नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
भक्तपुर, १२ माघ । भक्तपुर नगरपालिकाको पुरानो क्षेत्रभित्र ट्रिपरलगायत भारी सवारी साधन निषेध गर्ने र मिनि ट्रिपरलगायत मझौला सवारी साधन बेलुका ६ः०० बजेदेखि बिहान ८ः०० बजेसम्म सञ्चालन हुने भएको छ । नगरको सवारी साधन व्यवस्थापनसम्बन्धी आइतबार भक्तपुर नगरपालिकामा सरोकारवाला विभिन्न पक्षबीच भएको भेलाले सो निर्णय गरेको हो ।
भेलाले भक्तपुर नगरपालिकाको पुरानो सम्पदा बस्तीभित्र भारी सवारी साधन सञ्चालन निरुत्साहित गर्न सरोकारवालाहरूसँग छलफल गर्दै जाने, च्याम्हासिंह ध्वाकादेखि भार्वाचो हुँदै खौमासम्मको मूल सडक र सम्पदा क्षेत्र वरिपरि सवारी साधनहरूको पार्किङ्ग क्रमशः निषेध गर्दै जाने, भक्तपुर नगरपालिका क्षेत्रभित्र उपयुक्त ठाउँहरूको पहिचान गरी पार्किङ्ग व्यवस्था गर्ने र त्यसका लागि वडा कार्यालयले सरोकारवालासँग छलफल गरी व्यवस्था गर्ने साथै नगरका विभिन्न स्थानहरूमा आवश्यकताअनुसार ट्राफिक प्रहरीसँग समन्वय गरी बस स्टपहरू निर्माण गर्नेलगायतका निर्णयहरू गरेको थियो ।
भक्तपुर नगर क्षेत्रमा शान्ति सुरक्षा, भारी गाडी निषेध तथा ट्राफिक व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगर शान्ति सुरक्षाको हिसाबले क्रमशः जोखिमयुक्त बन्दै गएको बताउनुभयो ।
उहाँले विभिन्न आपराधिक गतिविधि सँगसँगै लागूऔषधको दुव्र्यसनी बढ्दै जानु चिन्ताजनक भएको बताउँदै समाजमा रहेका समुदायका नागरिकहरू सचेत भई स्थानीय प्रशासन तथा नगरपालिकाको समन्वय, सहकार्य र सहयोगबाट भक्तपुर नगरलाई सुरक्षित नगर बनाउन सहयोग गर्नुपर्ने बताउनुभयो ।
प्रमुख प्रजापतिले नगरभित्र भारी सवारी साधन निषेध गर्ने, कमजोर सडक निर्माण गर्ने ठेकेदारलाई कारबाही गर्ने, सडक किनारामा सामान बेचबिखन गर्ने व्यवसायीलाई कारबाही गर्ने, सम्पदा क्षेत्रमा सवारी साधन पार्किङ्गमा रोक लगाउने विनियमहरू बनाई कार्यान्वयन गर्ने भन्दै नागरिकहरूको चेतनास्तर बढाउने कार्यलाई सरोकारवाला निकायहरूको पहिलो प्राथमिकतामा राखिने बताउनुभयो ।
भक्तपुर नगरको सुन्दरता कायम गर्न अव्यवस्थित तार व्यवस्थापन, पार्किङ स्थलहरू निर्माण तथा नगरभित्र दुव्र्यसनीलगायत कुलतमा फसेका १६ वर्षमुनिका बालबालिकाहरूको लागि सुधारगृह स्थापनाका लागि समन्वय र सहकार्य गर्न नगरपालिका तयार रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सामाजिक अपराधका घटनाहरूलाई कम गर्दै जनतालाई सुरक्षाको प्रत्याभूति गराई जिल्लाभित्र शान्ति सुरक्षा कायम गर्न स्थानीय तहहरूले संस्थागतरूपमा छाता निकायको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै स्थानीय सरकारसँगको समन्वय र सहकार्यमा सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन व्यवस्थित र सहज हुने बताउनुभयो ।
कार्यक्रममा प्रहरी उपरिक्षक सविन प्रधानले सडक सुरक्षा सम्बन्धमा प्रस्तुतीकरण गर्दै समुदाय–प्रहरी सहकार्यबाट नगरभित्र हुने अपराध न्यूनीकरण र शान्ति सुरक्षा कायम गर्न सहज हुने बताउनुभयो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामकुमार लम्सालले नागरिकताका वर्तमान अवस्थाका सम्बन्धमा स्थानीय तहका पदाधिकारीहरूसँग प्रस्तुति गर्दै छलफल एवं अन्तरक्रिया गर्नुभएको थियो । भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।
Leave a Reply