आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
इब्राहिम अल–मरासी
जनवरी ३ को बिहानको पहिलो प्रहरमा संरा अमेरिकी हवाई आक्रमणमा परी इरानी इस्लामिक क्रान्तिकारी गार्ड कोर्प (आइआरजीसी) को कुद फोर्सका प्रमुख जनरल कासिम र इराकी पपुलर मोबिलाइजेसन युनिट (पीएमयू) का कमान्डर अबु महेदी अल–मुहान्दिस मारिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लागि त्यो हमला मध्यपूर्वमा विदेश नीतिसम्बन्धी सबभन्दा लापर्वाह निर्णय प्रमाणित हुनसक्छ । संरा अमेरिकी हमला इराकको राष्ट्रिय सार्वभौमिकताको गम्भीर उल्लङ्घन हो । यसले इराक र वरपर अझ गहिरो अस्थिरता निम्त्याउन सक्छ ।
इरान र इराक इस्लामिक गणराज्यलाई आन्तरिक र बाह्यरूपमा चुनौती दिने एकपछि अर्को आन्दोलन भइरहेको समयमा यस्तो हमला भएको हो । सोलेमनीको हत्या अनुमोदन गर्ने ट्रम्पको निर्णयले राष्ट्रवादी भावनाबाट निर्देशित इरानी नेतृत्व र उसका इराकी पक्षधरलाई जीवनबुटी दिएको छ । यसले इरानी र इराकी सरकारको असफलतालाई लुकाउन मद्दत गरेको छ ।
इराकमा तनाव
ट्रम्पले सन् २०१५ मा भएको संयुक्त विस्तृत कार्ययोजना अथवा ‘इरान सम्झौता’ बाट हात झिक्ने निर्णय गरेपछि इराकी सहयोगी मोर्चाबाट इरानी इस्लामिक गणतन्त्रले प्रतिरोध गर्ने कुुरा स्पष्ट थियो । मध्यपूर्वमा संरा अमेरिकी प्रभाव रोक्न पनि इरानले त्यस्तो गथ्र्यो नै ।
संरा अमेरिकाले इरानविरुद्ध पुरानो नाकाबन्दीको नवीकरण र नयाँनाकाबन्दी थोपरेपछि इरानले संरा अमेरिका र उसको पक्षधरहरूविरुद्ध मिहिन युद्ध थालेको थियो । खाडी क्षेत्रमा तेल बोकेका जहाजमाथि भएका हमला र साउदी अरबस्थित अमार्को तेल कम्पनी भएको हमलाबाट यस्तो अनुमान सहजै गर्नसकिन्थ्यो ।
इरानको आर्थिक अवस्था निकै खस्केसँगै इरानी सरकारमाथि दबाब बढ्दै थियो । इरानले इन्धनको मूल्यमा झन्डै २ सय प्रतिशत वृद्धि गरेको थियो । सो कदमको विरोधमा जनता सडकमा उत्रेका थिए ।
डिसेम्बर २७ को दिन पपुलर मोबिलाइजेसन युनिटमा आबद्ध इरान पक्षधर इराकी लडाकुले इराकी सैनिक व्यारेकमाथि गरेको हमलामा परी एक जना अमेरिकी ठेकेदार मारिनुका साथै केही सिपाहीँ मारिएका थिए । दुई दिनपछि संरा अमेरिकाले पीएमयूकै हिस्साको रूपमा रहेको एक इराकी लडाकु शिविर कैटाब हैजबुल्लाहमा हवाई हमला ग¥यो । सो हमलामा परी पीएमयूका कम्तीमा २५ जना लडाकु मारिए ।
त्यसपछि अवस्था तनावपूर्ण बन्यो । डिसेम्बर ३१ मा बग्दादस्थित संरा अमेरिकी दूतावासको हरित क्षेत्रमा ठूलो सङ्ख्यामा मानिस प्रवेश ग¥यो र दूतावासको सत्कारगृहमा आगजनी गरे । निकै बाक्लो सुरक्षा घेराभित्रको कूटनीतिक नियोग तोडिनुले संरा अमेरिकालाई कडा सन्देश सम्प्रेषण ग¥यो । विडम्बना ट्रम्पले त्यो सन्देश भने ग्रहण गर्न सकेन ।
इराकी सार्वभौमिकताविरुद्ध हालै संरा अमेरिकाले गरेको हमलाले इराकी जनतामा थप निराशा व्याप्त बनाउने छ । संरा अमेरिकालाई इराकी जनताबीच अझ बदनाम गर्ने छ । इराकमा अहिले पनि तैनाथ ५ हजार अमेरिकी सेनालाई इराक छोड्न इरानकी सरकारमाथिको दबाबलाई नवीकरण गर्ने छ ।
इराकी आक्रोश
अक्टोबरयता इराकमा भ्रष्टाचार, सरकारी अव्यवस्था र दक्षिणी तथा मध्य इराकको खस्कँदो जीवनस्तरको विषयमा एकपछि अर्को आन्दोलन भइरहेका छन् । इराकी प्रदर्शनकारीहरूले इरानी हस्तक्षेप र इराकी सरकारप्रति इरानको समर्थनको पनि विरोध गरिरहेका छन् ।
सन् २००३ को इराक युद्धयता इराकमा इरानी प्रभाव त्यसअघि भन्दा निकै कमजोर बन्यो । इरानको सहयोग प्राप्त पीएमयूमाथि प्रदर्शनकारी इराकी जनतालाई निशाना बनाएको आरोप लाग्ने गरेको छ । प्रदर्शनकारीहरूमध्ये अधिकांश सिया धर्मावलम्बी नै छन् । नजाफ र करबालास्थित इरानी कूटनीतिक कार्यालयमाथि आगजनी गरिएको छ । शान्तिपूर्ण विरोध प्रदर्शनको क्रममा भएको हिंसाबीच इरानको समर्थन प्राप्त इराकी प्रधानमन्त्री अब्देल अब्दुल महेदीले राजीनामा दिनुपरेको थियो ।
इराकमा यसअघि कहिल्यै पनि सिया धर्मावलम्बीबीच यो तहको द्वन्द्व कहिल्यै भएको थिएन । तर, संरा अमेरिकाले हालै गरेको हमलाले इराकी आन्दोलनमा ओझेलमा पार्ने छ र सिया शक्तिबीच पुनः एकताको परिस्थिति बनाएको छ । इराकीहरू पीएमयूको विरोधमा थिए । तर, इराकी इस्लामिक स्टेट र द लेभान्टजस्ता स·ठनविरुद्धको लडाइँमा नेतृत्व गर्ने आफ्नो एक जना नेताको संरा अमेरिकाले हत्या गरेकोमा उनीहरूको आक्रोशको तीर अन्यत्र सोझिएको छ । संरा अमेरिकाले अल–मुहादिसलाई सहिद बनाइदिएको छ ।
सोलेमनी र अल–मुहादिसको हत्या गर्ने ट्रम्पको निर्णयले इरानी समर्थन प्राप्त लडाकुलाई पुनः प्राण दिएको छ । साथै भ्रष्टाचारविरुद्ध उठेको इराकी विरोध प्रदर्शनको निशाना अब राष्ट्रिय सार्वभौमिकतामाथि अमेरिकी हमलाको विरोधतिर सोझिएको छ ।
सम्भावित परिणाम
संरा अमेरिकी राष्ट्रपतिको चुनाव हुन अब १० महिनामात्र बाँकी छ । ट्रम्पले भने सन् २०१६ को चुनावी अभियानमा मतदातासमक्ष गरेको वाचा भुलेका छन् । उनले त्यतिबेला वाचा गरेका थिएः विदेशी भूमि विशेषतः मध्यपूर्वमा रहेका संरा अमेरिकी सेना फिर्ता गर्ने प्रतिबद्धता । संरा अमेरिकी दूतावासमा भएको हमलालगत्तै ट्रम्प सरकारले इराकमा थप ७५० सेना परिचालन गर्ने निर्णय गरेको छ । साथै चार हजारभन्दा बढी अमेरिकी सेना सो क्षेत्रमा परिचालनको लागि तयारी अवस्थामा छन् ।
इरानसँगको तनाव बढेसँगै गत मे महिनायता संरा अमेरिकाले सो क्षेत्रमा १४ हजार अमेरिकी सेना तैनाथ छन् । अक्टोबरमा साउदीको अमार्को तेल कारखानामा भएको ड्रोन हमलापछि ३ हजार अमेरिकी सेना परिचालन गरिएको थियो । हाल परिचालन गरिएको सेना त्यसअघि नै इराकमा रहेका तिनै १४ हजारमा थप सेना हुन् ।
सुरक्षा अवस्था थप कमजोर भएको अवस्थामा थप सेना परिचालन गरिने पक्का छ । संरा अमेरिका र उसका सहयोगी देशहरू जस्तैः लेवनान, सिरिया, यमन र खाडीविरुद्ध द्वन्द्व चर्काउन इरानसँगै धेरै मोर्चाहरू छन् ।
इराकमा इरानले पीएमयूमार्फत संरा अमेरिकी सेना र व्यारेकमाथि हमलालाई घना बनाउन सक्छ । उसले इराकी सरकारलाई इराकबाट अमेरिकी सेना फिर्ता लान दबाब दिनसक्छ । इरान पक्षधर इराकी राजनीतिक पार्टीले पहिले पनि यो प्रश्न त उठाइसकेको छ । एक वर्षअघि अघोषितरूपमा संरा अमेरिकी सैनिक आधारमा ट्रम्पले भ्रमण गरेलगत्तै यो प्रश्न उठाएका थिए । संरा अमेरिकी हमलाले उनीहरूको मागलाई फेरि उठाउने अर्को मौका दिने भएको छ ।
पीएमयू र इरान पक्षधर राजनीतिक दल अतिरिक्त अरू सिया समूहहरू पनि इराकमा संरा अमेरिकी उपस्थितिबाट खुसी छैनन् । सन् २०१८ को संसदीय चुनावमा थप स्थान जितेको सैरून मोर्चाका नेता सिया नेता मुकतदा अल–सद्रले इराकमा इरानी प्रभावलाई लिएर सधैँ चिन्ता व्यक्त गर्दै आएका छन् । उनीहरूले सधैं इरान पक्षधर समूहसँग लड्दै आएका छन् । तर, सैरून समूह इराकमा संरा अमेरिकी प्रभावको अझ कट्टर विरोधी हो । इराकमा रहेका संरा अमेरिकी सेनाविरुद्ध सन् २००३ यता लामो लडाइँपश्चात् यो समूह इराकी राजनीतिमा प्रभावशाली बनेको हो । संरा अमेरिकी हवाई हमलाको घण्टौँपछि सद्रले वक्तव्य जारी गरी सोलेमनी र अल–मुहान्दिसको निधनप्रति शोक व्यक्त ग¥यो । उनले आफ्ना लडाकुलाई ‘इराकको रक्षा गर्न’ सक्रिय हुन आह्वान गरेका छन् ।
संसार आज नयाँ दसकमा प्रवेश गरेको छ । गत साताको घटनाले मध्यपूर्वको घटनाक्रमबारे संरा अमेरिकाको गलत बुझाइ उजागर गरेको छ । ट्रम्पको निर्णयले समस्यामा परेको इरान सरकार र पीएमयूलाई इरानी र इराकी आन्दोलनको निशाना आफूतिर बाट अमेरिकातिर मोड्न अवसर प्राप्त भएको छ । इरान र उसका पक्षधर शक्तिले दुई जना कमान्डर गुमाएको घटनालाई शहादत्त बनाएर इराक र त्यसभन्दा पर नयाँ वैधानिकता हासिल गर्ने स्रोतको रूपमा उपयोग गर्ने छ ।
(लेखक सान मार्कोसस्थित क्यार्लिफोनिया स्टेट युनिभर्सिटीको इतिहास विभागका सहायक प्राध्यापक हुनुहुन्छ ।)
स्रोतः अज जजिरा
नेपाली अनुवादः नीरज
Leave a Reply