भर्खरै :

बाँकेमा श्रमिक साप्ताहिकबारे अन्तरक्रिया

नेपालगञ्ज, ४ माघ । श्रमिक साप्ताहिक शनिबार नेपालगञ्जमा पाठकबीच पत्रिकामा प्रकाशित लेखरचनाबारे एक अन्तरक्रिया भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी, कर्णाली प्रदेशका संयोजक एवम् ‘श्रमिक’ साप्ताहिकका प्रकाशक सरोजराज गोसाईले श्रमिक साप्ताहिकको मुख्य लक्ष्य कामदार वर्गीय राजनीतिक कार्यकर्ता एवम् समर्थकहरूको सांस्कृतिक स्तर उकास्नु रहेको धारणा राख्नुभयो ।
उहाँले श्रमिक साप्ताहिकले कामदार वर्गको दुःख र सङ्घर्षको कथा लेख्ने विचार राख्दै प्रकाशित लेखरचनाबारे समालोचना एवम् सल्लाह सुझावको आवश्यकता रहेको विचार राख्नुभयो ।
संयोजक गोसाईले मिलेनियम च्यालेञ्ज कर्पोरेसनको नाममा साम्राज्यवादी देशहरूले नेपाललाई युद्धभूमि बनाउने षड्यन्त्र गरिरहेको बारे श्रमिक साप्ताहिकले पाठकलाई सचेत पारिरहेको उल्लेख गर्दै भ्रष्टाचार, अनियमितता, महँगी आदिविरुद्ध श्रमिक निरन्तर लागिरहने धारणा राख्नुभयो । उहाँले विश्वका मजदुर वर्गीय आन्दोलन र सङ्घर्षको पक्षमा श्रमिक साप्ताहिक निरन्तर लाग्ने विचार राख्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले कम्युनिस्टको फुर्को जोडिएको दुईतिहाइको सरकारले जनतालाई निराश बनाएको भन्दै सरकार भ्रष्टाचार र अनियमितताको दलदलमा फसेको धारणा राख्नुभयो ।
नेमकिपा जुम्लाका अध्यक्ष शिवलाल डाँगीले लिम्पियाधुरा जोगाउन कूटनीतिक उपाय गर्ने भन्नु सरकारको कायरता भएको भन्दै अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाली सार्वभौमिकता रक्षा गर्नुपर्ने विचार राख्नुभयो ।
नेमकिपा बाँके जिल्ला अध्यक्ष बखतबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय सदस्य मिलन गणेजूले पनि मन्तव्य राख्नुभएको थियो ।
श्रमिक साप्ताहिकको अन्तरक्रियामा पार्टी जिल्ला उपाध्यक्ष गौरीकान्त आचार्य, डिल्लीबहादुर पुन, शेरबहादुर विक, प्रभा मल्लाह, कोकिला शाही, मोहन पुन, शेरबहादुर शाही, सीता शाही, रुपेश श्रेष्ठ, हिराबहादुर शाही, नगेन्द्र बुढा, शान्ति भण्डारी, निमबहादुर भण्डारीलगायतले आआफ्नो विचार राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *