“भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकताका साथ काम गरिरहेको छ”
- बैशाख ६, २०८३
सामना
हालै प्रकाशित ‘हजुरबुबाको चिट्ठी’ पुस्तकका लेखक प्रगतिशील साहित्यकार हरिबहादुर श्रेष्ठ हुनुहुन्छ । श्रेष्ठले यसभन्दा अघि नेपाली जनतालाई बौद्धिक खुराकको रुपमा साहित्यका विभिन्न विधाहरू पस्किसक्नुभएको छ । लेखक, लेखकमात्र नभई नेपाली कम्युनिस्ट राजनीतिज्ञ र एक कुशल कम्युनिस्ट विचारक हुनुहुन्छ । उहाँले आफ्नो साहित्यिक यात्राको क्रममा कविता, कथा, चिट्ठी, यात्रा संस्मरण, विभिन्न समयमा लेख, कार्यपत्र, टिप्पणीसङ्ग्रह, साहित्यसम्बन्धी लेखसङ्ग्रह, राजनीतिक एवम् सैद्धान्तिक लेख सङ्ग्रह, कथासङ्ग्रह, कवितासङ्ग्रहजस्ता थुप्रै विधाहरूमा कलम चलाउँदै आउनुभएको छ ।
उहाँले आफ्नो जीवनको सम्पूर्ण समय देश र जनताको निःस्वार्थ सेवामा व्यतित गर्दै आउनुभएको छ । यसभन्दा अघि पनि लेखकका ‘राजनीतिक कार्यकर्ता बन्ने भाइबहिनीलाई चिट्ठी’, ‘दुई चिट्ठी’, ‘जेलका चिट्ठी’ समेत प्रकाशित भइसकेका छन् । उहाँद्वारा चिट्ठीको रुपमा लिखित प्रस्तुत पुस्तक ‘हजुरबुबाको चिट्ठी’ मा लेखकले समय सन्दर्भसँग मेलखाने विषयवस्तुमा केन्द्रित भई नाति–नातिनाहरूको नाउँमा विभिन्न विषय समेट्दै ३० वटा पत्र लेख्नुभएको छ । नयाँ पुस्तालाई समाज र देश चिनाउने, परिवर्तनप्रति आशा जगाउने, जीवन–उद्देश्य छनोटमा सघाउने, कर्तव्यप्रति सचेत बनाउने र आफूले अध्ययनमार्फत व्यक्तित्व विकास गर्दै क्षमताको आधारमा निःस्वार्थरूपमा देश र जनताको सेवा गर्न उत्पे्ररित गराउने उद्देश्यले लेखिएकोले यो चिट्ठीमा प्रयोग भएको भाषाशैली सरल रहेको छ ।
चिट्ठीमार्फत विद्यार्थी, युवा, शिक्षक तथा अध्ययनमा रुचि राख्ने जो कोहीका लागि पनि यो पुस्तक लाभान्वित हुने देखिन्छ । वर्तमान समयमा मौलाउँदै गएको राजनीतिक, सामाजिक तथा सांस्कृतिक विकृति–विसङ्गतिको बाटोतर्फ जान रोक्दै नयाँ पुस्तालाई सही बाटोमा डो¥याउन पुस्तकले महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । तमाम विकृतिविरुद्ध जनता सचेत भई देशको सेवा गर्नुपर्ने र अन्यायविरुद्ध जुरुक्क उठ्दै जनता विद्रोही बन्नुपर्ने सन्देश यस चिट्ठीमार्फत लेखकले जनतालाई आह्वान गर्नुभएको छ ।
समसामयिक राजनीतिक विषयवस्तु समेटिएको हजुरबुबाको चिट्ठीमा लेखकले जनताको राजनीतिक चेतनास्तर उठाउने जमर्को गर्नुभएको छ । लेखकले प्रकाशन गरेका चिट्ठी २०७१ सालपछि ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकमा प्रकाशित भएको जानकारी पुस्तकको प्रकाशकीयमा उल्लेख गरिएको छ ।
आजको जस्तो जटिलताले जालो बुनिरहेको परिस्थितिमा समाजका नयाँ पिँढीलाई आफ्नो उद्देश्य निर्धारण गर्न ‘हजुरबुबाको चिट्ठी’ समय सान्दर्भिक रहेको छ । नेपाली युवा पिँढी आफ्नो जीवनको अमूल्य समय विदेशीको माटो उर्वर बनाउनमै लालायित देखिन्छन् । स्वदेशी भूमिमा कडा परिश्रम गर्दा पनि परिवारको जीविका चलाउन सकिन्छ भन्ने कुरामा ढुक्क छैनन् । बरु निकै तल्लो स्तरको काम गर्न नै भए पनि पछि नपर्ने नेपाली नागरिकले स्वदेशमै मेहनत गर्नुपर्ने शिक्षा हजुरबुबाको चिट्ठी अध्ययन गर्दा पाइन्छ । अरब देश र खाडी मुलुकमा आज ७० लाख नेपाली नागरिकले रगत पसिना चुहाइरहेका छन् । विदेशिएका नेपाली दाजुभाइका कस्तो विजोग अवस्था छ ? सोच्दामात्र मन कटक्क हुन्छ । छोटो समयमा धेरै कमाउने लालचमा परी घर–खेत बेची, साहुसँग ऋणसमेत लिएर विदेशमा जाने हाम्रा दाजुभाइ हरेक दिन बाकसमा बन्द भएर दैनिक ४–५ जनाको सङ्ख्यामा नेपाल भित्रिने सङ्ख्या बढ्दै छ । कतिको विदेशमा अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता छ भने कतिको त अङ्गभङ्ग भइरहेको कहालीलाग्दो अवस्था रहेको छ । विदेशी भूमिमा ठगिने, चोरिने, पिटिनेजस्ता थुप्रै समस्या भोग्नुपर्ने बाध्यता रहेको तस्विर लेखकले चिट्ठीमार्फत नेपाली जनतालाई पस्किनुभएको छ ।
अध्ययनको लागि विदेशिने नेपाली विद्यार्थीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । विदेशमा दुःख गरेर स्वदेशमा फर्केर बाबा, आमा, हजुरबुबा, हजुरआमाको र देश र जनताको सेवा गर्ने भावनाबाट कति विद्यार्थी विचलित भई उतै बस्ने गर्दा यता स्वदेशमा आमा, बुबा, हजुरबुबा, हजुरआमाको घाउमा मलमपट्टी लगाउने कोही नहुँदाको पीडा कल्पनासम्म गर्न सकिँदैन ।
देशको राजनीतिक व्यवस्था आम कामदार जनताको हितमा नहँुदा गरिब, पीडित जनता झनै प्रताडित हुनुपरेको विषय लेखकले चिट्ठीमा उल्लेख गर्दै भन्नुभएको छ, ‘सचेत युवा, विद्यार्थी र नयाँ पुस्ताले राजनीतिक सङ्घर्षमार्फत जनतालाई सचेत पार्ने अभियानमा निरन्तर लाग्नुपर्छ । देशको राजनीतिक व्यवस्था नै शोषणमा आधारित रहेसम्म परिश्रम गर्न चाहनेले स्वदेशमै काम पाउने छैनन् । त्यसैले जनताको विद्रोह आवश्यक ठान्नुहुन्छ लेखक । देशमा शोषण, अन्याय, अत्याचार, लुटपाटका घटना बढ्दै गएका छन् । जनता भोग, रोग र गरिबीको जाँतोमा पिल्सिनुपर्ने बाध्यता छ । आमा दिदीहरू बलात्कार, हत्या, हिंसाका शिकार बन्ने क्रम बढेको छ । समग्रमा देशमा अवसरवादी, विखण्डनकारी, शोषकहरूको हालीमुहाली बढिरहेको छ ।
देशको यस्तो कठीन परिस्थिति ल्याउनमा को को दोषी छन् ? देश र जनताको हितविपरीत काम गर्ने को–को छन् ? जनताको सेवामा खट्ने जनताको सेवक को को हुन् ? यिनलाई चिन्न सक्ने क्षमता नाति–नातिनाले विकास गर्नुपर्ने सुझाव लेखकको रहेको छ । समाजवादी व्यवस्था स्थापनाको लागि जनतामा जागरूकता आउन जरुरी हुन्छ । अध्ययनमा अब्बल नाति–नातिनाले मात्र देशको सेवा गर्नसक्ने विश्वास लेखकको रहेको छ ।
आम नेपाली बाबाआमा, हजुरबुबा, हजुरआमाको भावना समेट्दै देशको सेवा गर्नसक्ने नागरिक तयार गर्ने हजुरबुबाको मार्गनिर्देशक चिट्ठी हो । यस पुस्तकलाई मजदुर, किसानको बीचमा अध्ययनको लागि लिनसके अवश्य पनि अभिभावकले आफ्ना सन्तानको भविष्य कता जाँदै छ र सन्तानलाई कस्तो शिक्षा दिनुपर्छ भन्ने राम्रो बौद्धिक खुराक बन्ने कुरामा लेखक आशावादी देखिनुहुन्छ । त्यसैले हजुरबुबाको चिट्ठीको अध्ययनबाट आफ्नो मातृभुमिप्रति मोह जगाउने र विदेशीको नोकर र दलालीप्रति घृणा फैलाउन सफल यो पुस्तक नयाँ पुस्ताका लागि अझ बढी पठनीय रहेको छ ।
लेखक हरिबहादुर श्रेष्ठद्वारा लिखित ‘हजुरबुबाको चिट्ठी’ पुस्तक १३२ पृष्ठको रहेको छ । मूल्य रु.२००÷ पर्ने सो पुस्तकको प्रकाशक संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) रहेको छ ।
Leave a Reply