भर्खरै :

देशको सार्वभौमिकताविरुद्ध एमसीसी

भक्तपुर, १२ माघ । नेपाल मजदुर किसान पार्टी सूर्यविनायक नगरपालिका ५ नं वडा एकाइ समितिको आयोजनामा पार्टीको ४६ औँ स्थापना दिवसको अवसरमा स्थानीयहरूको भेला भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले अमेरिकी एमसीसी देख्नमा र सुन्नमा दातृ निकायको सहयोगजस्तै भए पनि त्यसले देशको सार्वभौमिकता, स्वतन्त्रता र संवैधानिक स्वतन्त्रतालाई कमजोर बनाउने बताउनुभयो ।
उहाँले नेपालमा अमेरिकी साम्राज्यवादी स्वार्थ पूरा नगराउन सबै नेपाली एकजुट हुनुपर्ने बताउनुभयो । “५५ अर्ब विदेशी सहयोग पाउने लोभमा देशलाई नै विदेशीको हातमा सुम्पिनु कदापि हुँदैन”, उहाँले भन्नुभयो ।
नेमकिपा सूनपाका अध्यक्ष सूर्यभक्त त्वातीले नेपाल मजदुर किसान पार्टी स्थापना कालदेखि नै देश र जनताको पक्षमा सङ्घर्ष गर्दै जनताको प्रजातन्त्र हुँदै वैज्ञानिक समाजवाद र साम्यवाद स्थापना गर्ने लक्ष्य लिई अगाडि बढिरहेको पार्टी हो भन्नुभयो ।
नेमकिपा सूनपा ५ नं वडा एकाइ समितिका उपाध्यक्ष श्याम बिसुङ्केको सभापतित्वमा भएको कार्यक्रममा बिजेश खाइजु र राजेन्द्र बखुन्छेले पनि बोल्नुभएको थियो ।
पार्टी स्थापना दिवसकै अवसरमा नेपाल क्रान्तिकारी युवा सङ्घ सूनपा ५ नं. वडा एकाइ समतिको आयोजनामा कटुञ्जेमा रक्तदान कार्यक्रम भयो । नेपाल क्रान्तिकारी युवा सङ्घ कटुञ्जेको आयोजनामा भएको कार्यक्रममा श्याम बिसुङ्के, जीवन बखुन्छे, राजेन्द्र बखुन्छेले पनि बोल्नुभएको थियो । कार्यक्रममा ३६ जनाले रक्तदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *