भर्खरै :

कोरोना भाइरसका कारण चीनमा ५६ को मृत्यु, दुई हजार प्रभावित

पेइचिङ, १२ माघ (सिन्ह्वा) । चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरूले कम्तीमा ५६ जनाको मृत्यु भएको र झन्डै दुई हजार प्रभावित भएको जानकारी दिएका छन् ।
राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बिरामी हुनेको सङ्ख्या १९ सय ७५ रहेको छ । बिरामी भएका मध्ये ३२४ जनाको अवस्था गम्भीर रहेको आयोगले जनाएको छ । आयोगका अधिकारीहरूले भनेका छन्, “अहिलेसम्म कुल २६ सय ८२ जनामा कोरोना भइरसको सङ्क्रमण भएको आशङ्का गरिएको छ ।”
यसबाट निको भएर करिब एक हजार व्यक्ति अस्पतालबाट घर फर्किएका छन् तर उनीहरूलाई पनि विशेष निगरानीमा राखिएको छ । उक्त सङ्क्रमणको उत्पत्ति भएको उहान क्षेत्रमा सरकारले बढी निगरानी राखिरहेको अधिकारीहरूले बताएका छन् ।
सङ्क्रमणको प्रकोप चीनको कम्तीमा २५ प्रान्तमा फैलिएको छ भने कम्तीमा १८ सहरमा निकै डरलाग्दो तरिकाले फैलिएकोले ती सहरहरूमा यातायात साधन चलाउन प्रतिबन्ध लगाइएको छ । ती क्षेत्रमा विभिन्न सतर्कता अपनाइएको चीन सरकारले जनाएको छ । सरकारले देशभरिको उडान, रेल र बससेवामा पनि उच्च सतर्कताका लागि आह्वान गरेको छ । मानिसको बढी आवतजावत हुने विमानस्थल, बसपार्क, रेल स्टेसनलगायतमा स्वास्थ्य जाँचको प्रबन्ध मिलाइएको छ भने जङ्गली जनावर र पशु ओसारपसार तथा उपभोगमा कडाइ गर्न निर्देशन दिइएको छ ।
सङ्क्रमणले अमेरिका, जापान, दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्यान्डमा छोइसकेको बताइन्छ । कोरोना भाइरस युरोपमा पनि फैलिन थालेको छ । फ्रान्समा तीन जनामा कोरोना भाइरस देखिएको पुष्टि भएको छ ।
यस सङ्क्रमणबाट मृत्युको घटना चीनमा मात्रै भएको छ भने त्रास सङ्क्रमित हुनेहरू अन्य देशमा पनि भएकाले विश्वभरि नै त्रास फैलिएको छ । चिनियाँ अधिकारीले कोरोना भाइरस मानिसबाट मानिसमा सरेको पुष्टि गरिसकेका छन् । यो भाइरस सङ्क्रमण भएपछि खासगरी श्वासप्रश्वाससम्बन्धी समस्या देखिने चिकित्सकहरूको भनाइ छ । उनीहरूका अनुसार ज्वरो आउने, खोकी लाग्ने र सास फेर्न गा¥हो हुने यस सङ्क्रमणपछिका लक्षण हुन् । यस भाइरसको सङ्क्रमणपछि शरीरमा अक्सिजनको मात्रा कम हुँदै जाने पनि अर्काे एक समस्या हो ।
यसैबीच, संयुक्त राज्य अमेरिकाले मध्यचीनमा घातक भाइरसको केन्द्रमा फसेका अमेरिकी कर्मचारी र नागरिकलाई उद्धार गर्न विशेष विमान सेवा सुरु गर्न लागेको जनाएको छ ।
अमेरिकी विदेश मन्त्रालयले उहानस्थित आफ्ना कन्सुलर कार्यालयमा कार्यरत कर्मचारी र अरु अमेरिकीलाई उद्धार गर्न चीनको उहानतर्फ अमेरिकी बिमान मङ्गलबार प्रस्थान गर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *