मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
– हरिगोविन्द दुवाल
घर बनाउन नक्सा पास गर्नुपर्छ या नक्साविना घर बनाउनुहुँदैन । नक्साविना बनाइएको घर अवैध हुन्छ । कति नगरवासीहरू घर बनाउन नक्सा बनाउँछन्, नक्सा दर्ता गर्छन् । तर, नक्साअनुसार घर बनाउँदैनन् । त्यसो हुनुको मुख्य कारण नक्सा हेरी डकर्मीले घर बनाउँदैनन् । अनि नक्सा र घर बनाइएको घर फरक–फरक हुन्छ । जस्तो नक्सा हो त्यसैअनुसार सत प्रतिशत घर बन्दैन या बनाइँदैन । घरको संरचनामा साना–तिना फरक हुन्छन् । हो, कुनै घर धनीले जग्गा मिच्नु हुँदैन, बढी तला बनाउनु हुँदैन, पुरानो बस्तीमा छानाको स्वरूप मिलाउनुपर्छ । झ्याल विजोडामुखी हुनुपर्छ या एकमुखी, तीनमुखी या पाँचमुखी झ्याल बनाउनुपर्छ । नक्सामा इँटा माटो जोडाइमा छ भने सोहीबमोजिम बनाउनुपर्छ । नक्सामा ढलान देखाएर इँटा माटोको जोडेको र इँटा माटोको जोडेको देखाएर ढलान घर बनाउनु हुँदैन ।
नगरपालिकामा अधिकांशको विवाद या बेमेल घर निर्माणको नै हुन्छ । नक्सा पास नहुँदै घर बनाउने, नक्साको संरचनाभन्दा फरक ढङ्गले घर बनाउने, बढी तला थप्ने, सेफ्टी ट्याङ्क नराख्ने आदि निर्माण गर्दाका समस्या हुन् । पुरानो बस्तीमा होस् या नयाँ बस्तीमा सेफ्टी ट्याङक कमैले मात्र बनाउँछ । नयाँ बस्ती या पुरानो बस्तीभन्दा बाहिर सेफ्टी ट्याङ्क बनाउनुपर्ने प्रावधान भए पनि या नक्सामा उल्लेख भए पनि सबैले बनाएको पाइँदैन । त्यसको महत्वपूर्ण कारण नयाँ बस्तीमा ढलको व्यवस्था हुनु हो । ढलको व्यवस्था भएको हुँदा नगरवासीले सेफ्टी ट्याङ्क नबनाएको देखिन्छ । जहाँ ढलको व्यवस्थापन छैन त्यस्तो बस्तीमा भने अधिकांशले सेफ्टी ट्याङक बनाएको पाइन्छ ।
पुरानो बस्ती होस् या नयाँ बस्ती त्यहाँको फोहर आखिर एकै ठाउँ या खोलामै गइरहेको छ । उपचार पोखरी बनाउनुपर्छ, बन्नुपर्छ भने तापनि बन्न सकिरहेको छैन । पहिले भएको पनि उपयोग गर्न सकिरहेको छैन । अरु सबै नक्साबमोजिम घर बने पनि सेफ्टी ट्याङ्क बनाएको हुँदैन । यसकारणले पनि कतिको घर सम्पन्न भएको वर्षौं बित्दा पनि पास पुर्जी पाइरहेको हुँदैन । ढलको बन्दोबस्त भएको ठाउँमा सेफ्टी ट्याङ्क नभए पनि घरको पास पुर्जी पो दिने हो कि भन्ने चर्चा पनि टोल बस्तीमा नभएको होइन । तर, सेफ्टी ट्याङ्क हुनु राम्रो हो ।
आजभोलि सानो या ठूलो जस्तो घर बने पनि सबैजसोले पानी ट्याङ्क बनाइरहेका छन् । पानी ट्याङ्क बनाएपछि सेफ्टी ट्याङक बनाउने ठाउँको अभाव या समस्या भएर पनि नबनाएको देखिन्छ । इन्जिनियर र जनप्रतिनिधिहरूबीच छलफल गरेर समस्याको विकास खोज्नुपर्ने देखिन्छ । यस्तै यस्तै सानातिना समस्याको कारण घर बनिसकेर पनि अधिकांशले पासपुर्जी पाइरहेका छैनन् । यो समस्यालाई त्यतिकै छोड्ने हो या निकास खोज्ने हो ? विचारणीय छ ।
Leave a Reply