भर्खरै :

वनजङ्गल जोगाउने एउटा वैकल्पिक तरिका

 निकोला अलेक्सान्द
गत साल ‘साइन्स’ जर्नलमा प्रकाशित एक अध्ययनले एउटा बृहत् र निकै सरल दाबी ग¥योः जलवायु परिवर्तन कम गर्न अरबौँ नयाँ वृक्षरोपण गरौँ ।
युरोप र संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनका विभिन्न अनुसन्धान निकायसम्बद्ध वैज्ञानिकहरूको टोलीले तयार गरेको सो अध्ययन प्रतिवेदनको निष्कर्ष उल्लेख्य सङ्ख्यामा सञ्चारमाध्यमले प्राथमिकताका साथ समाचार प्रकाशन ग¥यो । लगत्तै संसारभरि नै वृक्षरोपणको क्रम ह्वात्तै बढ्यो । इथियोपियाले एकै दिनमा ३५ करोड रुख रोप्ने घोषणा ग¥यो । भारतले २२ करोड रुख रोप्ने वाचा ग¥यो । संरा अमेरिकाले एसिया र अफ्रिकी सहरमा जङ्गल बनाउने योजना सार्वजनिक ग¥यो । जैविक कार्बन इन्जिनियरिङदेखि इजिजेट र वार्नर म्युजिकजस्ता कम्पनीहरूले वृक्षरोपणलाई आफ्नो प्राथमिकतामा समेटे ।
यो उत्साहलाई बुझ्न सकिन्छ । केही रुख रोपेर हामीले शताब्दीदेखि गर्दै आएको वन विनाशको प्रभाव रोक्न सकिने र पृथ्वीलाई जिउन योग्य गरी चिसो बनाउन सकिने त्यो विचार वास्तवमै राम्रो सुनिन्छ ।
अध्ययनले एक त्रिलियन नयाँ रुखले २०५ बिलियन मेट्रिक टन कार्बन सञ्चय गर्नसक्छ । त्यो भनेको हालको वायुमण्डलको कार्बन भण्डारको २५ प्रतिशत बराबर हुन्छ । त्यत्ति कार्बन भनेको संसारको तापक्रमलाई १.५ डिग्री सेल्सियसभन्दा कम राख्न पुग्ने हुन्छ ।
हो, हामीले रुख रोप्नुपर्छ । संसारभरि वार्षिक झन्डै १ अर्ब जमिन कुनै प्रकारको वृक्षरोपणको लागि उपलब्ध हुन्छ । कुरा त्यत्ति मात्र हुँदो त त्यो निकै सजिलो छ ।
जलवायु परिवर्तनविरुद्धको लडाइँमा हामी सफल बन्न हामीले दुई वटा काम गर्नुपर्छः कार्बन डायोअक्साइड उत्सर्जन रोक्नुपर्छ र अहिले नै हामीले उत्सर्जन गरिरहेको कार्बन डायोअक्साइड घटाउनुपर्छ । वन जङ्गलको पुनःस्थापना दोस्रो पाटो हो । तर, सबै त्यस्ता पुनःस्थापना समान हुँदैन ।
अलमलिरहेको परिस्थितिमा साइन्स जर्नलमा प्रकाशित अध्ययनले त्रिलियन रुख रोप्न हुने खर्चबारे कममात्र ध्यान दिएको छ । हामीले वातावरण संरक्षणको लागि गरिरहेको खर्च र गर्नुपर्ने खर्चबीचमा अहिले नै ३ खर्ब ५० अर्ब बराबरको खाडल छ । एक त्रिलियन रुख रोप्न र हुर्काउन ठूलो परिमाणमा पैसाको खाँचो हुन्छ । त्यत्ति पैसा यो क्षेत्रमा खर्च गर्न सरकारले हिम्मत गर्न सकेको छैन । अध्ययनअनुसार हामीले झन्डै ०.९ विलियन हेक्टर बराबरको जमिनमा वृक्षरोपण गर्नुपर्छ । त्यो भनेको एउटा चीन बराबर हुन्छ । त्यति जमिनमा वृक्षरोपण गर्नु एउटा जादुजस्तै हुनेछ । एक हेक्टर जमिनमा वृक्षरोपण गर्न औसत लागत ३ हजार अमेरिकी डलर लाग्नेछ । यो वृक्षरोपण परियोजनाको मूल्य अनपेक्षित महँगो हुने छ ।
तर, हामीले नष्ट गरेका रुखलाई पुनःस्थापित गर्ने अर्को व्यावहारिक तरिका पनि छ । त्यो भनेको प्रकृतिलाई आफ्नै लयमा हिँड्न दिने ।
यो विज्ञानमा आधारित रणनीति हो । यसलाई सहयोगात्मक प्राकृतिक पुनःस्थापना (असिस्टेड नेचुरल रिजेनेरेसन) पनि भनिन्छ । यो काम प्राविधिक र उच्च उपलब्धिमूलक, व्यवहारिक र नयाँ रुखका बुट्टा रोप्नुभन्दा ७० प्रतिशतले सस्तो हुन्छ ।
यो रणनीतिको अपेक्षित लक्ष्य भनेको प्रकृतिको लचकतालाई बुझेर जङ्गलको पुनःस्थापना र संरक्षण गर्नु हो । प्राकृतिक पुनःस्थापनाका तगरा पन्छाउनु हो । साथै आवश्यक परेको अवस्थामा पुनःस्थापनालाई गति दिनु हो । समयान्तरमा रुख हुर्किने छन् र जङ्गलहरूले जीवन पाउने छन् । सहयोगात्मक प्राकृतिक पुनःस्थापनाले यो प्रक्रियालाई टेवा र गति दिने छ । व्यवहारमा यो कसरी लागू हुन्छ ?
प्राकृतिकरूपमै स–साना रुख हुर्र्कदै गरेका क्षेत्रमा आगलागी हुन नदिने, वनजङ्गल नजिकै रुख हुर्कन उपयुक्त माटो भएको ठाउँमा बीउ छरिदिने र प्राकृतिकरूपमा वनजङ्गल हुने ठाउँमा स्वभावतः त्यसैको विकास गर्ने गरी कृषिलाई प्रोत्साहित गर्ने राष्ट्रिय अनुगमनकारी बल गठन गर्ने यसका केही व्यवहारिक पाइला हुन् ।
यो रणनीतिको अर्को निकै रमाइलो तरिका भनेको व्यवहारिक अणुकरण अर्थात् एप्लाइड न्युक्लिसन हो । यसलाई ‘रुख टापु’ अर्थात् ट्री आइल्यान्ड पनि भनिन्छ । जसअन्तर्गत केही थोरै सङ्ख्यामा वृक्षरोपण गर्ने जसले चराचुरुङ्गी र अन्य बीउ छर्ने कीटपटङ्गलाई आकर्षित गर्ने छ । तिनले रुख टापु वरपर बीउ छर्ने छ । क्रमशः त्यस्ता रुख टापुका जङ्गल जोगिने छन् ।
यदि यो यति सरल र प्रभावकारी छ भने आजसम्म यो किन कार्यान्वयन हुन सकेको छैन ? पहिलो कारण, वृक्षरोपणमा लागेका मानिसहरूसम्म यो कुरा पुग्न वा बुझाउन सकिएको छैन । दोस्रो, यो रणनीतिक बृहत्लाई आकारमा कार्यान्वयन गर्न सकिने समाधानको रूपमा लिइएको छैन । तर, प्राकृतिक प्रक्रियामा आधारित यो रणनीतिको परीक्षण ब्राजिलमा गर्दा अनपेक्षित परिणाम निकालेको छ ।
ब्राजिलको एटलान्टिक जङ्गल ३ करोड ४० लाख हेक्टरमा फैलिएको छ । ब्राजिलको दक्षिणपूर्वी तटीय क्षेत्रमा यस्तो जङ्गल फैलिएको छ । यो अहिले जतिसुकै ठूलो भए पनि वन विनाशले यसको वास्तविक आकारको तीन खण्ड गुमाइसकेको छ ।
बितेका दुई दसकमा त्यहाँ बसोबास गर्ने निकै थोरै जनसङ्ख्या पनि आफूले गर्दै आएको कृषि कर्म छोडेर सहरमा काम खोज्न गए । त्यही बेला केही सङ्गठित स्थानीय समूहले वनविनाश रोक्न ब्राजिलको कानुन कडाइका साथ लागु गर्ने सङ्कल्प गरे ।
त्यसपछि के भयो, त्यो उल्लेखनीय छ । सन् १९९६ देखि २००५ बीचमा झन्डै तीस लाख हेक्टर जमिन भूमि प्राकृतिकरूपमै पुनःस्थापना भयो । कुनै एउटा रुख पनि रोप्नुपरेन ।
संरक्षणवादीहरूको मिहिनेत यसमा अवश्य परेको छ । रियो डि जेनेरियोको इन्टरनेसनल इन्स्टिच्युट अफ सस्टेनेबिलिटी (आईआईएस) का अध्येताहरूले यो पुनःस्थापनाको निष्कर्ष निकाले । उनीहरूले नष्ट भइसकेको एकतिहाइ एटलान्टिक जङ्गलले पुनः जीवन पाएको पाए अर्थात् यो रणनीति लागू गर्दा २ करोड १६ लाख हेक्टर जमिनले पुनःजीवन पाए । यो रणनीतिले काम गर्ने कुरा यसबाट पुष्टि भयो ।
यही अनुभवलाई पछ्याउँदै कन्जरभेसन इन्टरनेसनलले ब्राजिलको अमेजन क्षेत्र आजसम्मकै सबभन्दा ठूलो भूमध्यसागर पुनःस्थापना परियोजना सुरु ग¥यो । स्थानीय र अन्तर्राष्ट्रिय साझेदारहरूसँग काम गरेर त्यो सङ्गठनले अमेजन वर्षा जङ्गलका एउटा हिस्साको संरक्षण र विकास गर्दै छ । बिना कुनै हस्तक्षेप त्यसलाई पुनःजीवन दिइँदै छ । अहिले यसको परिणाम क्रमशः देखिंँदै छ ।
कन्जरभेसन इन्टरनेसनल र आईआईएसले संसारका अरु पनि त्यसरी प्राकृतिकरूपमा वनजङ्गलको पुनःस्थापना गर्ने क्षेत्रको खोजी गरिरहेको छ । यो पर्यावरणीय र सामाजिकरूपमा सम्भव देखिन्छ । संसारमा वनविनाश गरिएका अरबौँ हेक्टर जङ्गलमध्ये एकतिहाइमा यो रणनीति लागू गर्न सकिने देखिएको छ ।
यसको अर्थ वनविनाश गरेर रुख कटान, डढेलो, खेती वा चरन क्षेत्र बनेका जङ्गललाई अब यो विधिमार्फत पुनःजीवन दिन सकिने छ ।
अब हामीले के गर्न जरुरी छ ?
पहिलो, अनुसन्धान समुदायले यो प्रक्रियालाई टेवा पुग्ने गरी लाखौँ लाख वर्षदेखि प्रकृतिले गर्दै आएको विधिलाई नजिकबाट ध्यान दिनुपर्छ ।
दोस्रो, विज्ञान र आदिवासी ज्ञानलाई एक ठाउँमा ल्याउनुपर्छ । यसले सरकारलाई प्राकृतिक पुनःजीवन सम्भव छ र त्यसको लागि नीतिगत पहल आवश्यक छ भनी देखाउन जरुरी छ ।
तेस्रो, वित्तीय र विकास समितिहरूले यो तरिकाबाट हुने पुनःजङ्गलको विकासमा लगानी गर्नुपर्छ ।
चौथो, व्यापारिक समूहले संरक्षणलाई नाफाभन्दा माथि राख्न जरुरी छ ।
पक्कै पनि यो एउटैमात्र पुनःजीवनको विधि होइन । वृक्षरोपणको कामलाई हामीले समान महत्व दिनैपर्छ । पर्यावरण र संस्कृतिलाई सम्मान गर्न जरुरी छ । तर, हामीले अलि माथि बसेर हेर्ने हो भने हामीले देख्छौँ, धर्ती माताले गर्नुपर्ने काम प्राकृतिकरूपमा गरिरहेकै छिन् ।
स्रोतः अल जजिरा
नेपाली अनुवादः सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *