भर्खरै :

पिटेर विद्यार्थी तह लाग्दैनन्

– आरोही श्रेष्ठ
बेलाबखत संसारभरबाट शिक्षकले विद्यार्थीलाई पिटेका घटना सार्वजनिक भइरहन्छन् । विश्वभरि बालबालिका विद्यालयबाट सिकाइसँगै शिक्षकको पिटाइ खाएर घर फर्कन बाध्य छन् । युनिसेफले जारी गरेको रिपोर्टअनुसार संसारभर १३ देखि १५ वर्ष उमेर समूहका करिब आधा अर्थात् १५ करोड बालबालिका हिंसाको अनुभव गर्छन् । सिकाइका विभिन्न माध्यमहरू भए तापनि अझै पनि विद्यालयमा शारीरिक एवम् मानसिक सजाय दिने समस्या छ ।
नेपालमा पनि विभिन्न विद्यालयमा शिक्षकले विद्यार्थीलाई दिएका शारीरिक तथा मानसिक यातनाका कारण बालबालिकाहरू विद्यालय जानै छाडेका घटना प्रशस्तै भेटिन्छन् । सामान्यतया विद्यार्थी कहिले गृहकार्य नगरेको निहुँमा, हल्ला गरेको, चकचक गरेको, समयमै उपस्थिति नभएको जस्ता विभिन्न बहानामा पिटाइ खान बाध्य छन् । युनिसेफको रिपोर्ट अनुसार नेपालमा १ देखि १४ वर्ष उमेर समूहका १० मध्ये ८ बच्चाहरू अर्थात् ८० प्रतिशत बच्चा शारीरिक एवम् मानसिक हिंसा भोग्न बाध्य छन् ।
घटनाबारे धेरैले चर्चा गर्छन्, दोषीमाथि कारबाही हुनुपर्ने माग पनि सबैजसो क्षेत्रले उठाउने गर्छन् तर घटनाको वास्तविक कारण र समस्या समाधानको उपायबारे थोरैमात्र चर्चा हुने गर्छ । हाम्रो देशमा अझै पनि अधिकांश विद्यालयमा विद्यार्थीलाई मनोवैज्ञानिक र प्रयोगात्मक ढङगले अध्यापन गराउने चलन पुगेकै छैन । बालबालिकालाई बन्द कोठामा थुनेर, हप्काइदप्काइ गरेर र सबैका सामु दण्डित गरेर होइन मित्रवत् व्यवहार गरेर, खेल र प्रयोगात्मक विधि उपयोग गरेर सिकाउने हो भने छिट्टै र सजिलै सिक्छन् भन्ने मान्यता शिक्षक र अभिभावक दुवै पक्षमा आएको देखिंदैन । अझै पनि धेरैमा पिटेर विद्यार्थी तह लगाउनुपर्छ भन्ने मानसिकता बाँकी छ जुन समय क्रममा गलत सावित भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *