भर्खरै :

संरा अमेरिकाले मध्यपूर्वमा कुनै पनि युद्ध जित्न सक्दैन

मोहम्मद मरान्दी
संरा अमेरिका र इरान यतिबेला सन् १९७९ को इस्लामिक क्रान्तियताकै सबभन्दा खतरनाक द्वन्द्वमा छन् । हालैका दिनमा संरा अमेरिकाले इरानी सैनिक जनरल कासिम सोलेमानीको हत्या ग¥यो । इरानले इराकस्थित संरा अमेरिकाको सैनिक आधारमा मिसाइल आक्रमण ग¥यो । संरा अमेरिका र इरानबीचको यो तनाव कहाँसम्म पुग्ला ? के इरानले बदलामा थप हमला गर्नेछ ? दुई देशबीचको तनावले मध्यपूर्वमा कस्तो प्रभाव पर्नेछ ? चिनियाँ मिडिया ग्लोबल टाइम्सका संवाददाता यु चिनकुईले तेहरान विश्वविद्यालयअन्तर्गत उत्तर अमेरिकी अध्ययन विभागका प्रमुख मोहम्मद मरान्दीसँग यिनै विषयमा कुराकानी गरेका छन् ।
ग्लोबल टाइम्स ः इराकमा रहेका संरा अमेरिकाका दुई सैनिक आधारमा इरानले हालै गरेको हमलाको प्रतिक्रियामा संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको अभिव्यक्तिलाई मनन गर्दा तपाईँको विचारमा के संरा अमेरिका र इरानबीचको लडाइँको सम्भावना समाप्त भएको हो ?
मरान्दी ः लडाइँ हुन्छ भन्न गा¥हो छ किनभने अमेरिकीहरूले त्यो रात कुनै पनि इरानी मिसाइल खसाल्न सकेनन् । सबै इरानी मिसाइलले आफ्नो लक्ष्यमा सफलतापूर्वक प्रहार गरे । इरानी मिसाइलले अमेरिकी हवाई सुरक्षा नाघेर सजिलै आफ्नो लक्ष्य पूरा गरे । त्यसको अर्थ पर्सियाली खाडीमा रहेका कुनै पनि संरा अमेरिकी आधार क्षेत्र इरानी मिसाइलबाट सुरक्षित छैनन् । संरा अमेरिकी सैनिक आधार आफ्नो भूमिमा राख्न दिएका संयुक्त अरब इमिरेट्स र साउदी अरबले कदाचित संरा अमेरिकाले इरानमाथि हमला गरे इरानले आफूलाई शत्रु मान्ने कुरा बुझेका छन् । इरानले उनीहरूलाई त्यस्तो चेतावनी पनि दिएको छ । संरा अमेरिकाले आफूलाई जोगाउन नसक्ने पनि उनीहरूलाई थाहा छ । इरानले ती देशमा हमला गरेको अवस्थामा आफ्नो सत्ता ढल्ने कुरा त्यहाँका शासकलाई राम्ररी थाहा छ ।
मेरो विचारमा इरानी मिसाइल कति प्रभावकारी छन्, कसरी तिनले तोकिएको लक्ष्त्ेदन गरे र अमेरिकीहरूले कुनै पनि इरानी मिसाइल खसाल्न नसकेको देखेपछि अमेरिकीहरूले तनाव बढाउने विषयमा गम्भीरतापूर्वक सोच्नेछन् । उनीहरूलाई इरानसँग लडेर जित्न सकिन्न भन्ने कुरा थाहा छ । इरानसँगको लडाइँले पर्सियाली खाडी क्षेत्रमा अमेरिकी पक्षधर देशहरूको पनि सर्वनाश निम्तिनेछ ।
ग्लोबल टाइम्स ः संरा अमेरिकाले इरानी जनरल सोलेमानीको हत्या ग¥यो । इरानलाई यसले कस्तो असर पार्नेछ ? संरा अमेरिकी सैनिक आधारमा हमलापछि के इरानको प्रत्याक्रमण समाप्त भयो ? अथवा यो तनावबीच इरानले थप कदम चाल्ला ?
मरान्दी ः यो घटना (सोलेमानीको हत्या) ले इरानी जनतालाई संरा अमेरिकाविरुद्ध पहिलेभन्दा अझ बढी सङ्गठित बनाएको छ । साथै, यो घटनापछि संरा अमेरिकाविरुद्ध इराकी जनतालाई पनि सङ्गठित बनाएको छ । सोलेमानीको मलामीमा इरान र इराक दुवै देशका ठूलो सङ्ख्यामा मानिस सहभागी बने । यसले जनरल सोलेमानी निकै लोकप्रिय भएको देखाएको छ । इराकमा इरानी कमान्डर सोलेमानी आईएसआईएसविरुद्धको नेता मानिन्छन् । त्यसकारण इराकी जनता पनि संरा अमेरिकालाई घृणा गर्छन् । उनीहरू इराकमाथिको अमेरिकी कब्जाको विरोध गर्छन् । इराकी संसद्ले संरा अमेरिकालाई आफ्नो भूमि छोड्न आग्रह गरिसकेको छ । मेरो विचारमा यदि संरा अमेरिकाले इराक नछोडे अझ हिंसा बढ्नेछ । अनि अन्ततः उनीहरू इराक छोड्न बाध्य हुनेछन् ।
ग्लोबल टाइम्स ः संंयुक्त राष्ट्र सङ्घका लागि संरा अमेरिकी राजदूतले इरानसँग कुनै पनि गम्भीर वार्तामा ‘बिना पूर्वसर्त’ बस्न तयार भएको बोले । के इरानले संरा अमेरिकासँग वार्ता गर्छ ? अथवा वार्ताको लागि इरानले कुनै सर्त अघि सार्नेछ ?
मरान्दी ः संरा अमेरिकाले इरान आणविक सम्झौता नस्वीकारेसम्म, इरानी आणविक सम्झौताका सर्त पूरा नगरेसम्म र बग्दाद अन्तर्राष्ट्रिय विमानस्थलमा संरा अमेरिकाबाट भएको युद्धअपराधको घटनाबापत क्षतिपूर्ति नभरेसम्म इरान संरा अमेरिकासँग वार्तामा बस्नेछैन ।
ग्लोबल टाइम्स ः संरा अमेरिकाले इरानविरुद्ध थप आर्थिक नाकाबन्दी थोपर्न खोज्दै छ । के इरान त्यसको लागि तयार छ ?
मरान्दी ः अमेरिकीहरूले नाकाबन्दी लगाउने अब कुनै क्षेत्र बाँकी छैन । यो सब उसको प्रचारबाजीमात्र हो । गएको सालअघि नै उनीहरूले आफूले नाकाबन्दी लगाउन सक्ने जति सबै क्षेत्रमा नाकाबन्दी थोपरिसकेका छन् । सबै नयाँ नाकाबन्दी भनेको पुरानो नाकाबन्दीको नवीकरणमात्र हो । त्यसमा नयाँ कुनै कुरा छैन । संरा अमेरिकी नाकाबन्दीले इरानी अर्थतन्त्रमा जति क्षति पु¥याउनुपर्ने थियो, पु¥याइसकेको छ । तर, आज साढे एक वर्षपछि इरानी अर्थतन्त्रले पुनः गति लिइरहेको छ । इरानी महिला र केटाकेटीमाथि अमेरिकीहरूले थोपरेको कुरूप र अमानवीय आर्थिक युद्ध कहिल्यै पनि सफल हुनेछैन ।
ग्लोबल टाइम्स ः इरानले सन् २०१५ को आणविक सम्झौताले अघि सारेका कुनै पनि बन्देज स्वीकार नगर्ने बताएको छ । तपाईँको विचारमा के अब त्यो सम्झौता जोगाउन सकिन्छ ? चीनले त्यसमा के भूमिका खेल्न सक्छ जस्तो लाग्छ ?
मेरान्दी ः बितेका साढे एक वर्षयता इरानले एक्लै त्यो सम्झौताको पालना गरिरहेको छ । आज युरोपेली देशहरूलाई सम्झौता पालनाको लागि दबाब दिन इरानले पनि आफ्नो प्रतिबद्धता केही घटाएको हो । तथापि, इरानले अझै पनि सम्झौताको निकै महत्वपूर्ण बुँदाको पालना गरिरहेको छ । इरानी आणविक सम्झौताअनुसार अन्तर्राष्ट्रिय पारमाणविक ऊर्जा एजेन्सीलाई इरानी आणविक कार्यक्रममा सहज पहुँच उपलब्ध गराएको छ । जहाँसम्म चीनले के गर्नसक्छ भन्ने कुरा छ, चीनले अमेरिकालाई उपेक्षा गर्नसक्छ । अमेरिकी दबाबसामु चीन झुक्नु हुन्न । इरानसँग तेल आयातलाई निरन्तरता दिनुपर्छ । सामान्य अवस्थामा भएजस्तो व्यापारलाई निरन्तरता दिनुपर्छ । यसो गर्न सकेमात्र संरा अमेरिकाले कुनै एउटा स्वतन्त्र देशमाथि हस्तक्षेप गर्न नसकिने पाठ सिक्नेछ । इरानले अझै पनि आणविक सम्झौता त्यागेको छैन ।
ग्लोबल टाइम्स ः संरा अमेरिका र इरानबीचको तनाव कतातिर जान्छ जस्तो तपाईँलाई लाग्छ ? यसले मध्यपूर्वको परिस्थितिमा कस्तो प्रभाव पार्नेछ ?
मेरान्दी ः संरा अमेरिकाले मध्यपूर्वमा जित्न सक्दैन । वास्तवमा ऊ पराजित भइसकेको छ । इरानीहरू दिनानुदिन बलियो बन्दै छन्, बलियो बन्दै जानेछ । संरा अमेरिकी सैनिक आधारमा इरानी मिसाइल आक्रमणबाट हामीले यो देखिसकेका छौँ । इरानसँग यमन, लेवनान, सिरिया, इराक र अफगानिस्तानजस्ता यो क्षेत्रका शक्तिशाली मित्र देशहरू छन् । इरानले पर्सियाली खाडीमा नियन्त्रण जमाइसकेको छ । हामीले सोलेमानीको मलामीमा इराकी र इरानी जनता संरा अमेरिकाविरुद्ध एकजुट भएको देखिसक्यौँ । संरा अमेरिकाले अन्तर्राष्ट्रिय कानुन मिचेको छ । उसले इराकमाथि कब्जा जमाएको छ । इराकी जनताको हत्या गरेको छ । युद्ध अपराध गरिरहेको छ । इराक सरकारलाई उपेक्षा र अपमान गरेको छ । इराकसमक्ष गरेका प्रतिबद्धता उसले भुलेको छ । संरा अमेरिकामा असभ्य शासन छ । संरा अमेरिकालाई एउटा औसत देशलाई जस्तो व्यवहार गर्नु नै एउटामात्र समाधानको बाटो हो ।
ग्लोबल टाइम्स ः अमेरिकी राष्ट्रपति ट्रम्पले सोलेमानीको हत्याले भविष्यमा हुने हमला रोकिएको र मध्यपूर्व अब सुरक्षित भएको बताए । तर, पर्यवेक्षकहरू सोलेमानीको हत्याले ट्रम्पले भनेभन्दा ठीकविपरीत परिणाम ल्याउने बताउँछन् । तपाईँको विचारमा के संरा अमेरिकाको कुनै स्पष्ट मध्यपूर्व रणनीति छ ?
मरान्दी ः संरा अमेरिका निकै आक्रामक छ । इरानका वरिष्ठ सैनिक अधिकारीको हत्या गरेर उसले इरानसँग युद्धअपराधीको जस्तो व्यवहार गरेको छ । त्यस्तै बग्दाद अन्तर्राष्ट्रिय विमानस्थलमा इराककै अर्का एक वरिष्ठ अधिकारीको हत्या गरेर उसले इराकविरुद्ध पनि त्यस्तै दुव्र्यवहार गरेको छ । इराकका प्रधानमन्त्रीले संसद्मा बोलेको कुराले संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बोलेको कुरा असत्य भएको पुष्टि गर्छ । संसद्मा इराकी प्रधानमन्त्रीले जनरल सोलेमानी इराकमा आफूलाई भेट्न आएको बताएका छन् । साउदी अरबले पठाएको चिठीबारे कुरा गर्न उनी इराक गएका थिए किनभने इराकी प्रधानमन्त्रीले इरान र साउदी अरबबीच मध्यस्थता गर्ने प्रयास गरिरहेका थिए । इराकी प्रधानमन्त्रीअनुसार ट्रम्पलाई त्यसबारे जानकारी थियो र उनले मध्यस्थताको लागि इराकी प्रधानमन्त्रीलाई धन्यवाद पनि दिएका थए । इराकी प्रधानमन्त्रीको यो भनाइले ट्रम्प र संरा अमेरिकी सरकारको कथन झूटो भएको पुष्टि हुन्छ ।
ग्लोबल टाइम्स ः इस्लामिक आतङ्कवादी समूहविरुद्धको लडाइँमा सोलेमानी एक महत्वपूर्ण व्यक्ति थिए । उनको हत्याले मध्यपूर्वमा आतङ्कवादविरोधी अभियानलाई कस्तो प्रभाव पार्ला ?
मेरान्दी ः अमेरिकीहरू आईएसआईएसलाई पराजित गर्न चाहँदैनथे । जनरल सोलेमानी संसारमा आईएसआईएसविरुद्ध लड्ने सबभन्दा महत्वपूर्ण व्यक्ति हुन् । उनले सिरिया र इराकमा आईएसआईएसलाई पराजित गर्न सहयोग गरे । सुरु–सुरुका दिनमा संरा अमेरिका र उसका मित्र देशहरूले आर्ईएसआईएसलाई सिरियामा मद्दत गरेका थिए । विकिलिक्सका दस्तावेजबाट हामी यो कुरा थाहा पाउन सक्छौँ । सन् २०१२ मा सार्वजनिक संरा अमेरिकी रक्षा विभागको गुप्तचरी दस्तावेजबाट पनि हामी यो कुरा थाहा पाउन सक्छौँ । सन् २०१४ मा जो बिडेनले हर्वार्डमा दिएको भाषण पनि यसको प्रमाण हो । हिलारी क्लिन्टन र उनका इमेलहरूबाट पनि साउदी अरब र कतारले आईएसआईएसलाई मद्दत गरिरहेको पुष्टि हुन्छ । हामीलाई थाहा छ, सिरिया सरकारलाई अपदस्थ गर्न संरा अमेरिका स्वयम्ले अतिवादी समूहहरू जन्माइरहेको थियो । इरान आईएसआईएसविरुद्ध लड्यो । जनरल सोलेमानीले सुरुबाटै आईएसआईएसविरुद्ध लडेका थिए । अमेरिकीहरूले आईएसआईएसविरुद्ध लडेका इरानी, इराकी र सिरियाली सिपाहीलाई मारे पनि आईएसआईएसविरुद्ध इरानीहरूले आफ्नो लडाइँ चालू राख्नेछन् ।
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *