भर्खरै :

“नेता कार्यकर्ताले पार्टीको नियम पालना गर्नुपर्छ”

(नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग ‘श्रमिक’ साप्ताहिकका संवाददाताले लिनुभएको विशेष अन्तर्वार्ता प्रस्तुत छ – सं.)
नेपाली समाजमा सामन्ती संस्कार बाँकी छ भन्ने गर्नुहुन्छ, त्यसलाई कुन अर्थमा लिनुपर्ला ?
– अहिले पनि राजनैतिक क्षेत्र (अर्थात् राजनैतिक दलहरू) मन्त्रीमण्डलदेखि स्थानीय प्रशासन तथा न्यायिक क्षेत्रसम्ममा जात–जाति र भाषा–भाषी एवम् क्षेत्रीय प्रभावले बलियो जग लिएकै छ । निश्चित जाति, भाषा, अञ्चल वा जिल्लाको एकहत्ती बाँकी नै छ ।
यो भावना र व्यवहार जिल्ला, जिल्लामा मात्रै छ वा राजधानीमा पनि ?
– देशैभरि भएपछि उपत्यका, जिल्ला र राजधानीमा हुने नै भयो !
राजधानीलाई पश्चिम वा दाङमा सार्ने विचार कसरी आयो, त्यसको कारण के होला ?
– उपत्यकाका जनतामा राजधानीमा बस्ने जात–जाति, भाषा–भाषी र २–३ सय वर्षदेखि बसेका बासिन्दाले देशमा सारा जनतालाई शोषण र दमन गरे भन्ने भावना खचाखच भरिएको थियो । राजधानीका आदिवासी जनता एक प्रकारको हेय र शत्रुताको भावनाबाट पीडित थिए ।
तर, राजधानीका आदिवासी जनता आफूलाई शासकवर्ग र शासनबाट पक्षपात गरिएको वा हेला गरिएको अनुभव गर्थे । प्रशासनिक क्षेत्रमा मात्रै होइन नगरपालिकामा समेत स्थानीय कला, संस्कृति र जनताको भावनालाई समेत नबुभ्mने कार्यालय प्रमुखहरूद्वारा विदेशी विजयी शासकहरूले गर्ने व्यवहारकै अनुभव गर्थे ।
शाह र राणाकालमा स्थानीय जनतामा करिया प्रथा लागु गरिएको थियो । पुराना निर्माण भएका सांस्कृतिक धरोहर वाग्मती र विष्णुमतीका सबै घाटहरू पुरिए, ती तिर्थस्थल सबै ‘ढलमती’ बनाइएको हुनाले ज्येष्ठ नागरिकहरूको भावनामा ठूलो चोट पुगेको थियो । त्यो स्थितिलाई एक प्रकारको पृथ्वीनारायण शाहको आक्रमण र विजयकै सिलसिला सम्झिइन्थ्यो ।
तर, सिंहदरबार र अन्य कार्यालय स्थानीय जनता वा नेवारहरूले नै भरिएकोे मानिन्थ्यो त !
– बाहिरबाट आएका शासकहरूले सेवा लिन र शासन गर्न त स्थानीयवासीलाई नै प्रयोग गर्नु स्वाभाविक हो । भारतमा बेलायतीहरूले शासन गर्न भारतीयहरूलाई नै अङ्ग्रेजी शिक्षा दिएर कर्मचारी बनाएजस्तै हो । फ्रान्सेली वा अन्य उपनिवेशवादीहरूले पनि त्यसै गर्थे र गर्दै छन् ।
के प्रजातन्त्र र गणतन्त्र स्थापनापछि पनि जनता त्यस्तै अनुभव गर्ने गर्छन् ?
– बोल्सेविक क्रान्ति वा सोभियत सङ्घको स्थापनाको सय वर्षपछि पनि जातीय र भाषिक भेदभाव छ । त्यसैले त सोभियत सङ्घ पुनः १५–१६ टुक्रामा विभाजित भयो । अमेरिकामा यस्तो भेदभाव अझ विकराल छ । जुत्ता लाउनेलाई मात्र जुत्ताले कहाँ बिझाएको छ भनेर थाहा हुन्छ भन्ने उखान यहाँ पनि लागू हुन्छ । भारतको स्वतन्त्रताको ७० वर्ष अर्थात् दुई पुस्तापछि पनि पुरानो भेदभाव र संस्कार यथावत छ ।
सिंहदरबारमा बसेका सुशिक्षित माथिल्लावर्गमा पनि यस्तै व्यवहार छ त ?
– त्यसो नहुँदो हो त ‘स्प्वाइल सिस्टम’ वा पुराना ठूल–ठूला माथिल्ला कर्मचारीहरू फेर्नुपर्ने आवाज उठ्ने नै थिएन – अन्य प्रजातान्त्रिक भनिएका देशहरूमा पनि !
