भक्तपुर, ७ माघ । नेपाल मजदुर किसान पार्टीको ४६ औँ पार्टी स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकारी शिक्षक सङ्घ, नेपाल क्रान्तिकारी महिला सङ्घ र कर्मचारी समाज नेपाल बाल विकास एकाइको संयुक्त आयोजनामा शिक्षक भेला सम्पन्न भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले नेमकिपा किसान आन्दोलनको जगबाट माथि उठेको पार्टी हो भन्नुभयो । नेमकिपा काम गरी खाने जनताको पक्षमा रहेको चर्चा गर्दै उहाँले काम गरी खाने जनताको दैनिक जनजीविकासँग सम्बन्धित मुद्दाहरूलाई लिएर सङ्घर्ष गरेकै कारण नेमकिपाले जनताको विश्वास जितेको बताउनुभयो ।
अधिकांश जनता अशिक्षित भएकाले साक्षरता अभियान, किसानहरूको साँढे धपाउने आन्दोलन, बाली काट्ने आन्दोलन, भर्पाई आन्दोलन, जमिन जोत्नेको र भूमिसुधारको लागि आवाज उठाउनेजस्ता कार्यहरू पार्टीका अग्रजहरूले गर्नुभएको बताउनुभयो ।
कार्यक्रममा शिक्षक सीता प्रजापति, गंगालक्ष्मी वैद्य, रामबहादुर श्रेष्ठ र जयराम कोजूले पनि बोल्नुभयो ।