भर्खरै :

मौलिकता नै पहिचान

सुनिल प्रजापति
(२२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोहका सभापति एवम् मूल समारोह व्यवस्थापन उपसमितिका संयोजक तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिद्वारा बिहीबार व्यक्त मन्तव्य)
‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ मूल नाराका साथ २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस भक्तपुरमा हुन गइरहेको यो कार्यक्रमले हामी भक्तपुरवासीलगायत सम्पूर्ण देशवासीलाई भूकम्पबाट सुरक्षित हुने विषयमा थप सचेत बनाउने अपेक्षा गरेका छौँ ।
वि.स. १९९० साल माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनास्वरुप हरेक वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवस मनाउँदै आएको हो । भूकम्प प्राकृतिक विपत्ति हो । यसलाई कसैले रोक्नसक्दैन । समय –समयमा भूकम्प आइरहन्छ तर त्यसबाट जोगिन पूर्वतयारी आवश्यक छ । वास्तवमा भूकम्पले भन्दा हामीले बनाएका कमजोर संरचनाले हाम्रो धनजनको क्षति हुने हो । हाम्रा हरेक संरचना बलियो, भरपर्दो र गुणस्तरीय हुनु आवश्यक छ । त्यसको लागि सङ्घ, प्रदेश र स्थानीय सबै तहका सरकारहरू जिम्मेवार हुनुपर्छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवसलाई जनचेतना फैलाउने एक महत्वपूर्ण अभियानको रूपमा लिइनुपर्छ ।
भक्तपुर कला र संस्कृतिले भरिएको प्राचीन नगर हो । देशको सानो नगरपालिकामध्ये एक भक्तपुर नगरमा मूर्त र अमूर्त गरी थुप्रै अनुपम सम्पदाहरू छन् । दरबार क्षेत्र, टौमढी क्षेत्र, दत्तात्रय क्षेत्र भक्तपुरका विशेष आकर्षणका सम्पदा केन्द्रहरू हुन् भने पुरानो बस्ती सिङ्गो नै सम्पदा बस्ती हो । लिच्छवीकाल र मल्लकालमा निर्मित कैयांैँ सम्पदाहरू अहिले पनि जीवन्त छन् । संरक्षणको अभावमा कैयौँ सम्पदाहरू लोप भइसके भने कैयौँ लोपोन्मुख स्थितिमा छन् । भक्तपुर नगरपालिकाले सम्पदा क्षेत्रहरूको अध्ययन र अनुसन्धान गर्दै सम्पदाहरूलाई पुनः जीवन दिने कोसिस गरिरहेको छ ।
ङातापोल (पाँचतले मन्दिर), भैरवनाथको मन्दिर, ५५ झ्याल दरबार, सुनढोकालगायत काष्ठकला, प्रस्तरकला र धातुकलाका उत्कृष्ट नमुनाहरू हुन् । भूकम्पबाट क्षतिग्रस्त भैरवनाथको मन्दिर हालै जीर्णोद्धार सम्पन्न गरिसकेका छौँ भने ङातापोल (पाँचतले मन्दिर) जीर्णोद्धार गर्दै छौँ । बिग्रे–भत्केका सम्पदाहरूको संरक्षण र संवद्र्धन गर्दै भक्तपुर नगरपालिका ‘पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति’ नारालाई सार्थक बनाउन क्रियाशील छ ।
२०७२ सालको भूकम्पले अति प्रभावित जिल्लामध्ये भक्तपुर पनि एक हो । भक्तपुर जिल्लाका चार नगरपालिकामध्ये भक्तपुर नगरपालिकामा मात्र आंशिक र पूर्ण गरी करिब ८ हजार घरमा क्षति पुगेको र २५२ जना नागरिकको ज्यान गएको थियो । क्षतिग्रस्त निजी घरमध्ये पहिलो किस्ता लिने लाभग्राहीको सङ्ख्या ५६३७, दोस्रो किस्ता लिने लाभग्राहीको सङ्ख्या १८७४ र तेस्रो किस्ता लिने लाभग्राही १५७२ मात्रै छन् । भूकम्प गएको ४ वर्ष बितिसक्दा पनि धेरै घरहरू निर्माण गर्न बाँकी छन् । जग्गामा पीडितहरूको पूर्ण स्वामित्व कायम नहुनु, मोहियानी हक, गुठी जग्गा वा दर्ताविनाको जग्गामा घर बनाएर बस्नु, एउटै घरमा बहुस्वामित्व कायम हुनु, सरकारले किस्ताबन्दीमा अनुदान वितरण गर्नु र पहिलो किस्ताबापत माटो पन्छाउन पनि नपुग्ने रु. ५० हजारमात्र दिनु पीडितहरूले घर बनाउन नसक्नुका प्रमुख कारणहरू हुन् ।
पुनः निर्माणसँगै निजी घर निर्माणमा पनि मौलिकतालाई नगरपालिकाले जोड दिँदै आएको छ । मौलिकता नै हाम्रो पहिचान हो । पुरानो नगरभित्र मौलिक शैलीमा घर निर्माण गर्ने घरधनीहरूलाई घरको मोहडामा लाग्ने काठ, इँटा र झिङ्गटीको लागि लाग्ने खर्चमध्ये ३५ प्रतिशत रकम नगरपालिकाले अनुदान दिई उत्साहित गर्दै आएका छौँ । हजारौँ घर र सम्पदा निर्माण गर्नु हाम्रो लागि ठूलो चुनौती हो । यद्यपि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले कल्पना गर्नुभएको ‘१०० वर्षपछिको भक्तपुर’ पुस्तकअनुसार आधार निर्माण गर्ने यो एक महत्वपूर्ण अवसरको रूपमा हामीले लिएका छौँ ।
भूकम्पबाट भक्तपुर नगरभित्र रहेका ११५ भन्दा बढी सम्पदामा क्षति भएको थियो । नगरपालिकाले आफ्नो स्रोत र साधनको अधिकतम परिचालन गरी २०७६ मंसिर १ गतेसम्म ९१ वटा सम्पदा पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न गरिसकेको छ भने डेढ दर्जन सम्पदाहरू निर्माणाधीन छन् । हालसम्म सम्पदा पुनःनिर्माणमा नगरपालिकाले २५ करोड ४९ लाख ५२ हजार रुपैयाँ खर्च गरिसकेको छ । सम्पदा पुनःनिर्माणमा कुनै विदेशीको सहयोग छैन ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजमा नेपालमै पहिलो पटक भूकम्प प्रविधि विषयमा स्नातकोत्तर तहको अध्यापन गराई ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङका प्राविधिकहरूमार्फत भूकम्पले क्षति पु¥याएका सम्पदाहरूको विस्तृत इन्जिनियरिङ अध्ययन गराइरहेका छौँ । उहाँहरूको अध्ययन प्रतिवेदनकै आधारमा भक्तपुर नगरपालिकाले सम्पदा पुनः निर्माण कार्यलाई तीव्रता दिइरहेको छ ।
हामी ठेकेदारलाई भन्दा स्थानीय जनतालाई विश्वास गर्छौँ । स्थानीय जनताबाट बनेका उपभोक्ता समितिहरूमार्फत नै भक्तपुरका सम्पदाहरू पुनःनिर्माण हुँदै छन् । उपभोक्तामार्फत काम हुँदा मौलिकताको संरक्षण हुने, सम्पदामाथिको अपनत्व कायम रहने, स्थानीय जनताले रोजगारी पाउने र निर्माण गुणस्तरीय हुने हाम्रो अनुभव छ ।
भक्तपुरमा रहेका केही महत्वपूर्ण सम्पदाहरू अझै पुनःनिर्माण हुन सकेका छैनन् । दरबार क्षेत्रमा अवस्थित राष्ट्रिय कला सङ्ग्रहालय रहेको भवन र लाल बैठक पुनःनिर्माण गर्न बाँकी छन् । ती भवनहरू मल्लकालीन समयमा एउटै दरबार थियो । राणाकालमा मात्रै टुक्राएर दुई अलग अलग भवन निर्माण भएको इतिहास छ । भक्तपुर नगरपालिकाले विगतका फोटोहरू, ऐतिहासिक तथ्य र प्रमाणहरूको आधारमा मल्लकालीन शैलीमै निर्माण गर्नुपर्ने अडानपछि २०७५÷४÷८ मा भक्तपुर नगरपालिका, संस्कृति मन्त्रालय र पुरातत्व विभागको संयुक्त बैठकले मल्लकालीन शैलीमै नगरपालिकाले बनाउने निर्णय ग¥यो । तर, बजेट व्यवस्था नहुनु र पुरातत्व विभागले आवश्यक प्रक्रिया अगाडि नबढाउँदा कार्य सुरु हुन सकेको छैन । भनपा वडा नं. ९ स्थित पुजारी मठ, पहिले नगरपालिका कार्यालय रहेको थन्थु दरबारलगायत बजेट र प्राविधिक कारण पुनःनिर्माणमा ढिलाइ भइरहेको यथार्थ यहाँ प्रस्ट पार्न चाहन्छौँ ।
‘दरबारमा बस्नेले सडक र टहरामा बस्नेको दुःख बुझ्दैनन्’ भन्ने जनताबीच व्यापक चर्चा छ । यसर्थ भूकम्प पीडितलाई दिने अनुदान रकम वृद्धि गर्नुपर्ने, अनुदान किस्ताबन्दीमा नभई एकमुस्ट दिनुपर्ने, अनुदान वितरणको समय बढाउनुपर्ने र घरबारविहीन सुकुमवासीहरूको निम्ति नेपाल सरकारले नै घर निर्माण गरी उचित व्यवस्थापन गर्नुपर्नेतर्फ सम्बन्धित सबैको ध्यानाकर्षण गर्न चाहन्छौं ।
विपद् व्यवस्थापनको लागि भक्तपुर नगरपालिकाले विपद् व्यवस्थापन ऐन २०७४ पारित गरी नगर प्रमुखको अध्यक्षतामा विपद् व्यवस्थापन नगर समिति गठन गरिसकेको छ । विपद व्यवस्थापन कोषको रूपमा रु. २० लाख नगरपालिकाले विनियोजन गरेको र अन्य क्षेत्रबाट प्राप्त रकम पनि त्यही कोषमा जम्मा गर्ने व्यवस्था मिलाइएको छ । नगरपालिकाले नेपाली सेनासँग समन्वय गरी तीनवटा समूहलाई विपद व्यवस्थापन तालिम दिइसकेको छ । नगरभित्र १२२ जना तालिम प्राप्त विपद व्यवस्थापन उद्धारकर्ताहरू तयारी अवस्थामा छन् । त्यसबाहेक विभिन्न संस्थासित समन्वय गरी विपद् व्यवस्थापन र क्षति न्यूनीकरणसम्बन्धी कार्यहरू गर्दै आएका छौँ । भूकम्पबाट क्षति न्यूनीकरण गर्न नेपाल सरकार, नगरपालिका र भवन विभागको भवन निर्माण मापदण्डलाई कडाइका साथ लागू गर्दै आएका छौँ ।
नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गर्दै २० लाख विदेशी पर्यटक भित्याउने योजना सार्वजनिक ग¥यो । त्यसलाई सहयोग पु¥याउने उद्देश्यले भक्तपुर नगरपालिकाले विभिन्न पर्यटनकेन्द्रित गतिविधि गर्दै छ । भक्तपुर आउने र यही बास बस्ने पर्यटकहरूको लागि टोल–टोलमा रहेका पाटी–पौवामा भजन गाउने, चोक–चोकमा सांस्कृतिक प्रदर्शन गर्नेजस्ता तयारी सुरु गरेको छ ।
आर्थिक वर्ष २०७५÷७६ मा भक्तपुरमा जम्मा २ लाख ५३ हजार ८६३ जनाले भक्तपुर भ्रमण गरेका थिए भने आ.व. २०७६÷७७ को साउनदेखि पुस मसान्तसम्म ६ महिनाको अवधिमा जम्मा १ लाख ३३ हजार ६३२ जना पर्यटकहरूले भक्तपुर भ्रमण गरेको रेकर्ड छ ।
भक्तपुर आउने पर्यटकहरूले कुनै किसिमको असहजता महसुस गर्न नपरून् भन्ने उद्देश्यले ठाउँ –ठाउँमा पर्यटक सूचना केन्द्र निर्माण, तालिम प्राप्त स्थानीय पथप्रदर्शकहरूको व्यवस्था, महत्वपूर्ण सम्पदा क्षेत्रहरूमा गाडी निषेध, चिनियाँ र जापानी भाषाको कक्षा सञ्चालन र मूल सडकमा ढुङ्गा छपाइ तथा आवश्यक शौचालयको बन्दोबस्त पनि नगरपालिकाले गरेको छ ।
पर्यटकहरूको लागि सुरक्षा अति महत्वपूर्ण हुने हुँदा प्रमुख ठाउँहरूमा सीसी क्यामेराको बन्दोबस्त, प्रहरीसँग समन्वय गरी समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई पनि सक्रिय बनाउने हाम्रो प्रयास हुँदै आएको छ । पर्यटकहरूको बसाइ लम्ब्याउने र मनोरञ्जन लिनसक्ने गरी सिद्धपोखरीमा नौका बिहार, सम्पदा क्षेत्रमा बत्ती व्यवस्थापनलाई प्राथमिकतामा राखेर कार्य गर्दै आएका छौँ ।
भ्रमण वर्षकै अवसर पारेर भक्तपुर नगरपालिकाले २०७६ चैत ४ गतेदेखि ८ गतेसम्म पाँचदिने भक्तपुर महोत्सव गर्ने घोषणा गरिसकेको पनि यहाँ जानकारी गराउन चाहन्छौँ । महोत्सवमा हस्तकलाको जीवन्त प्रदर्शनी, व्यापार मेला, नौका बिहार, शैक्षिक प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, वाद्यवादन प्रतियोगिता गर्ने तयारी छ भने नेवारी परम्परागत जीवनशैली प्रदर्शनी, माटाका भाँडाको सीप प्रदर्शनीलगायत प्रदर्शन गरी महोत्सव भव्य बनाउने कोशिश भइरहेको छ ।
उक्त महोत्सव भव्य रुपमा सम्पन्न गर्न नगर प्रमुखको अध्यक्षतामा १६१ सदस्यीय महोत्सव मूल समारोह समिति गठन गरी तयारी अगाडि बढाइसकेको छ भने सन् २०२० भरि नै महोत्सवमय बनाउने उद्देश्यले मासिकरूपमा विभिन्न गतिविधिहरू गर्ने व्यवस्था मिलाउँदै छौँ ।
अन्तमा, २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन विभिन्न संस्थाबाट पाल्नुभएका सम्पूर्ण सहभागीलाई भक्तपुर नगरपालिकाको तर्फबाट हार्दिक धन्यवाद दिन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *