भर्खरै :

राष्ट्रिय भूकम्प सुरक्षा दिवस, जनसङ्ख्या वृद्धिसँगै क्षतिको सम्भावना बढी

भक्तपुर, २ माघ । ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ भन्ने उद्घोषका साथ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले बिहीबार विशेष समारोहबीच २२ औँ भूकम्प सुरक्षा दिवस मनायो ।
भक्तपुरको विश्व सम्पदा स्थल लाय्कु दरबार क्षेत्रमा मनाइएको सो दिवसको उद्घाटन गृहमन्त्री रामबहादुर थापाले गर्नुभयो ।
उद्घाटन समारोहमा गृहमन्त्री थापाले विपद् जोखिम न्यूनीकरणमा स्थानीय सरकारको महत्वपूर्ण योगदान हुने उल्लेख गर्दै त्यसको लागि स्रोत र साधन जुटाउने प्रयासमा रहेको बताउनुभयो ।
आउने सन्ततिलाई सुरक्षित र सुनिश्चित गर्ने सड्ढल्प समाजका हरेक पक्षको सहयोग आवश्यक हुने औँल्याउँदै उहाँले सुरक्षित निर्माण सुनिश्चित गर्न जनचेतना जगाउने र पूर्वाधार तयार गर्नुपर्नेमा जोड दिनुभयो ।
नेमकिपाका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले जनसङ्ख्या वृद्धिले पछि हुने विपद्मा झन बढी क्षति हुने सम्भावना भएको हुँदा देशको सन्तुलित विकासमा जोड दिनुपर्छ भन्नुभयो ।
उपत्यकामा ठूला सहरहरूको विकासभन्दा यहाँको खानेपानी, प्रदूषण, सडक जाम, आपराधिक क्रियाकलाप घटाउने उपाय खोज्नुपर्ने आवश्यकता औँल्याउँदै सांसद सुवालले कमजोर संरचनाले नै बढी क्षति हुने हुँदा निर्माणकै बेला घर निर्माण र सम्बन्धित सामग्री ठीक छ कि छैन भनी अनुगमन गर्नुपर्छ भन्नुभयो ।
देशमा भइरहेको नीतिगत भ्रष्टाचारले सुशासन नहुने कुरा उल्लेख गर्दै उहाँले स्थानीय तहलाई जिम्मा दिए काम समयमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले निर्माण कार्य ठेक्कामा भन्दा उपभोक्ता समितिमार्फत काम गराउनु अत्युत्तम हुन्छ भन्नुभयो ।
राष्ट्रिय पुनः निर्माण प्राधिकरणका कार्यकारी प्रमुख सुशील ज्ञवालीले बनाइएको संरचना कमजोर भएकैले भूकम्पमा बढी क्षति भएको उल्लेख गर्दै बलियो संरचनाले क्षति कम हुन्छ भन्ने सन्देश नयाँ पुस्तालाई दिनुपर्नेमा जोड दिनुभयो ।
नागरिकको सुरक्षा सुनिश्चित गर्न जनचेतना जगाउने काममा स्थानीय सरकार चनाखो हुनुपर्ने विचार व्यक्त गर्दै कार्यकारी प्रमुख ज्ञवालीले क्षति न्यूनीकरण गर्नेसम्बन्धी सीप र ज्ञान बाँड्नु नै भूकम्प दिवसको उपलब्धि हुने बताउनुभयो ।
जनताले गरेको कामलाई उत्साहित गर्न, गर्व गर्नलायकको कामको प्रशंसा गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भक्तपुरको राष्ट्रिय कला सङ्ग्रहालय पुनःनिर्माणको प्रक्रिया चाँडै निष्कर्षमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
भूकम्प सुरक्षा दिवस व्यवस्थापन उपसमितिका संयोजक तथा मूल समारोह समितिका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले हरेक संरचना बलियो, भरपर्दाे र गुणस्तरीय बनाउन सङ्घ, प्रदेश र स्थानीय सबै तहका सरकार जिम्मेवार हुनुपर्छ भन्नुभयो ।
राष्ट्रिय भूकम्प सुरक्षा दिवसलाई जनचेतना फैलाउने एक महत्वपूर्ण अभियानको रूपमा लिनुपर्ने विचार व्यक्त गर्दै नगर प्रमुख प्रजापतिले भूकम्प पीडितहरूलाई दिने अनुदान रकम वृद्धि गर्नुपर्ने, अनुदान किस्ताबन्दीमा नभई एकमुष्ट दिनुपर्ने, अनुदान वितरणको समय बढाउनुपर्ने र घरबारविहीन सुकुमवासीहरूको निम्ति नेपाल सरकारले नै घर निर्माण गरी उचित व्यवस्थापन गर्नुपर्नेमा सम्बन्धित सबैको ध्यानाकर्षण गर्नुभयो ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद् जोखिम न्यूनीकरणमा सङ्घ, प्रदेश र स्थानीय तहलाई प्रभावकारी बनाउनुपर्ने चर्चा गर्दै देशभरका घरबास सुरक्षित गर्न सुरक्षित नेपाल बनाउनेतर्फ लाग्नुपर्छ भन्नुभयो ।
७७ वटै जिल्लाकै घर सुरक्षित गर्ने बेला आएको उल्लेख गर्दै कार्यकारी प्रमुख पोखरेलले सोको व्यवस्थापन गर्न आर्थिक तथा प्राविधिक सहयोगको खाँचो छ भन्नुभयो ।
संयुक्त राष्ट्र सङ्घका आवासीय प्रतिनिधि भालेरी जुलियन्डले आपत्विपत् तथा सङ्कट पर्दा पहिलो सहयोग गर्ने समुदाय नै हुने विचार व्यक्त गर्दै आफ्नो ज्ञान र सीप समाजमा बाँड्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भूकम्प सुरक्षा दिवसका सदस्य सचिव एवम् भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले क्षति न्यूनीकरण गर्न दीर्घकालीन योजना आवश्यक भएको उल्लेख गर्दै सबै क्षेत्रबाट व्यवस्थित र संस्थागत कार्यको खाँचो छ भन्नुभयो ।
भूकम्प प्रतिरोधात्मक भवन अनिवार्य हुनुपर्नेमा जोड दिँदै उहाँले आपतकालीन समयमा सहयोग गर्न स्वयम्सेवकको सङ्ख्या बढाउने तयारी गरिरहेको बताउनुभयो ।
उक्त समारोहमा विजयकृष्ण उपाध्यायले भूकम्प सुरक्षा अभ्यासबारे जानकारी दिनुभयो भने भूकम्प सुरक्षा दिवस प्रचारप्रसार उपसमितिका संयोजक एवम् सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले सुरक्षित र भूकम्प प्रतिरोधात्मक घर बनाउन राष्ट्रिय भवनसंहिता देशभर लागू भएको बताउनुभयो ।
समारोह हुनुअघि भूकम्पका बेला भएका मृतकहरूप्रति मौनधारण गरिएको थियो ।
समारोहको बीचमा ‘घुँडा टेकी गुँडुल्की ओत लागी समात’ बारे अभ्यास गरिएको थियो भने सहभागी सबैलाई भूकम्पीय जोखिम न्यूनीकरण तथा पूर्वतयारीमा हातेमालो गरेर सामूहिक प्रतिबद्धता जनाइएको थियो ।
समारोह हुनुअघि भनपाको नगर प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा लामगालबाट र उपप्रमुख रजनी जोशीको नेतृत्वमा भाज्या पुखु (पोखरी) बाट ¥याली सुरु भएको थियो ।
¥यालीमा धिमाय् बाजा, धाँ बाजा, लाखे नाच, माक प्याखं (नाच) जनप्रतिनिधि, कार्यालय प्रमुख, सेना, सशस्त्र प्रहरी, प्रहरी, सेना र सशस्त्र प्रहरीको ब्यान्डबाजा, स्काउट, विद्यालय र कलेजका शिक्षक, विद्यार्थी, कर्मचारी, उद्योग व्यवसायी आदिको सहभागिता थियो ।
¥याली नगर परिक्रमा गरी विश्व सम्पदा स्थल भक्तपुर दरबार क्षेत्रमा पुगी समापन समारोह भएको थियो ।
यसअघि लामगालमा ख्वप मावि र ख्वप कलेजको तर्फबाट भूकम्प सुरक्षासम्बन्धी जनचेतनामूलक नाटक देखाइएको थियो भने नेपाल स्काउट जिल्ला स्काउट भक्तपुरले भूकम्पमा भएका घाइतेहरूको उद्धार गर्नेबारे अभ्यास गराइएको थियो ।
त्यस्तै दरबार क्षेत्र परिसरमा ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङको आयोजनामा भूकम्पीय जोखिम न्यूनीकरणसम्बन्धी प्रस्तुति प्रदर्शन गरिएको थियो । उक्त प्रदर्शनीको गृहमन्त्री थापालगायत अतिथिहरू तथा सर्वसाधारणले पनि अवलोकन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *