क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
–गौरव प्रधान
यतिबेला नेपाल र नेपालीको निम्ति सबभन्दा चिन्ताको विषय बाह्य हस्तक्षेप, दबाब र अतिक्रमण नै हो । गणतन्त्र स्थापनाका सुरुका दिनमा जातीय राजनीति सल्केर दङ्गाफसाद होला, साम्प्रदायिक र क्षेत्रीय भावनाले जनजाति जनजातिबीच काटमार होला भन्ने चिन्ताको विषय बनेको थियो । त्यस्तोखाले गतिविधि केही समय भएको पनि थियो । एक मधेस एक प्रदेश नभए दशै नरहने मधेसी दलका नेताहरूको चेतावनीले नेपालबाट तराई विभाजन होला कि भन्ने अर्को चिन्ता थियो । अहिले यस्तो विभाजन र साम्प्रदायिक भावनाको राजनीति केही सेलाएको अनुभव नेपाली जनता गर्दै छन् । तर, सन्तोषको सास फेरेर ढुक्कका साथ बस्ने दिन अझै छैन । विकासको नाउँमा सुखी नेपाली र समृद्ध नेपालको पूर्वाधार तयार नहुँदै नेपाल र नेपाली रहला कि नरहला भन्ने चिन्ता प्रत्येक देशभक्त नागरिकहरूको हो ।
नेपाल साँच्चै अन्धकारपूर्ण मुलुक होइन । नेपालको अनुहार फेर्ने यहाँ असङ्ख्य स्रोत र साधन छन् । हामीले आवश्यकता र प्राथमिकताअनुसार त्यसको उपयोग पो गर्नुपर्छ र जान्नुपर्छ । देशको नेतृत्व गर्ने नेताहरूमा दृढ इच्छा शक्तिको कमजोरी, दलको स्वार्थभन्दा माथि उठ्न नसकेको सङ्कीर्णताले गर्दा देशको मुहार नफेरेको हो, विकासको प्रक्रिया सारै मन्द भएको हो । समाज छिट्टै रूपान्तरण नहुनु र अझै अन्धविश्वास, कुरीति र कुप्रथा कायम हुनुमा सरकारी दलका नेताहरू नै दोषी छन् । जनतामा चेतना ल्याउनेतर्फ सरकारको ध्यान नै गएन । साम, दाम, दण्ड र भेदको नीति अपनाएर सङ्गठन विस्तार गर्ने, दल ठूलो बनाउने र सरकारमा जाने या सरकारको नेतृत्व गरिरहनेतर्फ मात्र दलको ध्यान गयो । छाउपडी प्रथा अझै बाँकी रहनु, दाइजोको नाउँमा बरोबर महिला हिंसा हुनु, कम उमेरमै बिहे गर्ने प्रावधान राख्न जुलुस गर्ने आदि काम जनता सचेत नभएरै भएको हो ।
नेपाली समाज पक्कै पनि अपरिवर्तनीय छैन, होइन । सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू पतित, चरित्रहीन पनि छैनन् न त सबैमा विवेकशून्य नै छ । सबै भ्रष्ट, अवसरवादी, सङ्कीर्णवादी चिन्तन र सोचका छैनन् । हो, यहाँ विकास नहुनुमा, जनताको सांस्कृतिक स्तर नउठ्नुमा सरकारको प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको खोटो विचार नै देखिन्छ । यो देश र जनताप्रति जिम्मेवार भएर राजनीति नगर्दाकै परिणाम हो । बाह्य राष्ट्रको दबाब, विदेशी शक्ति राष्ट्रको अतिक्रमण, हस्तक्षेप र विदेशी पुँजीको एकाधिकारले गर्दा नै नेपाल समयअनुसार अघि बढ्न नसकेको हो । देश परनिर्भर हुँदै गएको हो । नेपाली जनताको चाहना परिवर्तन हो, तद्नुसार जनतामा परिवर्तन हुँदै छ तर अझै पुगेको छैन । आफ्नै खुट्टामा टेक्नुपर्ने विचार जनतामा फैलिँदै छ तर सरकारको नेतृत्वमा अझै घैँटोमा घाम लागेको छैन । सत्तारुढ दलका नेताहरूको चरित्र र चिन्तनमा पनि परिवर्तनको खाँचो छ ।
Leave a Reply