भर्खरै :

ओली र दाहाल जिम्मेवारहीन नेता

– हर्षबहादुर केसी
नेकपाका अध्यक्ष केपी ओली पाँच वर्ष प्रधानमन्त्री हुने पक्का भयो । तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल पाँच वर्ष पार्टी अध्यक्ष बन्न पाउँछ कि पाउँदैन कुनै निश्चित छैन । सुरु सुरुमा पालैपालो प्रम हुने सहमति भएको भनिए तापनि पछि त्यस्तो कचिङ्गल नहोस् भनेर प्रम ओलीले दाहाललाई यो एक कार्यकाल प्रम बन्ने दाबी नगरून् भनी हस्ताक्षर गराए । प्रम ओली ढुक्क भए । तर, सभामुख पद पूर्वमाओवादी पक्षधरले नपाउने भए प्रम पद छोड्न तर्साएपछि नेता ओली झुके या सभामुख दिन बाध्य भए । सभामुख पूर्वएमाले या पूर्वमाओवादीले पाउने भन्नेबारे दुई अध्यक्षबीच अन्तद्र्वन्द्व बढ्यो । त्यही कारण महिना दिनभन्दा बढी प्रतिनिधिसभा बैठक स¥यो । यसले दुइटा कुरा स्पष्ट गर्छ । एक, अध्यक्षद्वय ओली र दाहाल पदमुखी छन् । दुई, एमाले माओवादी मिलेर नेकपा बने पनि एमाले र माओवादी अझै पूर्णतः मिलेका छैनन् र आ–आफ्नो भागबन्डा खोज्ने प्रवृत्ति छोडेका छैनन् ।
दल मिलेको हिसाबले माओवादी पक्षधरको नेतृत्वले पदको भाग त पायो । तर एमालेले आफ्नो दल ठूलो भएको अभिमानी छोडेको छैन । दाहाललाई नगन्ने ओलीको प्रवृत्तिले अध्यक्ष दाहालको चेहरा जहिल्यै रिसाहाको जस्तो देखिएको अनुभूति जनताले नगरेका होइनन् । धेरै भएपछि अन्न पनि विष हुन्छ भनेजस्तै ओलीको दबाब दाहालले स्वीकार्न चाहेनन् । फलतः दाहालले मुख फोडेर भने, “सभामुख नछोडे प्रम छोड ।” कति राजनीतिज्ञहरू अड्कल गर्छन्, नेता ओली आफ्नै दलका अरु नेताको कुरा सुन्दैनन्, एकसुरमा काम गर्छन् । उनमा ठूला र शक्तिशाली दलको दम्भ छ । त्यो दम्भमा उनी मख्ख पर्छन् र अरुलाई कुनै कार्य गर्न दिँदैनन् ।
पछिल्ला दिनमा केपी ओलीमाथि पूर्व माओवादी नेता, मन्त्री र सांसदहरूको दबाब बढ्यो । ओलीको दबाबलाई नेता दाहालले सजिलै स्वीकारेनन् । अन्ततः माओवादी पक्षधर सांसदले सभामुख पाए । यसमा ओली हारे, दाहाल जिते । सिद्धान्त र विचारको आधारमा साँच्चै नेकपा मिलेको भए एमाले पक्षधर र माओवादी पक्षधरको चर्चा हुँदैनथ्यो, हारजितको कुरा हुँदैनथ्यो । सभामुख बन्न र बनाउन प्रस्ताव आउनु स्वाभाविक हो । यसबारे बहस र अन्तरक्रिया हुन्छ । तर महिना दिनसम्मको छलफल आवश्यक हुँदैन, आवश्यक छैन । ओली र दाहालकै कारण प्रतिनिधिसभाको बैठक पटक–पटक स्थगित भयो । यो प्रतिनिधिसभाका सांसदहरूप्रतिको मात्र खेलबाड होइन देश र जनतामाथि कै खेलबाड हो, लापरबाही हो । अध्यक्ष ओली र दाहालको अदूरदर्शिताको कारण समस्या निम्तिएको हो । नेता ओली र दाहाल जिम्मेवारहीन बने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *