भर्खरै :

छायादेवी भवन भत्काउनैपर्छ

– अमर महर्जन, काठमाडौँ
देशको कला, संस्कृति र सम्पदा संरक्षण गर्ने दायित्व सरकारको हो । यहाँका पर्ती जग्गा, सार्वजनिक सम्पत्ति, सत्तल, पाटी, मठमन्दिर, ढुङ्गेधारा, पोखरी जोगाउने जिम्मा पनि सरकारको हो । यदि त्यस्ता कुनै सम्पदा या सार्वजनिक सम्पत्ति कसैले व्यक्तिको बनाउँछ, बनाएको थियो भने त्यो फिर्ता लिएर फेरि सार्वजनिक सम्पत्ति नै बनाउने काम सरकारले गर्नुपर्छ । तर, ऐतिहासिक, सांस्कृतिक, धार्मिक र पुरातात्विक महत्वको सम्पदा संरक्षण गर्न र गराउन स्थानीय जनताले आवाज उठाए पनि, सडक र सदनमार्फत सरकारको ध्यानाकर्षण गराउँदा पनि सरकार सम्पदा संरक्षण गरिँदैन । सरकारको यस्तै बेवास्ता र जिम्मेवार व्यक्तिहरू भनसुन, प्रलोभनमा फस्दा देशका धेरै सम्पदा स्थल व्यक्तिको भइसकेको छ । त्यसको एउटा उदाहरण ठमेलस्थित कमलपोखरीमा छायादेवी कम्प्लेक्स भवन बनाउनु हो ।
स्थानीय जनताको संस्कृति र सभ्यतासँग जोडिएको या पुरातात्विक र सांस्कृतिक महत्वको कमलपोखरीमा १४÷१५ तलाको कम्प्लेक्स भवन बनेको छ । कुनै व्यक्तिको नाउँमा दर्ता नहुने र मोही नलाग्ने सो कमलपोखरीमा सत्ता र शक्तिको आडभरोसामा भवन बनाइयो र सार्वजनकि सम्पत्तिलाई व्यक्तिको बनाएर अकुत सम्पत्ति जुटाउने काम गरियो ।
कम्प्लेक्स भवन बन्नुअघि पोखरीलाई व्यक्तिको जग्गा बनाउने प्रयास गर्दा गुठियारहरूले विरोध नगरेका होइनन् । उनीहरूले मुद्दा पनि हाले । तर ठूलाबडा, घरानियाहरूले तिनीहरूलाई प्रलोभन देखाए, थोरै जग्गा र पैसा दिएर अरु बाँकी जग्गा आफ्नो बनाउने जाल रचे । मिलापत्रको नाउँमा गरिएको उक्त षड्यन्त्रकै कारण आज पोखरीमा छायादेवी कम्प्लेक्स भवन ठडेको हो ।
सरकारले पर्ती, सार्वजनिक जग्गा र सम्पदा सुरक्षा गर्ने नीति ल्याएको छ । स्थानीय जनता उठे पनि नउठे पनि यस्ता सम्पदाहरू संरक्षण गर्न सरकार लाग्नुपर्छ । ठमेलस्थित कमलपोखरीमा बनेको सो भवन पनि राष्ट्रियकरण गर्नुपर्छ र पुनः पोखरी नै कायम गर्नुपर्छ । कमलपोखरी हो भन्ने प्रमाण यथेष्ठ छन् । स्थानीय अग्रजहरू पनि उक्त स्थानमा पोखरी नै भएको दाबी गर्छन् । पोखरीमा फूल टिप्ने, चरा मार्न पोखरीमा जाने गरेको अनुभव तिनीहरु अहिले पनि व्यक्त गर्छन् । यसरी अनेक प्रमाणको आधारमा पोखरी रहेको सो ठाउँमा बलवानहरूले व्यक्तिको बनाए । सार्वजनिक सम्पत्ति व्यक्तिगत बनाएर अकुत सम्पति जोड्ने व्यक्तिहरू समाजका अपराधी हुन् । अपराधीहरू कारबाहीमा पर्नुपर्छ । अतः छायादेवी कम्प्लेक्स भवन भत्काएर पोखेरी बनाउन सरकारले कारबाहीको प्रक्रिया अघि बढाउनुपर्छ । यो सरकारको दायित्व पनि हो । होइन भने कमलपोखरीको जग्गामा बनेको सबै भवन सरकारले राष्ट्रियकरण गर्नुपर्छ । छायादेवीमा बनेको भवन भत्काएर कमलपोखरी नबनाएसम्म सम्पदा संरक्षणका अभियानकर्मीहरू आन्दोलनमा लागिरहने बताएका छन् । जायज मागप्रति साथ दिनुपर्छ, ऐक्यबद्धता जनाउनुपर्छ । छायादेवी भवन भत्काउनैपर्छ, कमलपोखरी बनाएरै छाड्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *