भर्खरै :

नयाँ वर्षको शुभकामना ¤

आज नयाँ वर्ष २०२० को पहिलो दिन । सन् २०१९ बिदा भयो । अनेकन उपलब्धि, तीतो वियोग, स्मरणीय घटना, आशा–निराशाका शृङ्खला छोडेर २०१९ बिदा भयो । नयाँ आशा र सम्भावनाका ढोका खोलेर सन् २०२० आरम्भ भएको छ ।
सन् २०१९ धेरैले चाहेजस्तो युद्ध र अशान्तिबाट मुक्त भएन । विशेषतः मध्यपूर्वका जनताले बितेको वर्ष पनि चयनको निद्रा सुत्न सकेनन् । यमन, सिरिया, इरान, इराकलगायतका देशका जनता आकाशबाट कुनै पनि बेला खस्न सक्ने विनाशकारी हतियारबाट भयभित भएर आकाश छोपी भयको निद्रा सुत्न बाध्य भए । साम्राज्यवादी शक्तिले ती देशमाथि गरेको हस्तक्षेपका कारण मध्यपूर्वका जनताको निम्ति बितेको वर्ष कष्टकर बन्यो । सिरिया क्रमशः शान्तितिर फर्केको छ । तर, टर्कीको क्षेत्रीय दादागिरीको कारण सिरियाली भूमिमा अझै पनि शान्ति छाएको छैन । कुर्द जनतामाथि टर्कीको दमनले सो क्षेत्रको हावामा अझै बारुद गन्हाउन छोडेको छैन ।
इरान संरा अमेरिकी विश्व हैकमविरुद्ध लगातार लडिरहेको छ । इरानी जनताको साम्राज्यवादविरोधी भावनालाई संरा अमेरिकी साम्राज्यवादको नाकाबन्दीले कति पनि गलाउन सकेको छैन । बरु इरानी जनता उही जुझारु भावनाका साथ वाशिङ्टनका शासकहरूलाई हाँक दिइरहेका छन् । बगदादमा संरा अमेरिकाले बनाएर गएको कठपुतली सरकारविरुद्ध इराकी जनताले गत वर्षभरि लगातार आन्दोलन गरे ।
साम्राज्यवादी मोर्चाभित्रको गहिरो विभाजन सन् २०१९ मा छताछुल्ल पोखियो । जी ७ बैठकमा संरा अमेरिका र बाँकी देशबीचको विवादले साम्राज्यवाद आपसी लडाइँमा फसेको विश्वले देख्यो । नाटोमा लगानी बढाउन संरा अमेरिकाले गरेको आदेशलाई अरू सदस्य देशहरूले ठाडो चुनौती दिए । साम्राज्यवादी मोर्चाभित्रको यो विभाजनले संसारको राजनीतिक नक्सा क्रमशः फेरिंदै गएको सड्ढेत गरेको छ ।
प्रजग कोरियालाई डलर देखाएर सजिलै आफ्नो वशमा पार्ने संरा अमेरिकी योजनाले भुइँ चाटेको छ । आत्मनिर्भरता र आत्मस्वाभिमानको जुछे विचारधारा र सोन्गुन नीतिको आधारमा स्वाधीनताको बाटो हिँडिरहेको प्रजग कोरिया साम्राज्यवादलेफ्याँकेको डलर र समृद्धिको महाजालबाट सचेत छ । बरु अझै लडाइँलाई जारी राख्ने तर साम्राज्यवादसामु नझुक्ने प्रजग कोरियाको नीति वाशिङ्टनको लागि घाँटीमा अड्केको तातो आलुजस्तै बनेको छ ।
चीनको समृद्धिको यात्रा चालू छ । तर, उसको समृद्धिको यात्रा कुनै कमजोर देशमाथिको अत्याचार र दोहनमा आधारित होइन । सबैको जीत हुने नीतिमा आधारित बेल्ट एन्ड रोड परियोजनामार्फत चीनले आफूसँगै संसारलाई विकास र समृद्धिको बाटोमा डो¥याइरहेको छ । चीनको आरोहणलाई रोक्न संरा अमेरिका नेतृत्वको साम्राज्यवादी मोर्चा हजार षड्यन्त्रको तानाबाना बुनिरहेको छ । तर, आफू स्वयम् सड्ढटको भुमरीमा फसेको साम्राज्यवादलाई आफ्नै आन्तरिक समस्या समाधान गर्न धौधौ भइरहेको छ । ल्याटिन अमेरिकामा साम्राज्यवादले प्रगतिशील सरकारमाथि दमनलाई पेचिलो बनाएको छ । तर, साम्राज्यवादविरोधी भावनाले सुवासित ल्याटिन अमेरिकी माटोमा अझै पनि साम्राज्यवादविरोधी विद्रोहका सुन्दर फूल मगमगाइरहेको छ ।
भारतमा दोस्रोपटक नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकार बन्यो । हिन्दू अतिवादी भाजपाले भारतमा फासीवादी शासन लाद्न खोजिरहेको छ । भारतीय जनतालाई धर्मको आधारमा विभेद र विभाजन गरी मोदी भारतमा ‘दोस्रो विभाजन’ को जाल रचिरहेको छ । भारतीय जनता मोदी शासनविरुद्ध लडिरहेका छन् । यस्तै हजार आरोह अवरोहमा हेलिएर सन् २०१९ बिदा भयो । आशा गरौँ, नयाँ वर्ष नयाँ आशा र उत्साहको वर्ष हुनेछ । नयाँवर्षको हार्दिक शुभकामना 

Leave a Reply

Your email address will not be published. Required fields are marked *