भर्खरै :

प्रजग कोरियासँगको सम्बन्धबारे दक्षिण कोरियाली राष्ट्रपति आशावादी

कोरिया, २९ पुस (सिन्ह्वा) । दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले मङ्गलबार प्रजग कोरियासँगको सम्बन्धका बारेमा आशावादी धारणा व्यक्त गर्नुभएको छ ।
दुई देश र अमेरिकाका बीचमा समेत केही समयदेखि कुराकानी हुन नसकेको भए तापनि चाँडै नै नयाँ चरणमा छलफलहरू हुने विश्वास व्यक्त गर्नुभएको हो ।
नयाँ वर्षका अवसरमा राष्ट्रपति कार्यालय ब्लु हासउमा शुभकामना दिने क्रममा उहाँले दुई कोरियाको सम्बन्धमा केही कठिनाइ भएपनि सुधार हुने बताउनुभयो ।
वार्ताबाट नै आपसी सम्बन्ध सुधार्न सकिने र अब त्यसतर्फ फेरि आफूले जोड दिने उहाँले जानकारी दिनुभयो ।
राष्ट्रपति मुनले आफ्नो सरकार आपसी सम्बन्धहरु सकारात्मक ढङ्गले अगाडी बढ्छन् भन्ने विश्वासमै रहेको बताउनुभयो ।
उहाँले दुई कोरिया बीचको आपसी सम्बन्ध र प्रजग कोरियासँग अमेरिकाको सम्बन्धमा निराशा भइहाल्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ । मुनको अग्रसरता र समन्वयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रजग कोरियाका सर्वोच्च नेता किम जोङ अनको संयुक्त शिखर बैठक पनि सम्पन्न भएका छन् ।
गत दुई वर्षमा भएका तीन ओटा शिखर बैठकपछि सम्बन्ध सामान्य अवस्थामा रहेकाले यस वर्ष पनि महत्वपूर्ण बैठकहरु हुन सक्ने अपेक्षा गरिएको छ ।
विगत लामो समयदेखि एक अर्कालाई कडा शत्रुका रूपमा हेर्दै आएका अमेरिका र प्रजग कोरियाले सम्बन्धलाई सुधार्दै नयाँ चरणमा लैजाने प्रयास हुदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *