भर्खरै :

औषधि कि विष ¤

मानव समाजको विकासक्रममा मानिसले गरेका सबभन्दा अनुपम आविष्कारमध्ये औषधि पनि पर्छ । मानिसलाई मृत्युबाट जोगाउने औषधि अमृतसरह हो । मृत्यु शास्वत हो । तथापि मानिसलाई मृत्युबाट टाढा धकेल्ने मानिसको सिर्जना औषधि हो । मानिसको स्वास्थ्यमा आइपर्ने अनेकन समस्या निवारण गर्ने औषधि नहुँदो हो त जीवन र संसार अझ कष्टप्रद र पीडादायी हुने थियो ।
विडम्वना पुँजीवादी व्यवस्थाले स्वार्थी बनेका मानिसले आज मानिसलाई जोगाउन बनाइएको औषधिमा नै खेँलाची गर्दैछन् । देशका विभिन्न सहरमा गरिएको औषधि पसलको अनुगमनमा धेरै परिमाणमा म्याद नाघेको औषधि बरामद हुने गरेको छ । फार्मेसी विषय नपढेका वा औषधिको प्रयोगबारे न्यूनतम जानकारी पनि नभएका मानिसहरूले औषधि पसल चलाइरहेको पाइन्छन् । कानुनले फार्मेसी विषय पढेकाले मात्र औषधि पसल चलाउन पाउने व्यवस्था गरेको छ । तर, कतिपय औषधि पसल फार्मेसी पढेका कसैको प्रमाणपत्र झुण्ड्याएर अरू नै मानिसले चलाउने गरेको पाइन्छ । यसले चिकित्सकको सिफारिसअनुसार औषधि वितरण, औषधिको सही मात्रामा सेवन आदिबारे बिरामीलाई स्पष्ट र सही जानकारी हुँदैन । फलतः रोग निको पार्नुपर्ने औषधि नै विष बनिरहेको हुन्छ । कति औषधिको गलत मात्रामा प्रयोग गर्दा तत्काल प्रत्यक्ष असर देखिन्छ भने कतिले पछि प्रभाव देखाउने गर्छ । औषधिको सही तरिकाबाट सेवन नगर्नु धेरै नसर्ने रोगको कारण बनेको छ ।
नागरिकको स्वास्थ्यको जिम्मेवारी राज्यको हो । त्यसकारण यस्ता समस्याबारे राज्य जिम्मेवार र गम्भीर बन्न जरुरी छ । कानुनअनुसार फार्मेसी पढेकाले मात्र औषधि पसल चलाउन पाउने व्यवस्थामा कडाई गर्न जरुरी छ । साथै म्याद नाघेका र नक्कली औषधिको प्रयोगबारे सरकारले कडा अनुगमन गर्न आवश्यक छ ।
पुँजीवादी व्यवस्थामा नाफाको लागि स्वार्थी मानिस जे पनि गर्न तयार हुन्छन् । नक्कली वा मिसावट गरिएको औषधिले मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने थाहा हुँदाहुँदै पनि नाफाको लागि औषधि कारखानाले गुणस्तरहिन औषधि उत्पादन गर्छन् । त्यसले स्वाभावतः बिरामीलाई रोग निको होइन, बरु अझ जटिलतातिर लाने गर्दछ ।
सरकारले निःशुल्क वितरण गरेका औषधि समेत गुणस्तरहिन र म्याद नाघेको विभिन्न जिल्लामा पाइएको छ । राज्यले सबै काम ठेक्कामा गराउने र कडा अनुगमनको अभावमा यस्ता समस्या देखिएको हो । नाफाखोर ठेकेदारहरूले नक्कली र म्याद नाघेको औषधि स्वास्थ्य चौकीमा पु¥याउँदा विशेषतः दुर्गम क्षेत्रमा जनता समस्यामा परेका हुन्छन् । ग्रामीण क्षेत्रका जनतालाई औषधिबारे न्यूनतममात्र जानकारी हुने गर्छ । त्यही अज्ञानताको फाइदा उठाएर भ्रष्ट सरकारी कर्मचारी र बदमास ठेकेदारको मिलेमत्तोमा यस्तो काम हुने गरेको छ । राज्यका अनुगमनकारी निकायले यसबारे गम्भीरतापूर्वक काम नगरे सरकारले जनतालाई निःशुल्क औषधि होइन, विष दिइरहेको पुष्टि हुन्छ । जनताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने यस्ता काम गर्ने व्यापारी अपराधी हुन् । तिनलाई कडाभन्दा कडा कारबाही हुनसकेमात्र औषधिको गुणस्तर र सही प्रयोग हुनसक्छ ।
साथै औषधिको सही प्रयोगबारे जनचेतना अभियानलाई विद्यालयदेखि देशैभरिका गाउँ गाउँसम्म पु¥याउन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *