भर्खरै :

भक्तपुर नगरपालिकाद्वारा ९१ जना विद्यार्थीलाई शैक्षिक ऋण प्रदान

भक्तपुर, २२ पुस । भक्तपुर नगरपालिकाद्वारा आ.व. २०७६÷७७ को लागि ९१ जना नगरबासी विद्यार्थीहरूलाई शैक्षिक ऋण प्रदान गर्ने निर्णय गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी भक्तपुर नपाको चौथो नगरसभा २०७५ बमोजिम भक्तपुर नगरपालिकाले शैक्षिक ऋण वितरण सुरु गरेको हो ।
नगरपालिकाद्वारा मङ्गलबार आयोजित शैक्षिक ऋण वितरण कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले असल शिक्षाले असल नागरिक उत्पादन हुने बताउँदै शैक्षिक ऋणको सही सदुपयोगको निम्ति आग्रह गर्नुभयो ।
भक्तपुर नगरपालिकाले गरिब र इमानदार विद्यार्थीको लागि शैक्षिक ऋणको व्यवस्था गरेको बताउँदै प्रमुख प्रजापतिले प्रतिस्पर्धाको समयमा विद्यार्थीहरूले शैक्षिक अनुशासनको साथसाथै व्यवहारिक अनुशासनमा पनि जोड दिनुपर्ने बताउनुभयो ।
शैक्षिक प्रमाणपत्र र आफूमा भएको अतिरिक्त सीपको सही सदुपयोग गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले आफ्नो शिक्षा र सीपलाई देश र समाजको हितको निम्ति प्रयोग गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुर नपा, शैक्षिक ऋण दिने सम्बन्धमा बनेको निर्देशिका, २०७५ प्रस्तुत गर्दै भक्तपुर नपाभित्र स्थायी बसोबास गर्ने जेहेनदार तथा विपन्न विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर रु. ५ लाखसम्मको रकम ब्याजदर ६ प्रतिशतका दरले गत वर्षदेखि वितरण गरिंदै आएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां र भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत दिपक कोइरालाले नगरपालिकाले प्रदान गर्ने शैक्षिक ऋणको औचित्य र महत्वमाथि प्रस्ट पार्नुभयो ।
भक्तपुर नगरपालिकाले आ.व. २०७५÷७६ मा ३७ जना नगरबासी विद्यार्थीसँग शैक्षिक ऋणको सम्झौता गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *