भर्खरै :

भ्रमण वर्ष सफल पार्न अनुगमन आवश्यक

– सामना, सुदूरपश्चिम प्रदेश
नेपाल भ्रमण वर्ष २०२० आउन केही दिनमात्र बाँकी रहँदा सुदूरपश्चिम प्रदेश सरकारले भ्रमण वर्ष २०२० लाई भव्यरूपमा उदघाटन गर्ने भनी ‘पहिले प्रदेश, अनि देश घुमौँ’ भन्ने नारा नै घोषणा गरिसकेको छ । यो स्वागतयोग्य कुरा हो । प्रदेश र प्रदेशका जिल्लामा भ्रमण वर्ष सफल पार्ने भन्दै विभिन्न सङ्घ–संस्था र अभियन्ताहरूले सभा, गोष्ठी तथा कार्यक्रम गर्दै आइरहेका छन् । नेपाल भ्रमण वर्ष सफल पार्ने भन्दै गरिने यस्ता कार्यको अनुगमन हुन आवश्यक छ ।
सुदूरपश्चिम प्रदेश सङ्घीय राजधानीबाट भूगोलको हिसाबले निकै टाढा रहेको प्रदेश हो । यो प्रदेशले पनि नेपालका अन्य क्षेत्रजस्तै पर्यटनको निकै सम्भावना बोकेको छ । धार्मिक, सांस्कृतिक, भौगोलिक, ऐतिहासिक, प्राकृतिक एवं वातावरणीय दृष्टिकोणले सुदूरपश्चिम प्रदेश पर्यटनको हिसाबले अगाडि नै रहेको क्षेत्र हो । केवल यस प्रदेशमा रहेका व्याप्त धार्मिक, सांस्कृतिक एवं प्राकृतिक पर्यटनको सम्भावना भएको क्षेत्रको उचित प्रचार–प्रसार हुन नसकेका कारण सुदूरपश्चिमको पर्यटन विकासले त्यति गति लिन सकिराखेको देखिंदैन ।
यस क्षेत्रको प्रचार–प्रसार प्रभावकारी नहुँदा यस क्षेत्रमा रहेका पर्यटकीय स्थलहरूमा आन्तरिक तथा बाह्य पर्यटक भित्याउन सकिएको छैन भने अर्कोतर्फ सुदूरपश्चिम प्रदेशमा राज्यको लगानी र उचित दृष्टिकोणको खाँचो रहेको छ । यसै सन्दर्भमा सुदूरपश्चिमको पर्यटन विकासको लागि राज्यले चलाएको अभियान तथा कार्यक्रममा गरिएको विनियोजित बजेट पनि केही सङ्घ–संस्थाहरूले सभा, गोष्ठीको नाममा गलत आचरण देखाई आर्थिक दुरूपयोग तथा भ्रष्टीकरणको कारण सुदूरपश्चिमको पर्यटकीय विकास सोचेजस्तो हुन नसकेको हो ।
पर्यटनको नाममा कतिपय संस्थाहरूले केन्द्र, प्रदेश र स्थानीय सरकारबाट सहयोग लिने र प्राप्त रकमलाई सही ठाउँमा खर्च नगरेर खल्ती भर्नेमात्र कार्यहरू भइरहेका छन् । यस्तो कार्यले न त सुदूरपश्चिम प्रदेशले पर्यटनको विकास लिनसक्छ, न त यस क्षेत्रका पर्यटकीय गन्तव्यले प्रचार–प्रसार नै पाउनेमा विश्वास गर्न सकिन्छ ।
यसकारण, सुदूरपश्चिम प्रदेश सरकार र सरोकारवाला निकायले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा हुने सबै प्रकारका गतिविधिको प्रभावकारी अनुगमन गरी पर्यटनको नाममा गरिने सभा, गोष्ठीको रकमको दोहन गरिरहेका त्यस्ता संस्थाहरूको विशेष अनुगमन हुन जरुरी देखिन्छ । आर्थिक दुरूपयोग गर्ने सङ्घ–संस्था तथा कार्यक्रम सञ्चालकको पहिचान गरी त्यस्ता निकायलाई कानुनी प्रक्रियामा ल्याउन सकेमात्र सुदूरपश्चिम प्रदेश सरकारले नेपाल भ्रमण वर्ष २०२० को प्रभावकारिता कायम गर्नसक्ने छ । नत्र प्रदेश सरकारको निकै उत्साहका साथ तय गरेको नारा नारामै सीमित रहनेमा दुईमत नहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *