नारायणमान बनमाला
सांस्कृतिक तथा ऐतिहासिक नगर भक्तपुरको जीवित देवीको रूपमा पुजिने श्री नवदुर्गा देवगणको ङालाकेगु जात्रा यस वर्ष पुस २९ गते मङ्गलबारदेखि भक्तपुर नगरपालिका वडा नं. ९ सूर्यमढी त्वःचाबाट वापी पाछाकेगु अथवा तःसि (बिमिरो) ललायेगु जात्राबाट शुभारम्भ हुन्छ । मानव समाजमा आधारित दैनिक जीवनको आचरणबारे दिशाबोध गर्ने उद्देश्यका साथ यस नवदुर्गा देवगण जात्रा सञ्चालन भइरहेको ऐतिहासिक किंवदन्ती रहेको छ । वर्षभरिमा आठ महिना मुकुण्डोसहित विभिन्न स्थानमा जात्रा हुन्छ भने बाँकी चार महिना विभिन्न चाड पर्वमा हुने गरिन्छ ।
यो जात्रा परापूर्वकालदेखि देवगणहरू नाङ्गो खुट्टामै निरन्तररूपमा चलिरहेको जात्रा मानिन्छ । यसै क्रममा माघ १ गते सङ्क्रान्तिको दिन सूर्यमढी टोलमा नवदुर्गा देवगणहरू मन्दिरबाट दिउँसो प्रस्थान भएर दत्तात्रयको पूर्वतिरदेखि स्थानीय टोलवासीको पूजा ग्रहण तथा प्रसाद वितरण गर्दै जात्राको जानकारी गराइन्छ । त्यो रात ब्रह्मायणी दबु, ऐलाननि, वाकुपतिनारायण मन्दिर परिसर, जेँला र नास मन्दिर पूजा तथा प्रसाद ग्रहण गरी सूर्यमढी दबु अगाडि बास बस्ने गरिन्छ । सो रात देवगणहरूले गँछी नाच (सबै देवीदेवताहरू नाच्ने नाच), कुमारी तुलेगु नाच, कलस (गणेश, ब्रह्मायणी, महेश्वरी र भद्रकाली नाच्ने) नाच प्रदर्शन गरिन्छ । त्यसपछि च्याम्हासिंह क्षेत्रतिर मुः बाहाँ लिकेगु जात्रामा लियो लियो पायो पायो भन्दै जात्रा गरिन्छ । त्यसपछि रात्रिकालीन नाच समाप्त हुन्छ ।
भोलिपल्ट बिहान बाराही नाच, दिउँसो सिम्हा दुम्हाको भाषा नाच र ङालाकेगु जात्रा, महाकालीको नारी क्रोध र सुन्दरता नाच, साँझ श्वेत भैरवको गाःतोकेगु (महाकालीले श्वेत भैरवलाई खास्टो फुकाली दिने) नाच, श्वेत भैरवको ङालाकेगु जात्रा र बेलुका श्वेत भैरवको पेट दुख्ने नाच, बालकुमारी र श्वेत भैरवको मतिना नाच र श्वेत भैरवले लुगा धुने नाच प्रदर्शन गरिन्छ । अन्तमा सम्पूर्ण देवगणहरू अन्तिम नाच नाचेर नवदुर्गा मन्दिर फर्कन्छन् । स्थानीय टोलवासीहरू धिमाय् बाजा बजाएर, धुप बत्ती बालेर नवदुर्गालाई मन्दिरसम्म पु¥याउँछन् । मन्दिरमा पुगेपछि सम्पूर्ण देवगणहरू आ–आफ्नो पोशाक फेरी भोजन गर्ने र पुनः नवदुर्गाको पोशाक लगाएर भनपा वडा नं. ९ स्थित तचपाल टोलमा सोही रात प्रस्थानको लागि तयारी हुने गरिन्छ । तचपाल वरिपरिका विभिन्न टोलटोलमा पूजा र प्रसाद ग्रहण गरी दत्तात्रय मन्दिरअगाडि बास बस्ने गरिन्छ । यहाँ पनि सूर्यमढी टोलमा जस्तै रात्रिकालीन नाच हुन्छ । मुः बाहाँ जात्रा महेश्वरी पीठनिर गरिन्छ । यसको भोलिपल्ट माघ ३ गते ङालाकेगु जात्रा गर्ने गरिन्छ ।
माघ ४ गते शनिबार भनपा वडा नं. १० क्वाठण्डौ टोलमा लग्ने गरिन्छ । मुः बाहाँ जात्रा कमलविनायक क्षेत्रमा हुन्छ । माघ ५ गते क्वाठण्डौ टोलमा ङालाकेगु जात्रा सम्पन्न गरी राति नै गछेँ टोल वरिपरिका गल्लीहरूमा पूजा र प्रसाद ग्रहणको लागि परिक्रमा गरिन्छ र गछेँ चोकमा बास बस्ने गरिन्छ । यसको भोलिपल्ट माघ ६ गते ङालाकेगु जात्रा गर्ने गरिन्छ ।
तीन दिनको विश्रामपछि माघ १० गते शुक्रबार नवदुर्गा मन्दिरबाट देवगणहरू आ–आफ्नो पोशाक, गहना, मुकुन्डो खर्पनमा राखेर बिहान ११ बजेतिर देकोचा चाँगु रोड हुँदै मनहरा खोला पार गरी काठमाडौँको साँखु संखरापुर नगरपालिकामा पुग्ने छन् । सम्पूर्ण देवगणहरू आ–आफ्नो मुकुण्डो भएको खर्पन बोकेर हिँडेर नै जान्छन् । साँखुमा पुगेपछि साँझतिर देवगणहरू पोशाक लगाएर साखु नगर परिक्रमा गरिन्छ । माघ ११ गते बिहान पेम्हा द्यो यंकेगु (गणेश, कुमार, सिम्हा र दुम्बा) लग्ने जात्राको लागि चु गाउँमा प्रस्थान हुन्छ र त्यहाँ पूजा तथा नाचहरू गरी पुनः फर्कने गरिन्छ । सोही दिन साँझ साँखु नगर परिक्रमा गरी साल्खा टोलमा बास बसी रात्रि नाच प्रदर्शन हुन्छ । तेस्रो दिन ङालाकेगु जात्रा सम्पन्न गरी राति नै तुन्टोल वरिपरिका गल्लीमा परिक्रमा गरिन्छ । चौथो दिन तुन्टोलमा ङालाकेगु जात्रा गर्ने गरिन्छ । साँखुको दुई स्थानमा ङालाकेगु जात्रा सकेपछि माघ १४ गते बिहान चाँगुनारायण नगरपालिकामा ल्याइन्छ । बिहान नवदुर्गा चाँगुनारायण नगर परिक्रमा गरी चाँगुनारायण मन्दिरनिर राख्ने गरिन्छ । साँझतिर पुनः चाँगुनारायण नगर परिक्रमा गरी रात्रि नाचहरू प्रदर्शन गरिन्छ । १५ गते बुधबार ङालाकेगु जात्रा सम्पन्न गरी भक्तपुर नवदुर्गा मन्दिर फर्कने गरिन्छ ।
यसैगरी माघ २३ गते बिहीबार भनपा वडा नं. १० स्थित महालक्ष्मी स्थान दथुटोलमा लगिन्छ र २४ गते ङालाकेगु जात्रा गरिन्छ । माघ २५ गते शनिबार भनपा ७ इनाचो टोलमा लगिन्छ र २६ गते ङालाकेगु जात्रा सकेपछि सोही रात भनपा ७ स्थित गोल्मढी टोलमा लगिन्छ । माघ २७ गते गोल्मढीमा ङालाकेगु जात्रा गरिन्छ । माघ २८ गते भनपा ६ याछेँ टोलमा लगी २९ गते ङालाकेगु जात्रा सकेपछि नवदुर्गा मन्दिरको चोकमा भारती नाच प्रदर्शन हुन्छ ।
फागुन १ गते देवगणहरू नवदुर्गाको मुकुण्डो भएको खर्पन बोकेर साँगामा हिँडेर जाने गरिन्छ । साँझ साँगाका विभिन्न टोलहरूमा परिक्रमा गरी रात्रि नाच प्रदर्शन गरिन्छ । फागुन २ गते ङालाकेगु जात्रा सम्पन्न गरी पुनः भक्तपुर नवदुर्गा मन्दिर फर्कने गरिन्छ ।
फागुन ३ गते भनपा ५ स्थित टौमढी टोलमा लग्ने र रात्रि नाच प्रदर्शन गरी त्यहीँ बास बस्ने गरिन्छ । फागुन ४ गते ङालाकेगु जात्रा सम्पन्न गरी नवदुर्गा मन्दिर फर्कने र सोही रात भनपा ४ स्थित तालाक्व टोलमा लगिन्छ । फागुन ५ गते ङालाकेगु जात्रा गरिन्छ ।
फागुन ६ गते भनपा ३ स्थित नासमना टोलमा लग्ने र फागुन ७ गते ङालाकेगु जात्रा हुन्छ । नवदुर्गाको ङालाकेगु जात्रा गर्ने यो स्थान नै भक्तपुरमा सबैभन्दा ठूलो क्षेत्रको रूपमा लिने गरिन्छ । फागुन ८ गते भनपा ४ स्थित गःहिटी टोलमा लग्ने र ९ गते ङालाकेगु जात्रा गरिन्छ ।
फागुन १० गते भनपा ५ स्थित क्वाछँे टोलमा लग्ने र त्यही बास बस्ने गरिन्छ । ११ गते ङालाकेगु जात्रा सम्पन्न गरी सोही राति नै चासुखेल लग्ने गरिन्छ । फागुन १२ गते ङालाकेगु जात्रा सम्पन्न गरी नवदुर्गा मन्दिरको चोकमा आरती नाच प्रदर्शन गरिन्छ ।
फागुन १३ गते मङ्गलबार भनपा ३ लायकु दरबार क्षेत्र लग्ने र फागुन १४ गते ङालाकेगु जात्रा गरिन्छ । फागुन १५ गते बिहीबार भनपा २ स्थित खौमा टोलमा लग्ने गरिन्छ । मुः बाहाँ जात्रा इन्द्रायणी पीठनिर हुने गरिन्छ । फागुन १६ गते ङालाकेगु जात्रा हुन्छ । फागुन २० गते मङ्गलबार भनपा २ स्थित इताछेँ टोल वरिपरि परिक्रमा गरी फागुन २१ गते ङालाकेगु जात्रा गरिन्छ ।
फागुन २३ गते शुक्रबार देवगणहरू खर्पन बोकेर लिबाली, इथुली, योसी गु, नाला छाप हुँदै काभ्रे जिल्लाको नालामा प्रस्थान हुन्छ । त्यहाँ पुगेपछि साँझ ४ बजेतिर नालाका विभिन्न टोलहरू परिक्रमा गर्ने र त्यतै बास बस्ने गरिन्छ । २४ गते दिउँसो लाय्कु क्षेत्रमा नाच प्रदर्शन गरी पुनः टोल परिक्रमा गरी भगवती स्थान बास बसी रात्री नाच प्रदर्शन हुन्छ । फागुन २५ गते ङालाकेगु जात्रा सम्पन्न गरी फागुन २६ गते बिहान धुलिखेल नगरपालिकामा प्रस्थान गरिन्छ । दिउँसो धुलिखेलका विभिन्न टोल परिक्रमा गरी त्यतै बास बस्ने र २७ गते ङालाकेगु जात्रा सम्पन्न हुन्छ । फागुन २८ गते बिहान काभ्रेको श्रीखण्डपुरमा प्रस्थान हुने र पेह्मा द्यो निकाल्ने गरिन्छ । पेह्मा द्योको जात्रा गर्न चौकोटसम्म लग्ने गरिन्छ । जात्रा सम्पन्न गरी साँझतिर भक्तपुर नवदुर्गा मन्दिरमा नै फर्कने गरिन्छ ।
यसपछि केही दिन विश्राम हुने र पसाचह्रेपछि क्रमशः भनपा ५ स्थित बालाखु गणेश मन्दिरनिर, भनपा ५ स्थित तुलाछेँ र भनपा ६ चोछेँमा ङालाकेगु जात्रा हुन्छ ।
त्यसपछि फेरि भक्तपुर बाहिर बनेपा र पनौतीमा चार÷चार दिन ङालाकेगु जात्रा गरिन्छ । त्यस्तै असार महिनातिर भनपा ३ स्थित इछु टोलमा अन्तिम ङालाकेगु जात्रा हुन्छ ।
यसरी यो नवदुर्गा नाच हरेक वर्ष निरन्तर सञ्चालन हुन्छ । देवगणहरूको कुनै परिवार मृत्युपश्चात् जुठो बार्न नहुने, परिवारको कुनै समस्यालाई समय दिन नसक्ने, कुनै आयमूलक व्यवसायमा सहभागी हुन नभ्याउने, देवगणहरूको खानपानको समय निश्चित नहुने, सुत्ने राम्रो व्यवस्था नहुने र कुनै क्षेत्रमा जात्रा नहुँदा आवश्यक सामग्रीहरूको लागि भक्तजनसँग अनुरोध गर्नुपर्ने, बालक देवगणहरूको शिक्षाको क्षेत्रमा समय दिन नसक्नेजस्ता समस्या तथा चुनौतीहरू छन् ।
तर पनि संस्कृतिलाई निरन्तरता दिन बनमाला अथवा अजाजुहरूले निकै मेहनत गरेका छन् । मानव सभ्यता र समाजमा आधारित यस संस्कृतिमा पारिवारिक भूमिका, दैनिक जीवनको रहनसहन, साकाहारी मांसाहारीबारे, दाम्पत्य जीवन, माया, नारी सुन्दरता, सरसफाइ शिक्षा, नारी क्रोध, सहकारी भावना, धान रोपाइँ र घरमुलिका कर्तव्य र व्यवहारहरू आदि प्रस्टरूपमा बाजाको तालमा नाच प्रदर्शन गर्ने गरिन्छ । भक्तपुर नपामा मात्र २१ स्थानमा ङालाकेगु जात्रा गरिन्छ भने जिल्लाबाहिर काठमाडौँको पशुपति क्षेत्र, मध्यपुर नपा, साँखु, काभ्रेको साँगा, नाला, धुलिखेल, श्रीखण्डपुर, बनेपा नगरपालिका र पनौती नपामा ङालाकेगु जात्रा हुने गरिन्छ । काठमाडौँ टोखा, बुढानीलकण्ठ र गोकर्णमा पनि पहिले लग्थ्यो तर अहिले लगेको छैन ।
यस जात्रालाई दीर्घकालीनरूपमा सञ्चालन गर्न सम्बन्धित निकाय, स्थानीय निकाय तथा संस्कृति मन्त्रालयबाट आवश्यक सहयोग गर्न आवश्यक देखिन्छ । सांस्कृतिक नगर भक्तपुरलाई सांस्कृतिक नगरको रूपमा संरक्षण गर्न नवदुर्गालाई प्रोत्साहन तथा आवश्यक सहयोग गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *