भर्खरै :

भारत अपराधीहरूको केन्द्र ?

–मेरिना शाक्य
भारतका बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले कोही पनि भारतको छोरी बन्न नचाहिरहेको बताएकी छिन् । भारतमा हाल बढ्दो बलात्कारको घटनाप्रति रूष्ट हुँदै उनले एक अन्तर्वार्तामा उक्त टिप्पणी गरेकी हुन् । एक महिला पशु चिकित्सकको बलात्कारपछि भएको हत्याको निन्दा गर्दै उनले भनिन्, “आखिर यस्ता बलात्कारका घटना बारम्बार किन दोहोरिरहन्छन् ?” महिलाहरू असुरक्षित भइरहेको सन्दर्भमा उनले भनिन्, “यदि यस्तै स्थिति रहिरह्यो भने अब कोही पनि भारतको छोरी बन्ने छैनन् ।” एक अभिनेत्रीको टिप्पणी यस्तो छ भने अन्य दलका नेता, कार्यकर्ता र सर्वसाधारण जनताको अभिमत कस्तो होला ? अभिनेत्री सिन्हाको उक्त अभिव्यक्तिले भारत महिलाहरूको असुरक्षित स्थल हो, छिनछिनमा बलात्कार र हत्या भइरहने देश हो भन्ने बुझ्न सजिलो हुन्छ ।
प्रजातन्त्रको लामो अनुभव भएको भारतमा किन यस्ता बलात्कार र आत्महत्याका सृङ्खलाहरू एकपछि अर्को बढिरहेका हुन् ? के प्रजातन्त्र भनेको जसले जे पनि गर्न पाउने स्वतन्त्रता हो, छाडा हो, उच्छृङ्खलता हो ? प्रजातन्त्रलाई जीवन पद्धतिको रूपमा किन विकास गर्न सकिएन ? गरिबीको कारण वर्षमा हजारौँ हजार किसानहरू आत्महत्या गर्छन् । भारत वेश्यालयको केन्द्र बनेको छ । महिला बेचबिखन गर्ने, अङ्गको व्यापार गर्ने, बेपत्ता पार्ने र हत्या–हिंसा हुने केन्द्र बनेको छ । अपराधी या दाग लागेका सांसदहरू जित्ने प्रजातान्त्रिक मुलुक भारतमा हत्या, हिंसा र बलात्कार नहुनु पनि कसरी ? आपराधिक केन्द्र बनिरहेको भारतलाई मोदी सरकारले मुक्त गर्नुपर्छ, मुक्त गर्न अभियान छेड्नुपर्छ ।
भारत बढी गरिब रहेको देशमात्र होइन अन्धविश्वास र कुरीतिले घेरिएको देश पनि हो । झन्डै दुई दसक अघिसम्म महिलाहरूले सतीप्रथा कायम गर्नुपर्ने माग राखेर प्रदर्शन गरेका थिए । त्यहाँ व्यापक अनियमितता हुन्थ्यो । ठगहरूको बाहुल्यता छ । व्यापक भ्रष्टाचार हुने देश हो भारत । त्यसको प्रतिनिधित्व मोदी सरकारले गरिरहेको छ । प्रजातान्त्रिक देश भनिने भारतमा यस्ता आपराधिक गतिविधि नियन्त्रण गर्नेतर्फ मोदी सरकारको ध्यान गएको छैन । जनताको सुरक्षा छैन । लोभलालच, धाक–धम्की र पैसाको भरमा जितेको मोदी सरकारले भारतमा सुशासन दिन सकिरहेको छैन, विधिको शासन छैन । यसमा मोदी सरकार पनि असफल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *