जेलमा रहेका बन्दीमध्ये ५७ प्रतिशत अफ्रिकी–अमेरिकी र हिस्पानिकहरू थिए । उक्त प्रतिवेदनअनुसार अमेरिकी समाजले फौजदारी न्याय प्रणालीभित्र जातीय पक्षपात रहेको आपत्तिजनक स्थितिलाई बेवास्ता गरिबसेको छ । कयौँ काला मानिसहरू उनीहरूको कालो छालाका कारण गर्दै नगरेको अपराधका लागि जेल सजाय भोगिरहेका छन् । सन् १९८९ देखि अक्टोबर सन् २०१६ सम्मका यसैसँग सम्बन्धित केही मुद्दाहरूको विश्लेषण गर्दा संरा अमेरिकी राष्ट्रिय आममाफी रजिष्ट्री कार्यालयले धेरै अफ्रिकी–अमेरिकीहरूलाई गलत तवरले हत्या, बलात्कार र गैरकानुनी लागूपदार्थ ओसारपसारका गतिविधिहरूमा सजाय गरिएको निष्कर्ष निकालेको थियो । त्यसरी मुद्दा चलाइएका १,९०० अभियुक्तमध्ये ४७ प्रतिशत अभियुक्तहरूका विरुद्ध कुनै ठोस प्रमाण नै थिएन । गल्तीपूर्ण तवरले सजाय गरिएको भेटिएको थियो ।
सन् २०१९ अगस्टमा सेन्टर फर अमेरिकन प्रोग्रेसद्वारा जारी गरिएको ‘प्रणालीगत असमानता र आर्थिक अवसर’ शीर्षक प्रतिवेदनले ‘संरा अमेरिकी अर्थतन्त्र शोषण र काला जातिका जनतामाथिको पेशागत विभेदका आधारमा खडा गरिएको’ निष्कर्ष निकालेको छ ।
“धेरै सरकारी नीतिहरूले र संस्थागत अभ्यासहरूले यस्तो प्रणाली सिर्जनामा मद्दत पु¥याएको छ । दासता, जीम क्रो र नयाँ सम्झौताका प्रभावका साथसाथै सरकारको सीमित स्रोत विभाजन तथा भेदभावविरोधी संस्थाहरूको सीमित क्षत्र र निस्कृयता संरा अमेरिकामा असमानता वृद्धिका लागि सबैभन्दा ठूला योगदानकर्ता बनेका छन् ।” उक्त प्रतिवेदनले औँल्याएको छ ।
(Racial equality beyond reach of US_
– People’s Daily Online
December 09, 2019

अनुवाद ः प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *