भर्खरै :

कञ्चनपुरमा नेमकिपा स्थापना दिवस

कञ्चनपुर, १२ माघ । नेमकिपाको ४६ औँ स्थापना दिवसको अवसरमा नेमकिपा कञ्चनपुर जिल्ला सम्पर्क समितिको आयोजनामा आइतबार जनसभा भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले नेमकिपा कामदार जनताको राज्य स्थापना गर्न सङ्घर्षरत छ भन्नुभयो ।
योग्यताअनुसारको काम, कामअनुसारको ज्याला, शिक्षा–स्वास्थ्य निःशुल्क, आदर निकेतनको व्यवस्था, उत्पादनका स्रोत र साधन सामाजिकीकरण हुने समाजवादी व्यवस्था स्थापनाको लागि पार्टीले जनतालाई सचेत र सङ्गठित गर्ने काम गरिरहेको छ भन्दै नेमकिपा ‘जनताको प्रजातन्त्र’ हुँदै समाजवाद र साम्यवादी व्यवस्था गर्न निरन्तर लागिपरेको बताउनुभयो ।
मिलेनियम च्याजेन्ज कर्पोरेसन (एमसीसी) देश हितविपरीत रहेको धारणा राख्दै उहाँले एमसीसीमार्फत संरा अमेरिकी साम्राज्यवाद चीनलाई घेर्ने नीतिका साथ अघि बढिरहेको बताउनुभयो ।
नेमकिपा कैलालीका अध्यक्ष रमेशकुमार रावलले माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारा नेमकिपाको मार्गनिर्देशक सिद्धान्त रहेको बताउनुभयो ।
नेपाल विकास नहुनुमा भारतीय एकाधिकार पुँजी र विस्तारवादी नीति रहेको पार्टीको ठम्याइ भएकोले पार्टीले स्थापनाकालदेखि नै भारतीय एकाधिकार पुँजी र विस्तारवादी नीतिविरूद्ध सङ्घर्ष गर्दै आएको छ भन्नुभयो ।
दलबहादुर बोहराको सभापतित्वमा भएको उक्त कार्यक्रममा गुप्तबहादुर शाही, मिनु गिरी, जङ्गबहादुर तारामीलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *