पत्रपत्रिका ज्ञानको स्रोत हो, प्रचारको साधन हो । यो जनचेतना जगाउने माध्यम पनि हो । यसकारण पत्रिका राजनीतिको सशक्त साधन हो । जस्टिन ब्राउली पत्रिका अनियन्त्रित र अत्याचारी सरकारबाट आफ्नो रक्षा गर्ने जनताका साधन ठान्छन् । यही उद्देश्यले मजदुर दैनिक २०५५ माघ १० (२४ जनवरी १९९९) मा प्रकाशित भयो । यो अहिले २२ औँ वर्षमा प्रवेश गरेको छ । शुभेच्छुक र सहयोगी सबैमा हार्दिक आभारी छ ।
मजदुर दैनिक देशका नियमित पत्रिकाहरूमध्ये एक हो । वर्षैभरि प्रकाशित हुने दैनिक र साप्ताहिक पत्रिका नगण्यमात्रै हुन्छन् । तर, मजदुर दैनिक वर्षैभरि प्रकाशित भइरहेको पत्रिका हो । पत्रिका नियमित प्रकाशनमा लेखक, पाठक, संवाददाता, स्रोता, समालोचक, ग्राहक, हकर्स, विज्ञापनदाता तथा अन्य शुभेच्छुकहरूको योगदान बिर्सन सकिँदैन । पाठकहरूको आलोचना, सुझाव र रचनाहरूको सहयोगको अपेक्षा राख्छ । मजदुर दैनिकले हरेक सकारात्मक आलोचनालाई आत्मसात गर्छ । हो, पत्रपत्रिकामा देश र जनताप्रति घृणा जगाउने खालको समाचार र लेखलाई ठाउँ छैन । उत्तेजक विचार र समाचारको नाउँमा साम्प्रदायिकता, क्षेत्रीयता, झूटा र प्रतिक्रियावादी दृष्टिकोण र प्रवृत्तिलाई प्रोत्साहित गर्दैन । बरू मजदुर वर्गको हक र हितलाई प्राथमिकता दिन्छ र सोसम्बन्धी खबरलाई जनसमक्ष पु¥याउने काममा सहयोग गर्छ ।
एकातिर सरकारले सुखी नेपाली र समृद्ध नेपालको झ्याली पिट्दै छ भने अर्कोतिर बहुमत जनता कष्टकर जीवन बिताउन बाध्य छन् । देशको सम्पत्ति, सेवा र सहुलियतको ठूलो हिस्सा अल्पसङ्ख्यक शोषक वर्गको हातमा केन्द्रित हुँदै छ अर्थात् देशमा आर्थिक असमानताको दूरी बढ्दै छ । गरिब र बेरोजगारहरूको सङ्ख्या बढ्दै छ । पुँजीवादी व्यवस्थाको फल पुँजीपति वर्गले उठाइरहेको छ । यो पुँजीपति वर्गको चरित्र हो । यस्तो अवस्थामा किसान, मजदुर, उत्पीडित वर्गको स्वर उजागर गर्न र उनीहरूलाई राजनीतिक, सैद्धान्तिक र वैचारिक खुराक दिन मजदुर दैनिक प्रकाशित भयो । यो निरन्तर प्रकाशन भइरहेको छ ।
मजदुर दैनिकले सन्देशवाहक, सञ्चारक, सामाजिक पहरेदार, सूचनादाता, उत्प्रेरकको भूमिका निर्वाह गरिरहेको छ । जसरी शरीरमा रगत प्रवाहको खाँचो हुन्छ त्यसरी नै कुनै पार्टीको सिद्धान्त र विचार प्रचार गर्न तथा जनताको व्यथा, पीडा जनतामाझ पु¥याएर सरकारको ध्यानाकर्षण गर्न पत्रिका त्यतिकै जरूरी छ । जहाँ रवि पुग्दैनन् त्यहाँ कवि पुग्छन् भनेझैँ जहाँ कार्यकर्ता पुग्दैन, त्यहाँ पत्रिका पुग्छन् र सूचना या सिद्धान्त, विचार र खबर प्रवाह गर्छन् । यसैले पत्रिकाले जनताको पीर मर्का सम्बन्धित निकायमा पु¥याउने, सिद्धान्त र विचार जनताको घरआँगन पु¥याउने र कमी कमजोरी औँल्याएर खबरदारी गर्ने काम गर्छ, गरिरहेको छ । पत्रिकामा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्वाधीनता र मुक्ति आन्दोलन र देशभक्तिपूर्ण आन्दोलनको लेख र समाचार छापिने हुँदा पाठकले विश्वको राजनीति अध्ययन गर्ने र बुझ्ने मौका पाउँछन् ।
यही उद्देश्यले स्वदेश र प्रवासबाट पनि विभिन्न पत्र–पत्रिका प्रकाशन भए । ‘लालझन्डा’, ‘आह्वान’, ‘ध्रुवतारा’, ‘मजदुर–किसान’, ‘नेपाल तराई’, ‘समाचार संसद्’, ‘साकार’, ‘आधार’, ‘श्रमिक’, ‘प्रतिध्वनि’ आदि यसका दृष्टान्त हुन् । यसै सिलसिलामा ‘मजदुर’ दैनिक पनि प्रकाशित भयो । ‘मजदुर’ दैनिक २२ औँ वर्षमा प्रवेश गरेको अवसरमा सहयोगी तथा शुभचिन्तक सबैको स्मरण गर्नु समीचीन हुनेछ । मजदुर दैनिक परिवार यहाँहरूको निरन्तर सहयोगको अपेक्षा राख्दछौँ ।