भर्खरै :

सक्वका राजदासजीलाई अनुरोध

सम्यक कुमार, ललितपुर
‘मजदुर’ को शनिबारीय अङ्कमा छापिने ‘सक्वको म राजदास’ पहिले म पढ्दिनथेँ । यसेनीन र मायोकोभ्स्कीबारे राजदासजीको लेख पढेपछि मलाई खुसी लाग्यो । ती दुवै कविबारे नेपालमा भ्रम छरिएको रहेछ । अझ ‘तिनलाई सोभियत सरकारले मारेको थियो’ भन्ने हल्ला पनि पिटिन्छ बजारमा । खासगरी सोभियत समाजवादलाई दुत्कार्ने अभियानमा यो प्रकरणको ‘बौद्धिक’ उपयोग गरिन्छ । गहिराइमा अझ मसिना विषय होला तर राजदासजीको सामान्य लेखले धेरै कुरा प्रस्ट पार्छ ।
‘सक्वको म राजदास’ पहिले नपढेकोमा मलाई जति पछुतो लाग्नुपर्ने हो त्यति लागेन । किनभने अनलाइन मजदुर पोर्टलले सजिलो बनाइदिएको छ । त्यहाँ ‘सक्वको म राजदास’ का पुराना खण्ड उपलब्ध थियो । मैले एकएक गरी सबै पढेँ । ती सबै रसिला र जानकारीमूलक रहेछन् । माघ ४ गतेको अड्ढ पढेपछि एउटा सुझाव राख्न मन लाग्यो ।
अङ्ग्रेजीमा एउटा भनाइ छ, ‘रिपिटिसन किल्स द इन्ट्रेस्ट’ अर्थात् धेरै खाएपछि चिनी पनि तीतो हुन्छ । पहिले मलाई यस शृङ्खलाको सदा दोहोरिने शीर्षकले आकर्षित नगरेको हो कि भन्ने अहिले आएर सोच्दा लाग्छ ।
त्यसैले आगामी अड्ढदेखि यस शृङ्खलाको नाम विषयअनुसार फरकफरक राख्दा कसो होला ? एवंरीतले तस्वीर पनि अनेक राख्दा सुनमा सुगन्ध होला कि ? मेरो विचारमा, यस्तो गरेमा विदेशी भूमिमा एक नेपाली वैज्ञानिकले भोगेका रोचक अनुभव पढ्नबाट पाठक वञ्चित हुनुपर्ने छैन । कम्तीमा टिप्पणीकारको कोटीका पाठकको हकमा यसले धेरै फरक पर्छ । यो कोटीमा केही पाठक अवश्य हुनुपर्छ ¤

Leave a Reply

Your email address will not be published. Required fields are marked *