भर्खरै :

सन्दर्भ ः १४० औँ स्तालिन दिवस स्तालिन बन्न सजिलो छैन

काठमाडौँ, ४ पुस । “बाटोभरि मैले देखेका युनाइटेड फ्रुटका मौजाहरू देख्दा पुँजीवादी अक्टोपसहरू कति भयानक हुन्छन् भन्ने कुरा बुझ्न फेरि एउटा अवसर पाएँ । तत्क्षण चिर निद्रामा डुबेका बुढो स्तालिनको तस्वीरसामु मैले ती घिनलाग्दा पुँजीवादी अक्टोपसहरू निमिट्यान्न नहुँदासम्म थकान नमेट्ने कसम खाएँ ।” सोभियत सङ्घको मस्कोमा सोभियत नेता स्तालिनको निधन हुँदा अर्जेन्टिनाका क्रान्तिकारी चे ग्वेभारा ल्याटिन अमेरिकी देश ग्वाटेमालामा थिए । जोन ली एन्डरसनले लेखेको पुस्तक ‘चे ग्वेभाराः अ रिभोल्युसनरी लाइफ’ (१९९७) मा चेले आफ्नी काकी बिएटरिजलाई लेखेको चिट्ठीका वाक्य उद्धृत गर्दै यस्तो लेखिएको हो । चे ग्वेभारामात्र होइन, त्यत्तिबेला संसारका क्रान्तिकारीहरूका लागि स्तालिन ‘आदर्श व्यक्तित्व’ हुनुहुुन्थ्यो । आज पनि संसारका क्रान्तिकारीहरू स्तालिनलाई तेजिलो आभाका विराट व्यक्तित्वको रूपमा सम्मान गर्छन् ।
स्तालिनलाई पूर्वाग्रहको विषाक्त आँखाले बुझ्ने मानिसको संसारमा कमी छैन । स्तालिनलाई गाली गरेर कहिल्यै नथाक्ने र कम्युनिस्टको झन्डा बोकेर स्तालिनको बद्ख्वाई गर्नमा गौरव गर्नेहरूको पनि कुनै कमी छैन । तर, स्तालिनको जीवनलाई नजिकबाट हेर्ने जोकोहीले निकाल्ने एउटै निष्कर्ष हो– स्तालिन बन्न सजिलो छैन ।
स्तालिनको जन्म जर्जियाको अति विपन्न परिवारमा भएको थियो । सांस्कृतिक, सामाजिक र आर्थिकरूपमा त्यो सीमान्तमा जन्मेको मानिसले संसारकै शक्तिशाली देशको सर्वोच्च नेतृत्वमा पुगेर पृथ्वीको राजनीतिमा परिवर्तन गर्नु सहज काम थिएन । सुनको चम्चाले मिष्ठान्न भोजन ज्युनार गर्ने परिवारमा जन्मी राजनीति र शासनलाई जन्मजात ठान्ने परिवारको एक जना सदस्यको लागि त्यस्तो उचाइको कल्पना स्वाभाविक होला । तर, सधैँभरि अभाव र रोदनमा हुर्केको स्तालिनजस्तो मानिसको निम्ति त्यो अत्यन्त कष्टसाध्य र सम्झौताहीन सङ्घर्षकै परिणाम हुनसक्छ ।
स्तालिन तत्कालीन रूस र वरपरका देशमा भित्रभित्र सल्किरहेको विद्रोहचेत र क्रान्तिकारी चेतनाका उत्पादन हुनुहुन्थ्यो । ‘अक्टोबर क्रान्ति गर्न नै पृथ्वीमा स्तालिन जन्मिनुभएको’ जस्ता अवस्तुगत अतिरञ्जनाले उहाँबारे गलत निष्कर्षमा पु¥याउँछ जो उहाँकै सोचाइका आधारभूत मान्यता विपरीत छ । जारकालीन रूस र जारशाहीले कैद बनाएका वरपरका उपनिवेशमा शनै शनै फैलिरहेको जारशाहीको अत्याचारविरूद्धको विद्रोही चेतनाले नै वास्तवमा क्रान्तिकारी स्तालिनको गर्भाधान भएको थियो । क्रान्तिकारी परिस्थितिले नै क्रान्तिकारीहरूको जन्म हुने हो । क्रान्तिकारी परिस्थितिले नै स्तालिनहरूको जन्म हुने हो । निष्पट अँध्यारोबाट उज्यालोतिरको यात्राका सबै अनुभव बटुल्दै, लड्दै, उठ्दै अघि बढ्ने स्तालिन बन्न सजिलो थिएन ।
सोभियत सङ्घको सर्वोच्च पदमा बस्नुभएका स्तालिनलाई मात्र देख्ने कतिपय मानिस अक्टोबर क्रान्तिअघि रूसी मजदुरका गरिब बस्ती–बस्तीमा क्रान्तिको उज्यालो सल्काउँदै हिँड्नुभएका स्तालिनलाई देख्ने गर्दैनन् । क्रान्तिअघिका भूमिगत जीवनका आँधीबेहरीले घेरिएको स्तालिनको जीवनलाई उनीहरू संसारबाट लुकाउन खोज्छन् र स्तालिनलाई ‘जन्मजात शासक’को रूपमा देखाउने गल्ती गर्छन् । स्तालिन मजदुर वर्गका कार्यकर्ता हुनुहुन्थ्यो जसले श्रमिक जनताको अन्यायपूर्ण जीवन देख्नुभएको थियो, भोग्नुभएको थियो । शासक बनेर सुनको महलमा आसन जमाउने लक्ष्यले उहाँले क्रान्तिको बाटो हिँड्नुभएको थिएन । उहाँ मजदुर वर्गलाई अन्यायको सिक्रीबाट मुक्त पारी समाजवादी समाज निर्माणका ज्यामी हुनुहुन्थ्यो । समाजवादी समाजको स्थापना सिद्धान्तलाई आफ्नो स्वार्थअनुकूल तिलाञ्जली दिएर सम्भव थिएन । सिद्धान्तनिष्ठता नै समाजवादी आन्दोलनको सफलताको पूर्वसर्त हो । बिहान एउटा र बेलुकी अर्को सिद्धान्तको परिभाषा गरेर न समाजवादी समाज स्थापना सम्भव हुने थियो, न मजदुर वर्गको मुक्ति नै । स्तालिनले सोभियत समाजवादीहरूबीच पनि लगातार माक्र्सवाद र लेनिनवादको असल पहरेदारको रूपमा दरिलो भूमिका खेल्नुभयो । उहाँ एक जना कुशल सङ्ग्ठकको रूपमा जनताबीच पानीमा नुन घुलेजस्तै मिसिनुभयो । अक्टोबर क्रान्तिको सफलताको निम्ति स्तालिनले प्रकाशमा नआई भित्रबाट खेल्नुपर्ने भूमिका कुशलतापूर्वक निभाउनुभयो । प्रकाशमा आउनु नै क्रान्तिकारी बन्नु होइन । क्रान्तिको सफलताको लागि लाखौँ क्रान्तिकारीहरूले प्रकाशमा नआई भूमिका खेल्ने गर्छन् । अक्टोबर क्रान्तिताका स्तालिन त्यस्तै भूमिकामा रहनुभयो ।
अक्टोबर क्रान्ति केही दिनको विद्रोहमात्र थिएन । सन् १९१७ को अक्टोबर(नोभेम्बर) मा भएको विद्रोह त वास्तवमा वास्तविक क्रान्तिको
सुरूवात थियो । विद्रोहको सफलतापछि त्यसलाई जनताको चाहनाअनुसार अघि बढाउनु कम चुनौतीपूर्ण थिएन । सोभियत क्रान्ति पछि त्यसलाई सफलतापूर्वक समाजवादी राज्य बनाउने चुनौती सानो चुनौती थिएन । पेरिस कम्युनको ७२ दिनपछिको असफलतालाई औँल्याएर संसारका प्रतिक्रियावादीहरू सोभियत सत्तालाई गिज्याइरहेका थिए । अनि उनीहरूले दिन गन्ती थालेका थिए । लेनिनलाई एच. जी. वेल्सजस्ता संसारमा गनिएका विद्वानहरू ‘स्वप्नद्रष्टा’ को संज्ञा दिइरहेका थिए । ती सबै भनाइ, संशय, खतरा र आरोप चिरेर अर्को एउटा समाजवादी सत्तालाई सफलताको उचाइमा पु¥याउनु परेको थियो । लेनिनजत्तिकै स्तालिन यसको निम्ति जिम्मेवार हुुनुहुन्थ्यो । सोभियत सङ्घभित्रै मौलाइरहेका हजार ‘हरिया सर्प’बाट सोभियत समाजवादलाई जोगाउनुपर्ने त्यो अवस्थामा स्तालिन नै लेनिनको भरपर्दो मित्र हुनुहुन्थ्यो । लेनिनको तीक्ष्ण बौद्धिकतालाई व्यवहारमा रूपान्तरण गर्ने स्तालिनलाई त्यत्तिबेला स्तालिन बन्न पक्कै सहज थिएन ।
अक्टोबर क्रान्तिपछि लेनिन लामो समय बाँच्नुभएन । उहाँको निधनपछि अक्टोबर क्रान्तिलाई सही बाटोमा डो¥याउने र उचाइमा लाने जिम्मेवारी स्तालिनको काँधमा आइपुग्यो । लेनिनको नाम जपेर लेनिनवादलाई सिध्याउने ट्रोत्स्कीवादी अराजकतावादी र रातो झन्डा बोकेर माक्र्सवाद–लेनिनवादको प्राणहरण गर्ने संशोधनवादीहरूलाई स्तालिनको सिद्धान्तनिष्ठता मन परेन । फलतः उनीहरूले स्तालिनमाथि लगातार हमला गरे । स्तालिनमाथि उनीहरूको विरोध स्तालिनले अङ्गलेको सिद्धान्तको विरोध थियो । अर्को शब्दमा माक्र्सवाद–लेनिनवादको विरोध थियो ।
सोभियत सङ्घ आर्थिक विकासको गतिमा अघि बढ्ने सुर कस्दै गर्दा फासीवादले संसारमा दोस्रो विश्वयुद्ध उछाल्यो । फासीवाद संसारकै मानव जातिको लागि घातक थियो । पश्चिमा साम्राज्यवादी देशले फासीवादको आक्रामकता सहन सक्दैनथ्यो । त्यसकारण उनीहरू सोभियत नेतृत्वसमक्ष रक्षाको लागि याचना गर्न पुगे । फासीवादले संसारको सभ्यतालाई नै निल्ने सम्भावना देखेपछि स्तालिनले त्यसविरूद्ध लड्ने वाचा गर्नुभयो । युद्धमैदानमा पचासौँ लाख आफ्ना सन्तानहरू शत्रु सेनाको गोली र गोलाले सहिद बन्दा स्तालिनलाई पक्कै सजिलो थिएन । तर, सोभियत रगतले संसार जोगियो । फासीवाद पराजित भयो । विडम्बना हिजो आफ्नो रक्षाको लागि स्तालिनसमक्ष भिख माग्ने पश्चिमा देशहरूले नै स्तालिनको खेदो खन्ने काम थाले । स्तालिन संसारमा प्रसिद्ध हुनुको अर्थ स्तालिनको विचार लोकप्रिय बन्नु थियो । स्तालिनको विचार लोकप्रिय बन्नुको अर्थ माक्र्सवाद–लेनिनवाद लोकप्रिय बन्नु थियो । माक्र्सवाद–लेनिनवाद लोकप्रिय बन्नुको अर्थ संसारमा समाजवादी आन्दोलन अघि बढ्नु थियो । समाजवादी आन्दोलन पुँजीवादी व्यवस्थाको चिहानबाट उठ्ने हुन्छ । त्यसकारण उनीहरू स्तालिनविरोधी बने । स्तालिनको निम्ति त्यो क्षण पनि सुखद् बनेन । त्यस्तो अवस्थामा पनि स्तालिनलाई स्तालिन बन्न सहज थिएन ।
स्तालिनले आफ्नो जीवन बलिदान गरेर निर्माण गरेको सोभियत सङ्घभित्र लुकेका विषालु सर्प नै अन्ततः उहाँलाई मार्न उद्यत्त भए । उहाँको बदनाम गर्न लागिपरे । खु्रश्चेभ, यल्सिन र गोर्भाचोभहरू सोभियत समाजवादलाई पराजित गर्ने लक्ष्य बोकेर सोभियत सत्ताको नेतृत्वमा आए । सोभियत समाजवादी सत्ता त्यस्तै घातक नेतृत्वका कारण अस्थायी हार भोग्न बाध्य छ । तर, आज स्तालिनको निधन भएको दसकौँ पछि संसारका क्रान्तिकारीहरू उहाँको विचार र आभा अझै फैलिरहेको देख्दै छन् । स्तालिन बन्न सजिलो छैन । स्तालिनहरूले नै समाजवादी क्रान्तिलाई सफल बनाउने हुन् । स्तालिनका विचार र सिद्धान्तले नै संसारमा न्याय र समाजवादको झन्डाले उचाइ हासिल गर्ने हो । कामरेड जोसेफ स्तालिनलाई जन्म दिन (डिसेम्बर २१) को शुभकामना ¤

Leave a Reply

Your email address will not be published. Required fields are marked *