राजनैतिक दलको सदस्य भएर काम गर्दा कार्यकर्ताले मनमा लागेको कुरा गर्न पाउँदैनन् भन्छन्, के त्यो साँचो हो ?
– कुनै कक्षामा पढ्दा वा पढाउँदा जसरी शिक्षक, प्राध्यापक र विद्यार्थीले कक्षाका नियम पालन गर्छन् त्यस्तै नेता – कार्यकर्ताले पार्टीको नियम पालना गर्नुपर्छ । कलेज, स्कूल र विश्वविद्यालयको आ–आफ्नो नियम पालन गर्नु त ती विद्यार्थी र संस्थाका सदस्यहरूको कर्तव्य नै हो ।
नेपाल मजदुर किसान पार्टीमा कार्यकर्ताले पढ्न र लेख्नमा समेत स्वतन्त्रता पाउँदैनन् भन्छन्, के त्यो सत्य हो ?
– देश र जनता, सिद्धान्त र नीतिप्रति समर्पित राजनैतिक दलमात्र होइन एक प्राज्ञिक संस्थामा समेत नियम र अनुशासन लागू हुन्छ । नेमकिपामा पनि सामूहिक जीवन हुन्छ, कुनै पार्टी सदस्यले मात्र होइन नेताले पनि नीति, नियम र अनुशासनमा बस्नुपर्ने हुन्छ र आ–आफ्नो कर्तव्यलाई पालन गर्नुपर्ने हुन्छ ।
सोभियत सङ्घको एकेडेमीका एक सदस्य पास्तरनाक भन्ने कवि र साहित्यकारले डा. जिवागो भन्ने एक उपन्यास लेखे । एकेडेमीले त्यो पुस्तक नछाप्ने निर्णय ग¥यो र व्यक्तिगत पनि नछपाउन भनिएको थियो । तर, लेखकले गैरकानुनीरूपले वा गुप्तरूपले त्यस पुस्तकलाई इटाली लगेर छापेपछि त्यस पुस्तकलाई नोबेल पुरस्कार दिइयो ।
त्यो पुरस्कार लिने हो भने लेखकले सोभियत नागरिकता त्याग्नुपर्ने घोषणा सोभियत सरकारले ग¥यो । यो घटना विसं २०१५  तिरको हो र त्यसबेला नेपालमा पहिलो महानिर्वाचन हुँदै थियो ।
त्यही घटनाबारे नेपालका लेखक, कवि र कलाकार दुई भागमा विभाजित भए । पास्तरनाक एकेडेमीको सदस्यको नाताले आफ्नो संस्थाको ऐन कानुन र नियमलाई मान्नुपर्ने थियो, त्यो पुस्तकलाई गुप्तरूपले विदेशमा छाप्न त्यहाँको तत्कालीन कानुनले दिँदैनथ्यो । एकेडेमीको नियम र निर्णयको विरोध वा देशकै कानुनको विरोध भएको हुँदा पास्तरनाकको कार्य गलत, गैरकानुनी र समाजवादविरोधी थियो ।
यसकारण राजनैतिक दलमा पनि सदस्यहरूले व्यक्तिगत इच्छाको नाममा गर्ने काम कारबाही पार्टीको अहितमा हुनुहुन्न, बरु पार्टीको कामलाई प्राथमिकता दिनु आवश्यक छ । व्यक्तिको नराम्रो कामले पार्टीमा पर्ने प्रभावबारे ध्यान दिनुपर्ने हुन्छ ।
साथै, आ–आफ्नो पदअनुसारको दायित्वसँग पनि पार्टी सदस्य सम्बन्धित हुन्छन् ।
के यहाँको जीवनमा पनि आफ्नो इच्छालाई छोड्नुपर्ने घटना घटेका छन् ?
– अवश्य छन् । मलाई विद्यार्थीकालदेखि नै भारतमा पहिलो पटक राज्य विधानसभामा कम्युनिस्ट पार्टीको बहुमत निर्वाचित भएको र पहिलो कम्युनिस्ट सरकारको कामबारे केराला गएर हेर्ने इच्छा थियो । त्यो मेरो इच्छा पछिसम्म रह्यो । १० वर्ष भारत प्रवासमा समेत पार्टीको गतिविधिमा व्यस्त रहँदा त्यहाँ भ्रमण गर्ने अवसर जुटेन । केरालाको बारेमा हाम्रो अध्ययन चालू थियो र जाने अवसर नमिल्नु स्वाभाविक छ ।
त्यस्तै धेरै पटक पञ्चायतकालमा अमेरिका र रुसको भ्रमण गर्ने अवसर आएको थियो तर आफ्नो काम र कर्तव्यको कारण म जान सकिनँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *