भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको बिदाइ
- जेष्ठ ८, २०८३
प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसको आन्तरिक झगडालाई नेपालका केही सञ्चारमाध्यमले आवश्यकताभन्दा बढी प्राथमिकता दिइरहेका छन् । देशमा प्राथमिकता दिनुपर्ने अरू केही समस्या वा प्रश्न नै नभएजस्तो गरी केही सञ्चारमाध्यमले यो विषयलाई जोड दिइरहेका देखिन्छन् ।
नेपाली काङ्ग्रेसको आन्तरिक द्वन्द्व कुनै सैद्धान्तिक विषयमा भइरहेको छैन । न त कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतले आफ्नो नक्सामा गाभिएको विषयमा नै काङ्ग्रेसभित्र झगडा भइरहेको हो । अमेरिकी सहयोगको नाममा नेपालको सार्वभौमिकतामाथि हुन सक्ने हस्तक्षेपको विषयमा काङ्ग्रेसभित्र त कुनै झगडा नै छैन । सरकारले प्रस्तुत गरेका विभिन्न जनविरोधी विधेयकको कसरी प्रतिरोध गर्ने विषयमा पनि यतिबेला काङ्ग्रेसीहरू झगडिएका होइनन् । काङ्ग्रेसभित्र यतिबेला केही विषयमा झगडा भइरहेको छ भने त्यो पद र शक्तिको लागि हो । एउटा पक्ष आफ्नो पद र शक्ति जोगाउने र अर्को पक्ष पद र शक्ति खोस्ने–धेरै पहिलेदेखि काङ्ग्रेसको झगडाको सार यही हो ।
पद र शक्तिको लागि भइरहेको यो झगडासँग नेपाली जनताको कुनै खास सरोकार छैन । अहिलेको नेतृत्वको ठाउँमा अर्को कोही व्यक्ति वा समूह आए पनि यसले काङ्ग्रेसको खास समस्या र चरित्रमा कुनै परिवर्तन हुने देखिंदैन । अर्को पक्ष नेतृत्व आउने बित्तिकै गलहत्याइएको पक्षले तत्कालै खुट्टा तान्ने काम थालनी गर्छ । परिणामतः उहीं कुमालेको चक्रजस्तै द्वन्द्वका पात्रमात्र बद्लिने हो, पद र शक्तिको लागि हुने झगडाको खास चरित्र बद्लिने छैन ।
सिद्धान्तको लागि हुने द्वन्द्वले कुनै पनि राजनीतिक दललाई वैचारिकरूपमा अझ बलियो र साङ्गठनिकरूपमा चुस्त बनाउने गर्छ । शक्ति र पदको लागि हुने द्वन्द्वले राजनीतिक दललाई अझ कमजोर बनाउने गर्छ । काङ्ग्रेसभित्र अहिलेको लडाईँले काङ्ग्रेसलाई शक्तिशाली बनाउनेछैन । बरू अझ कमजोर बनाउनेछ ।
आन्तरिक झगडा र वैचारिक अस्पष्टताको कारण काङ्ग्रेसले नेपाली जनताको हितलाई पहिलो प्राथमिकतामा राख्न सकेको छैन । देशको सार्वभौमिकता रक्षा, जनजीविकाको प्रश्न र राजनीतिक मुद्दामा समेत नेपाली काङ्ग्रेसले प्रस्ट मत राख्न सकेको छैन । शक्ति, पद र पैसाकै वरपरमात्र काङ्ग्रेस घुम्दा नेपाली जनताले उसलाई विश्वास गर्ने आधार क्रमशः गुमाउँदै गएको छ । प्रजातान्त्रिक र समाजवादी सिद्धान्तलाई काङ्ग्रेसले देखाउने वा जनतालाई झुक्याउने नारामा सीमित राखेको छ । समाजवादी आचरण र प्रजातान्त्रिक नैतिकता काङ्ग्रेसकै नेताहरूमा भेटाउन मुस्किल छ ।
विचार र सिद्धान्तभन्दा आपसी भागबन्डाकै आधारमा नेपाली काङ्ग्रेस चल्दै आएको छ । यतिबेला पनि काङ्ग्रेसभित्रको द्वन्द्वको विषय जनवर्गीय सङ्गठनहरूमध्ये कुन कसको हातमा पार्ने भन्ने हो । यो विषयमा नेताहरूबीच आपसी भागबन्डा नमिलेसम्म काङ्ग्रेसका नेताहरू एकअर्काविरुद्ध विषवमन गर्छन् । तर, त्यसमा कुरा मिलेलगत्तै दुवै पक्ष लुट्ने कर्ममा लाग्छन् । आजसम्म नेपाली जनताले नेपाली काङ्ग्रेसलाई त्यसरी नै देख्दै भोग्दै आएको छ । अहिले पनि निष्कर्ष योभन्दा फरक आउने आशा गर्न सकिन्न । तसर्थ, काङ्ग्रेसको किचलोको भारी नेपाली जनतालाई बोकाएर जनतालाई थप पीडित बनाउने काम गर्न देशका सञ्चारमाध्यम र बुद्धिजीवीहरूलाई सुहाउँदैन ।
Leave a Reply