भर्खरै :

छालिङमा पार्टी स्थापना दिवस

भक्तपुर, ११ माघ । “नेपाल मजदुर किसान पार्टी मजदुर, किसान, बुद्धिजीवी, स–साना उद्योगी, व्यापारी तथा देशभक्त, इमानदार पुँजीपतिवर्गको सरकार हुने जनताको प्रजातन्त्रदेखि समाजवादी व्यवस्था हुँदै वर्गविहीन, शोषणरहित र राज्यविहीन तथा पूर्णरूपले समाज बुद्धिजीवीकरण हुने साम्यवादी व्यवस्थामा पुग्ने लक्ष्यका साथ सङ्घर्षरत रहेको छ ।”
उक्त विचार नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले पार्टीको ४६ औँ स्थापना दिवसको अवसरमा नेमकिपा छालिङले आयोजना गरेको कार्यकर्ता भेलामा व्यक्त गर्नुभएको हो ।
कृषि अनुदानको एक अर्ब रूपैयाँ सेटिङ मिलाएर १० निजी कम्पनीको पोल्टामा जानु गलत रहेको चर्चा गर्दै उहाँले स्थानीय तहमा भ्रष्टाचार बढ्दै जानुमा नेकपाको सरकार जिम्मेवार रहेको उल्लेख गर्नुभयो । उहाँले पैसा खर्च गरेर चुनाव जितेका दलहरूको कारण अनियमितता बढ्नुका साथै जनताको हक अधिकार कुण्ठित भएको बताउँंदै एकदिन यस्ता दलहरू पनि पञ्चायतजस्तै समाप्त हुने उल्लेख गर्नुभयो ।
उहाँले भारतीय विस्तारवादले लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतका नेपाली भूमि हडप्दै, नेपालमाथि हस्तक्षेप गरिरहेको उल्लेख गर्दै भारतीय विस्तारवाद र तीनका दलालहरूको विरूद्ध पनि नेपाल मजदुर किसान पार्टीले सङ्घर्ष गर्दै आएको बताउनुभयो ।
सांसद सुवालले कार्यकर्ताहरू व्यक्तिगत स्वार्थलाई लिएर सामूहिक कामलाई बिगार्नेतर्फ नलागी जनताको सांस्कृतिक स्तर उठाउनेतर्फ लाग्न जरूरी छ भन्नुभयो ।
नेमकिपा भजिसका अध्यक्ष न्हुछेभक्त फोंजूले एमसीसीको माध्यमबाट अमेरिकी सेना इन्डोप्यासिफिक रणनीतिअनुसार नेपाल पस्ने बाटो खोज्दै गरेको चर्चा गर्दै कार्यकर्ताहरूले अमेरिकी साम्राज्यवादको कर्तुत उदाङ्ग्याउन क्रियाशील हुनुपर्ने बताउनुभयो ।
उहाँले देश हितविपरीत रहेको एमसीसी पारित भए देशको सार्वभौमिकतामाथि चुनौती थपिने निश्चित भएकोले त्यसको विरूद्धमा जनतालाई जगाउनु जरूरी रहेको बताउनुभयो ।
उक्त कार्यक्रममा नेक्रायुसङ्घ भजिसका मिनबहादुर बाटा, नेमकिपा छालिङका रोशन खत्री र नेक्राकिसङ्घ चाँगुका गणेशराम सुवालले पनि बोल्नुभएको थियो । भेलाले रत्नबहादुर ह्यौँमिखाको संयोजकत्वमा २५ सदस्यीय नेमकिपा चानपा ५, छालिङ सम्मेलन तयारी समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *